वेबटिभी खबर
काठमाडौं । निर्वाचन आयोगले त्रिभुवन विश्वविद्यालयअन्तर्गतको कतिपय क्याम्पसमा निर्वाचन आचारसंहिता, २०७९ लागु भइसकेपश्चात विज्ञापन खोली आंशिक प्राध्यापकलाई करार गर्ने प्रक्रिया तत्काल बदर गर्न निर्देशन दिएको छ ।
आयागले विश्वविद्यालयको रजिष्ट्रारको कार्यालय र सानोठिमी क्याम्पस, भक्तपुरसमेतका क्याम्समालाई करार गर्ने प्रक्रिया तत्काल बन्द र बदर गर्न निर्देशन दिएको हो ।
आयोगले गत असोज १२ गतेदेखि आचारसंहिता लागु भइसकेको अवस्थामा आंशिक प्राध्यापकहरूलाई करार गर्ने गरी अगाडि बढाइएका प्रक्रिया आचारसंहिताको प्रतिकूल हुने ठहर गरेको आफ्नो इबुलेटिनमा उल्लेख गरेको छ ।
‘आयोगले आचारसंहिताको दफा ४ मा सबैले पालना गर्नुपर्ने आचरण अन्तर्गत खण्ड (न) कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने व्यवस्था रहेको’ आफ्नो बुलेटिनमा भनेको छ, ‘दफा १० मा विद्यालय, महाविद्यालय वा विश्वविद्यालय तथा सोमा सम्बद्ध कर्मचारी, प्राध्यापक तथा शिक्षकले पालना गर्नुपर्ने आचरणअन्तर्गत खण्ड (ङ) मा ‘नयाँ पद सिर्जना गर्ने, रिक्त पदपूर्ति गर्ने, भत्ता वृद्धि गर्ने लगायतका कुनै पनि आर्थिक सुविधा वा पुरस्कार प्रदान गर्न नहुने तर आयोगलाई जानकारी गराई विश्वविद्यालय सेवा आयोग वा शिक्षक सेवा आयोगद्वारा नियमित रुपमा हुने पदपूर्ति सम्बन्धी कारवाही गर्न बाधा पर्ने छैन,’ भन्ने व्यवस्थाबारे जानकारी पनि गराएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij