Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

स्थान अभाव झेल्दै सार्वजनिक पुस्तकालय

स्थान अभाव झेल्दै सार्वजनिक पुस्तकालय

  • 373
    SHARES
  • स्थान अभाव झेल्दै सार्वजनिक पुस्तकालय

    काठमाडौं । मैतीदेवी बस्ने ३५ वर्षीय रामनारायण परियार फुर्सदका समयमा पुराना पत्रिका पढ्न काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय जान्छन् ।  इतिहासका कुरा थाहा पाउन उनी त्यहाँका पत्रपत्रिका अध्ययन गर्छन् ।

    images

    ‘यहाँ निःशुल्क पढ्न पाइन्छ । समय मिलेमा म त्यहाँ पुगिहाल्छु’, उनी भन्छन्, ‘फुर्सद निकालेर त्यहाँ पढ्न पाउँदा मलाई खुसी लाग्छ । वरपर खाजा खाने राम्रो ठाउँ नभएकाले आफैं खाजा लिएर भृकुटीमण्डपस्थित पुस्तकालयमा प्रायः आइरहन्छु ।’

    बानेश्वरका भोजराज कार्की पनि विद्यालय बिदा भएका दिन सधैं सो पुस्तकालयमा जाने गर्छन् । ‘बानेश्वरदेखि धेरै टाढा पनि छैन, त्यसैले स्कुल भएका दिन म यहीँ जाने गर्छु । छुट्टीका दिन धेरै विद्यार्थी आउने गरेकाले ठाउँ पाउनै मुस्किल हुन्छ’, बाह्र कक्षा अध्ययनरत कार्की भन्छन्, ‘घरमा पढ्न गाह्रो हुन्छ, टिभी हेर्न मन लाग्छ, मोबाइलमा गेम खेल्न मन लाग्छ, तर यहाँ टिभी पनि छैन, साथीहरूलाई देखेर पनि पढ्न मन लाग्छ ।’

    सबैका हातमा मोबाइल र ल्यापटप कम्प्युटर नाचिरहेका बेला सो पुस्तकालयमा भने परियार र कार्की जस्तै अध्ययनार्थीको भिड देखिन्छ । पुस्तक पढ्ने शान्त वातावरण खोज्दै पाठक उक्त पुस्तकालय पुग्ने क्रम बढ्दो छ । लोकसेवा आयोगका परीक्षा तयारी गर्नेदेखि कलेजका विद्यार्थीसहित दैनिक करिब ५० जना उक्त पुस्तकालय पुग्छन् ।

    पुस्तकालयमा अपाङ्गता भएका, बालबालिकालगायत हरेक उमेर समूहका मानिस किताब पढिरहेका देखिन्छन् । आफूले खोजेका किताब/पत्रपत्रिका निःशुल्क पढ्न पाउने भएपछि पुस्तकालयमा मानिसहरूको सधैँ भरिभराउ हुन्छ । मोबाइलमा फिल्म हेरेर र गेम खेलेर बिताउने पुस्ता पनि पुस्तकालयमा पुगेर ज्ञान बटुलिरहेको हुन्छ ।  पुस्तकालयमा इतिहास, साहित्य, राजनीतिकका साथै अनेक विषयका नेपाली र अङ्ग्रेजी भाषाका पुस्तक राखिएको छ ।

    विभिन्न देशका राजदूतले पुस्तकालय अवलोकन गरेर सहयोग पनि दिने गरेका छन् । पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई, माधवकुमार नेपाल, डा.बाबुराम भट्टराई र पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता सुवास नेम्वाङले पनि पुस्तकालय अवलोकन गर्दै सहयोग गरेका थिए । पुस्तकालयले भने अझैसम्म आफ्ना लागि स्थायी घर भेटेको छैन ।

    चारैतिर बजार क्षेत्र भए पनि पुस्तकालयलाई असर गरेको छैन । एकातिर किनमेलका लागि आउने मानिस हुन्छन् भने अर्कातिर किताब पढ्नैका लागि खाजा बोकेर आउने पनि छन् ।  कोलाहलयुक्त वातावरण नभएकाले शान्तसँग बसेर पढ्नैका लागि पुस्तकालय मानिसको आकर्षणको केन्द्र बनेको छ ।

    राम्रो सुविधा भनेको पुस्तकालयको सदस्य बनिसकेपछि घरमै लगेर पनि पुस्तक पढ्न पाउनु पनि हो । यहाँ बाहिरबाट पुस्तक बोकेरसमेत पढ्न आउनेहरू छन् । लोकसेवा आयोगको परीक्षाको तयारी गर्दै गरेका भन्छन्, ‘म घरबाट किताब लिएर आउँछु, दिनभरी यहाँ मज्जाले पढ्न पाइन्छ । कोठामा अरू साथीहरू पनि बस्छन्, घरमा पढ्ने वातावरण हुँदैन । त्यसैले बिहान खाना खाएर आउँछु, दिनभरी किताब पढेर साँझ मात्रै कोठा फर्किन्छु ।’

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology