Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

शैक्षिक गुणस्तर वृद्धिका लागि प्रअ र विव्यस अध्यक्ष एकजुट, क्षमतावान् विद्यार्थीलाई वैकल्पिक शिक्षक 

शैक्षिक गुणस्तर वृद्धिका लागि प्रअ र विव्यस अध्यक्ष एकजुट, क्षमतावान् विद्यार्थीलाई वैकल्पिक शिक्षक 

  • 430
    SHARES
  • शैक्षिक गुणस्तर वृद्धिका लागि प्रअ र विव्यस अध्यक्ष एकजुट, क्षमतावान् विद्यार्थीलाई वैकल्पिक शिक्षक 

    खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका सामुदायिक विद्यालयका प्रअ र व्यवस्थापन समितिका अध्यक्षले शैक्षिक गुणस्तर वृद्धिका लागि लिखित प्रतिबद्धता जनाएका छन् ।

    images

    खस्किँदो शैक्षिक गुणस्तर अभिवृद्धिका लागि सामुदायिक विद्यालयमा कार्यरत प्रअले १७ बुँदे र व्यवस्थापन समितिका अध्यक्षले १५ बुँदे प्रतिबद्धता जनाएका हुन् ।

    नगरपालिकाले सामुदायिक विद्यालयमा कार्यरत प्रअ र व्यवस्थापन समितिका अध्यक्षका लागि असोज २९ गतेदेखि कात्तिक १ गतेसम्म सञ्चालन गरेको विद्यालय शिक्षा सुधारसम्बन्धी अभिमुखीकरण कार्यक्रम समापनको अवसरमा मंगलबार शैक्षिक सुधार गर्ने प्रतिबद्धता जनाइएको हो ।

    मेयर तीर्थराज भट्टराई, प्रमुख प्रशासकीय अधिकृत शुभाकर पौडेल र सामाजिक विकास समितिका अध्यक्ष दानबहादुर राईको समेत हस्ताक्षर रहेको प्रतिबद्धता पत्रमा सामुदायिक विद्यालयका प्रअले वार्षिक कार्ययोजना र शैक्षणिक योजनाको निर्माण र कार्यान्वयन गर्ने, नगर शिक्षा नियमावली २०७६ को नियम ५४ मा तोकिएका प्रअको काम, कर्तव्य र अधिकारको कार्यान्वयनमा सक्रियता जनाउने, ठिक १० बजेदेखि ४ बजेसम्म दैनिक विद्यालय सञ्चालन र तोकिएको समयसीमाभित्र नियमित पठन–पाठन गर्ने प्रतिबद्धता जनाएका छन् ।

    यस्तै शिक्षकको अनुपस्थिति भएको समय र शिक्षकको अभाव भएका विद्यालयमा कक्षाका क्षमतावान् विद्यार्थीलाई वैकल्पिक शिक्षकको रूपमा शिक्षणको अवसर दिने, सबै शिक्षक र विद्यार्थीको अनिवार्य उपस्थितिमा विद्यार्थीको नेतृत्वमा बिहान प्राथनासभाको सञ्चालन गर्ने, अनुपस्थित भएका विद्यार्थीको अभिभावकसँग कक्षा शिक्षकबाट सम्पर्क र विद्यालय समुदाय सम्बन्ध सुधार गर्ने,  शिक्षण सिकाइमा विद्यार्थीको सक्रिय सहभागितामा वृद्धि गर्ने प्रतिबद्धता जनाइएको छ ।

    प्रअले विद्यालय परिसरको नियमित सरसफाइ र पुष्प बाटिका निर्माण गर्ने, विद्यालय व्यवस्थापन समिति र अभिभावक शिक्षक संघको सक्रियतामा वृद्धि गर्ने, छिमेकी विद्यालय, सम्बन्धित वडा, पालिका र शिक्षा विकास तथा समन्वय इकाईसँग समन्वय गर्ने, सहकार्य र साझेदारमा वृद्धि, जरुरी काम बाहेक विद्यालयमा शिक्षकको नियमित उपस्थितिको सुनिश्चितता गर्ने, शैक्षिक सामग्री निर्माण कार्यशाला सञ्चालन गरी शिक्षण सिकाइमा दैनिक प्रयोगका सामग्री बाहेकका शैक्षिक सामग्रीको प्रयोग गर्ने, विद्यालय स्थापना दिवसको दिन अभिभावकको सहभागितामा छात्रवृत्ति वितरण गर्ने, परीक्षाको नतिजा विश्लेषण गरी सोको निचोड अभिभावक समक्ष पेस गर्ने, आधारभूत तहमा निरन्तर विद्यार्थीको मूल्यांकनको प्रयोग गर्ने, अभिभावक शिक्षाको थालनी र निरन्तरता दिने प्रअले गरेको प्रतिबद्धता–पत्रमा उल्लेख छ ।

    यस्तै विव्यस अध्यक्षले नगर शिक्षा नियमावलीमा उल्लेख भएका काम, कर्तव्य र अधिकारको कार्यान्वयन गर्ने, बालबालिकाहरू विद्यालय आउने जाने बाटोको मर्मत गर्ने, शौचालयको मर्मत सम्भार र सरसफाइ गर्ने, शुद्ध पिउने पानीको प्रबन्ध गर्ने, भौतिक पूर्वाधार मर्मतसम्भार गर्ने प्रतिबद्धता जनाएका छन् ।

    शिक्षक र विद्यार्थीको नियमित उपस्थितिका लागि सहजीकरण गर्ने, विद्यालयमा नियमित पठन–पाठनको व्यवस्था गर्ने, अतिरिक्त र सहकार्यकलाप सञ्चालनमा सहजीकरण गर्ने, विव्यसका पदाधिकारीले आलोपालो गरी विद्यालयमा नियमित उपस्थिति जनाउने भनिएको छ ।

    यस्तै विव्यस अध्यक्षले विद्यालयका कार्यकलापमा अभिभावकको सक्रियतामा वृद्धि गर्ने, फूलबारी र करेसाबारी निर्माणमा विद्यालयलाई सहयोग गर्ने, विद्यालय परिसर र कक्षा कोठाको सरसफाइ गर्ने, विद्यार्थी, शिक्षक र अभिभावकको प्रोत्साहन कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन् ।

  • सम्बन्धित विषय:

  • # शिक्षा

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology