Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

हिमाली क्षेत्रका सडकमा निगरानी बढाउँदै ट्राफिक प्रहरी

हिमाली क्षेत्रका सडकमा निगरानी बढाउँदै ट्राफिक प्रहरी

  • 309
    SHARES
  • हिमाली क्षेत्रका सडकमा निगरानी बढाउँदै ट्राफिक प्रहरी

    रसुवा । ट्राफिक नियमको पूर्णपालनाबाट सवारी दुर्घटना न्यूनीकरण गराउन रसुवामा कार्यरत ट्राफिक प्रहरी सक्रिय रहेको छ ।

    हिमाली क्षेत्रको कच्ची सडकमा चालक अनुमतिपत्र बिनाका व्यक्ति सवारीसाधन चलाउने कार्यमा सक्रिय हुन थालेपछि ट्राफिक प्रहरीले निगरानी बढाएको हो ।

    पूर्णरूपको दक्षताबेगर सडकमा सवारी चलाउने व्यक्तिउपर ट्राफिक प्रहरीले बढाएको निगरानीबाट मानवीय संरक्षणमा मद्दत जनाइएको छ ।

    चालु आर्थिक वर्षको साउनदेखि असोजसम्म मोटरसाइकल चालक अनुमतिपत्र एवम् बिलबुकसमेत नभेटिएका तीन सय २० जनालाई सचेत गराउँदै ट्राफिक प्रहरीले जरिवानासमेत गरेको हो ।

    यस्तै रसुवागढी नाकामा दिनप्रतिदिन सवारीसाधनको चाप बढ्दै गएको र साना तथा ठूला अधिकांश साधनले समेत सवारीसाधनको प्रमाण नबोक्ने गरेको पाइएकाले त्यस्ता गैरजिम्मेवार सबैखाले सवारी चालकलाई जरिवाना गर्दै ट्राफिक नियमको जागरण गराउँदै आएको छ ।

    जिल्ला ट्राफिक प्रहरी प्रमुख उज्ज्वलकुमार घलेका अनुसार साउनदेखि असोजसम्म कारबाही पर्नेमा मोटरसाइकलका साथै चार सय ९५ ट्रक तथा टिपर, एक सय ५४ जिप/कार एवम् ३१ वटा यात्रुवाहक बस रहेका छन् ।

    ती सवारीधनीलाई गरिएको जरिवानाबाट १० लाख सात हजार जरिवाना गरिएको बताइएको छ । नियमको पूर्णपालना गराउँदै बेला/बेलामा हुने सवारी दुर्घटना न्यूनीकरण गराइ आम नागरिकको जिउज्यानको संरक्षणमा ट्राफिक प्रहरीले गरेको योगदान राम्रो रहेको नागरिक समाजले जनाएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij