वेबटिभी खबर
हेटौंडा । वाग्मती प्रदेशको राजधानी हेटौंडामा रहेको हेटौंडा अस्पतालमा अक्सिजन प्लान्ट निर्माणको काम सुरु हुने भएको छ । अक्सिजन प्लान्ट निर्माणका लागि मंगलबार अस्पताल र उद्योग संघ हेटौंडाबीच सम्झौता भएको हो ।
प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयको रोहवरमा यही जेठ १६ गतेभित्र निर्माण सुरु हुने गरी सम्झौता भएको हो । सम्झौतापत्रमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार एवं हेटौंडा अस्पताल सञ्चालन, व्यवस्थापन समितिका अध्यक्ष राजेश प्रसाईँ र उद्योग संघ हेटौंडाका अध्यक्ष लेखराज पोखरेलले हस्ताक्षर गरे।
प्लान्ट निर्माण एक करोड ३० लाखमा सम्पन्न हुने अनुमान संघले गरेको छ । प्लान्ट निर्माणको संयोजन उद्योग संघले गर्ने र आर्थिक जोहो संघसँग आबद्ध उद्योगीहरुले गर्ने संघले जानकारी दिएको छ ।
जेठ १६ गतेसम्ममा ठेकेदारलाई प्लान्ट निर्माणको जिम्मेवारी दिने र त्यसको करिब २-३० दिनभित्र प्लान्ट जडान भइसक्ने संघका अध्यक्ष पोखरेलले जानकारी दिए । प्लान्टले दैनिक २०० सिलिण्डर अक्सिजन आपूर्ति गर्नसक्ने उनले बताए ।
यसैबीच मकवानपुरमा कोभिड-१९ सङ्क्रमितको उपचारका लागि अक्सिजन अभाव हुन थालेपछि हेटौंडा उपमहानगरपालिकाले दैनिक १०० सिलिण्डर अक्सिजन ल्याउने अभियान सुरु गरेको छ ।
कोरोना सङ्क्रमणको दर बढिरहेकाले हेटौंडा अस्पतालमा उपचाररत बिरामीलाई सघाउ पुर्याउने उद्देश्यले सो अभियान चालिएको उपमहानगरपालिकाले जनाएको छ । प्रत्येक दिन उपमहानगरपालिकाको आर्थिक लगानीमा १०० सिलिण्डर अक्सिजन भरेर अस्पतालमा उपलब्ध गराइने छ । पछिल्लो समय उपमहानगरपालिकामा अक्सिजन चाहिने सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि स्थानीय सरकारले पहलकदमी बढाएको हो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij