वेबटिभी खबर
काठमाडौं । हाँस्यकलाकार तथा अभिनेता हरिवंश आचार्यले एक सयभन्दा बढी चलचित्रमा अभिनय गरिसकेका छन् । चलचित्रसँगै नाटक र महोत्सवमा उनले कैयन क्यारेक्टरको भूमिका निर्वाहसमेत गरिसकेका छन् । तीमध्ये उनलाई सम्झाउने चलचित्र ‘बलिदान’को भूमिकासमेत हो ।
हाँस्यकलाकारको रूपमा स्थापित भएता पनि उनले गम्भीर भूमिका निर्वाह गरेका थिए । यिनै अभिनेता आचार्य अहिले ‘महापुरूष’ मा उस्तै भूमिका पाएको बताउँछन् । उनले भने, ‘बलिदान पश्चात गम्भीर रहेर आफ्नो अभिनय देखाउन पाएको छु । मलाई प्राय यस्ता भूमिका अफर हुदैनन् । म झैँ दर्शकलाई पनि यो उत्कृष्ट लाग्ने विश्वास छ ।’
चलचित्रमा उनले एकल अभिभावकको भूमिका निर्वाह गरेका छन् । चलचित्रले हँसाउदा हँसाउदै रूवाउने र रुवाउँदा रूवाउँदै हँसाउने उनी बताउछन् । उनले भने, ‘म काठमाडौं बाहिरका ७ शहर समेत घुमेर फर्किएको छु । दर्शकले कन्टेन भएको मनोरन्जनात्मक चलचित्र हेर्न चाहेका छन् । उहाँहरूको लागि महापुरूष पर्फेक्ट चलचित्र हुनेछ ।’
चलचित्रको हेर्दा आफ्नै जीवनसँग मेल खाए जस्तो देखिएता पनि त्यस्तो नभएको उनले बताए ।
उनले भने, ‘मैले पनि यो अवस्था पार गरेको छु । हेर्दा मेरै कथा जस्तो लाग्ला तर होइन । किनकी मलाई छोराछोरी सबैले साथ दिएका थिए । चलचित्रमा सन्तानले बुवाआमालाई बुझ्नु पर्छ भन्ने देखाउन खोजेका छौँ ।’
आफूले दोस्रो विवाह गरेकोले विस्तारै अभिनयमा फर्किन मदत पुगेको उनले बताए । उनले भने, ‘श्रीमतीको साथले नै काममा फर्किन सकेको हु । गर्नै पर्ने थियो । समयमै गरे । नगरेको भए पछुताउने रहेछु ।’
एक्लोपनबाट ग्रसित अभिभावक सामाजिक घेराबन्दीका कारण आफ्नो इच्छा दबाएर बस्नु आफैँमा पिडा हुने निर्देशक भट्टाराई बताउँछन् । उनले भने, ‘हामीले समाजको गलत मान्यतालाई तोड्ने प्रयास गरेका छौँ । विषय सरल लागेता पनि गम्भीर छ । तर हामीले पूर्ण मनोरन्जनात्मक शैलीमा कथा भनेका छौँ ।’
उनले परिवारसँगै रहे पनि सन्तानले समय नदिँदा बुवाआमाले कसरी एक्लोपन महशुस गर्छन् भन्ने कथा चलचित्रको माध्यमबाट देखाउन खोजिएको बताए । अभिनेता आचार्यले चलचित्रले उठान गर्न खोजेको विषय र त्यसलाई बुनिएको पटकथाले आफू अभिनय गर्न तयार रहेको बताए ।
उनले निर्देशक भट्टराईलाई सरल प्रस्तुतिमा कथा भन्न सक्ने निर्देशकको रूपमा तारिफ गर्ने गरेका छन् । आचार्यले भने, ‘प्रदीप भाइले विषय सुनाउदा नै यो भन्नु पर्ने कथा हो भन्ने लाग्यो । उनले गम्भीर विषयलाई सबैले बुझ्ने गरी सरल प्रस्तुति दिएका छन् । चलचित्रले गाउँ, समाज, छिमेककै कथा भन्छ ।’
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij