Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

पुल निर्माण सुरू भएको आठ वर्षमा ४० प्रतिशत काम

पुल निर्माण सुरू भएको आठ वर्षमा ४० प्रतिशत काम

  • 675
    SHARES
  • पुल निर्माण सुरू भएको आठ वर्षमा ४० प्रतिशत काम

    चितवन । चितवनको भरतपुर महानगरपालिका र तनहुँको आबुँखैरेनी गाउँपालिकालाई जोड्ने घुमाउनेको पक्की पुल निर्माणको काममा ढिलाइ भएको छ । पुल निर्माण सुरु भएको आठ वर्षमा जम्मा ४० प्रतिशत काम सम्पन्न भएको हो ।

    images

    पोखरालाई तराईसँग जोड्ने सबैभन्दा छोटो दूरीको बुद्धसिंह राजमार्ग र नारायणगढ-मुग्लिन सडकखण्डको घुमाउनेमा २०७१ असार २९ गते सम्झौता गरेर पुल निर्माणको काम अघि बढाइएको थियो ।

    अहिलेसम्म पुलको दुईतर्फी पिलरको जग हाल्ने मात्र काम भएको छ । निर्माण कम्पनीले विभिन्न कारण देखाउँदै पुल निर्माणको काम अलपत्र पारेको सडक डिभिजन कार्यालय दमौलीका इञ्जीनियर विकेश लागेले बताए ।

    उनले पुल निर्माणका लागि चारपटकसम्म म्याद थप गरिसकिएको जानकारी दिए । पुल निर्माणको जिम्मा हेटौँडास्थित मृत सञ्जीवनी निर्माण कम्पनीले लिएको हो ।

    पछिल्लोपटक थपिएको अन्तिम म्याद २०८० असार मसान्तसम्म छ । पछिल्लो सम्झौताअनुसार पनि काम नभए निर्माण कम्पनीलाई कालोसूचीमा राखिने इञ्जीनियर लागेले बताए।

    उक्त पुलको निर्माणपछि चितवन आउन पोखरा, बाग्लुङ, पर्वत, बेनी, स्याङजा र दमौलीका बासिन्दाले डुम्रे, आबुँखैरेनी र मुग्लिन सडक प्रयोग गर्नुपर्दैन । पुल फुटपाथसहित ११ मिटर चौडाइको हुनेछ ।

    दोहोरो लेनको पुलमा ७.५ मिटर गाडी हिँड्ने भाग रहनेछ । अहिले पनि तनहुँको दमौलीबाट घुमाउनेघाटसम्म नियमितरूपमा साना बस चलेका छन् । तर पुल नहुँदा ती सवारी नारायणगढ-मुग्लिन सडकखण्डसम्म आइपुग्न सक्दैनन् । दमौलीबाट घुमाउनेसम्म ३२ किलोमिटर दूरी छ ।

    एक सय पाँच मिटरको आर्क डिजाइनको उक्त पुल भ्याटसहित ९ करोडको लागतमा निर्माण गर्न लागिएको हो । पुल निर्माणपश्चात नारायणगढबाट दमौली जान हाल सञ्चालन भइरहेको नारायणगढ-मुग्लिङ सडकको भन्दा २३ किलोमिटरको दूरी छोटो पर्छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology