Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

सुदूरपश्चिममा भूकम्पको कयौँ पराकम्प, सतर्क रहन आग्रह

सुदूरपश्चिममा भूकम्पको कयौँ पराकम्प, सतर्क रहन आग्रह

  • 349
    SHARES
  • सुदूरपश्चिममा भूकम्पको कयौँ पराकम्प, सतर्क रहन आग्रह

    डोटी । गएराति डोटी केन्द्रविन्दु भएर गएको भूकम्पपछि सुदूरपश्चिममा दुई सय पराकम्प गएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माले आज दिउँसो १ बजेसम्म दुई सय पराकम्प गइसकेको जानकारी दिए ।

    उनका अनुसार गएराति त्यसअघि राति ९ बजेर ७ मिनेटमा ५ दशमलव ७ र राति ९ बजेर ५६ मिनेटमा ४ दशमलव १ र आज बिहान २ बजेर १२ मिनेटमा खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रविन्दु बनाएर ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको हो ।

    उनले भने, ‘लगातार तीन पटक एकै स्थानमा केन्द्रविन्दु बनाएर तीन ठूला भूकम्प गएका छन् । तीबाहेक चार रेक्टर स्केलभन्दा मुनिका दुई सय पराकम्प गइसकेका छन् ।’

    भूकम्पपछि पराकम्पहरू आइरहेकाले सतर्क रहन भूकम्प मापन केन्द्रले सबैमा आग्रह गरेको छ । भूकम्पका कारण डोटीको पूर्वीचौकीमा घर भत्किँदा ६ जनाको मृत्यु भएको छ।

    उक्त भूकम्पको धक्का सुदूरपश्चिमका सबै जिल्लामा महसुस गरिएको थियो । भूकम्पका कारण बैतडीमा पनि केही घरहरूमा क्षति पुगेको छ । भूकम्पका कारण पाटन नगरपालिकाको कृषि शाखा भवन चर्किएको नगरपालिका कृषि शाखाप्रमुख महेश अवस्थीले जानकारी दिए ।

    यस्तै भूकम्पका कारण दशरथचन्द नगरपालिका-१ का विभिन्न स्थानमा घरहरूमा चिरा परेका स्थानीय महेश भट्टले बताए । साथै पाटन नगरपालिकामा रहेको ज्ञानेश्वर माविको भवन पनि चर्किएको विद्यालयले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालयले भने भूकम्पका कारण क्षति भएको विवरण नआएको जनाएको छ । जिल्लाका सबै प्रहरी युनिटहरूलाई बुझ्दा हालसम्म क्षतिबारे कुनै जानकारी नआएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।

    उनले भने, ‘प्रहरी युनिटहरूलाई बुझ्दा क्षतिबारे कुनै जानकारी आएको छैन । स्थानीय जनप्रतिनिधिहरूलाई बुझ्दैछौँ ।’

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij