Logo

२०७९, चैत्र ८ गते बुधवार

२०७९, चैत्र ८ गते बुधवार

images

मानुषी यमि भट्टराईको आगामी यात्रा

मानुषी यमि भट्टराईको आगामी यात्रा

  • 471
    SHARES
  • मानुषी यमि भट्टराईको आगामी यात्रा

    राजनीतिमा सकारात्मक र नकारात्मक दुबै पक्षबाट निकै चर्चामा आउने व्यक्ति हुन् डा.बाबुराम भट्टराई । डा.भट्टराईसँगै जोडिएर आउने नाम हो हिसिला यमी । यतिबेला याे दम्पती नै चुनावी मैदानमा नभएका कारण उनीहरूको चर्चा कतै सुनिदैन । बरू उनीहरूकी एकमात्र सन्तान मानुषी यमि भट्टराई यतिबेला चर्चामा छिन् ।

    images

    काठमाडौं क्षेत्र नं. ७ बाट सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी मानुषी यतिबेला आफ्नो क्षेत्रका जनताका घरदैलोमा पुगेर मत माग्दै हिँडिरहेकी छिन् । उनको साथमा उनका बाबुआमा देखिँदैनन् । मानुषीका बाबु बाबुराम बरू आफ्नै गृहजिल्ला गोरखाको निर्वाचन क्षेत्र नं. २ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगै देखिन्छन् ।

    प्रचण्ड र बाबुरामको एकाएकको मिलनपछि बाबुरामले आफूले निर्वाचन लड्दै आएको क्षेत्र प्रचण्डलाई जिम्मा लगाएर उनले सक्रिय राजनीतिबाट अवकास लिएको बुझ्न सकिन्छ । बाबुराम छोरीको चुनावी प्रचारप्रसारमा नदेखिनु र स्थापित नेता प्रचण्डकै पछिपछि देखिनुले बाबुरामको मोह परिवारप्रतिभन्दा पनि प्रचण्डतिर नै भएको देखिन्छ ।

    अहिले मानुषी जुन क्षेत्रबाट चुनावी मैदानमा उत्रिएकी छिन् सोही क्षेत्रबाट उनकी आमा हिसिलाले २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा चुनाव जितेकी थिइन् । त्यसपछि हिसिलाको यो क्षेत्रमा पुनरागमन हुन सकेन । आमाले जितेको करिब १४ वर्षपछि छोरी सोही क्षेत्रबाट चुनावी मैदानमा आएकी छिन् र उनले आफ्नो जितलाई सुनिश्चित ठानेकी छिन् ।

    माओवादी केन्द्रको चुनाव चिह्न हँसियाहथौडाबाट चुनाव लड्दै गरेकी मानुषीका पछाडि उनकै अभिभावकलाई नदेख्दा उनले अभिभावकको बिरासत जोगाउन सक्लिन् कि नसक्लिन् भन्ने प्रश्न उब्जिन सक्छ । त्यसो त अहिलेसम्मको अवस्थालाई सतही रूपमा हेर्दा काठमाडौं क्षेत्र नं. ७ बाट मानुषीको जित निश्चित जस्तै देखिन्छ ।

    हिसिलापछि लगातार दुईपटक २०७० र २०७४ को निर्वाचनमा एमालेका रामवीर मानन्धरले निर्वाचन जितेको यो क्षेत्रमा यसपटक पनि रामवीर मैदानमा नभएका होइनन् । तर उनी फरक परिस्थितमा चुनावी मैदानमा आएका छन् ।

    पार्टीले टिकट नदिएपछि उनी एमालेको बागी उमेद्वारको रूपमा चुनावी मैदानमा आएका छन् । ०७० र ०७४ मा निर्वाचन जित्दाको एमाले विभाजन भइसकेको अवस्था र आफ्नै पार्टीबाट पनि बागीका रूपमा मैदानमा आएका कारण मानन्धरको यो पटकको चुनावी दौडधुप ब्यर्थ हुने देखिन्छ । अन्य पार्टीको पनि त्यति बलियो क्षेत्र नभएको र मानुषी पाँचदलीय गठबन्धका तर्फबाट उम्मेदवार भएका कारण यसपटक उनले ६४ मा आमाले पाएको जित आफूले प्राप्त गर्न सक्ने आधार देखिन्छ ।

    चुनाव जितेमा र यही गठबन्धन कायम रहेमा मानुषीले आगामी मन्त्रीमण्डलमासमेत स्थान पाउने देखिन्छ । विद्यार्थी संगठनमा खारिएकी भएपनि संसदीय राजनीतिमा उनको यो पहिलो प्रयास हो । आफ्ना आमाबाबु दुवै संसदीय राजनीतिमा पोख्त भइसकेका कारण मानुषीलाई संसदीय प्रणालीमा समाहित हुन खासै समस्या पर्ने देखिन्न ।

    चुनाव जितेपछि उनले संसद्मा खेल्ने भूमिका र सरकारमा सहभागी भएमा उनले गर्ने कामका आधारमा नै उनको अबको राजनीतिको बाटो तय गर्ने छ । आगामी दिनमा सफल हुँदै गएमा उनी आफ्ना अभिभावकको उत्तराधिकारी बनेर उदाउन पनि सक्नेछिन् र उनले गर्ने गतिविधि जनताको हित र समाज परिवर्तनका विरुद्धमा गएमा उनी यहीँबाट राजनीतिक रूपमा अस्ताउन पनि सक्नेछिन् । यो आगामी दिनले नै देखाउला ।

    [लेखक पालुङटार–४, गोरखाका हुन्]

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology