Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

आलुखेतीमा आकर्षित हुँदै किसान 

आलुखेतीमा आकर्षित हुँदै किसान 

  • 270
    SHARES
  • आलुखेतीमा आकर्षित हुँदै किसान 

    सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको उच्च पहाडी क्षेत्रका साथै तल्लो क्षेत्रका किसानका निम्ति पछिल्लो समय आलुखेती आम्दानीको गतिलो माध्यम बनेको छ ।

    images

    अन्य खेतीको तुलनामा आलुबाट बढी फाइदा हुने भएपछि किसान आलुखेतीमा आकर्षित भएका हुन् । जिल्लाको मध्यभागमा पर्ने ब्रम्हायणी नदी आसपासका सेराफाँट, अर्चलेफाँट, सिम्लेफाँट, कुविण्डेफाँट आलुखेतीले हरियाली भएका छन् ।

    आलु लगाएर यस क्षेत्रका किसानले वार्षिक एक करोडभन्दा बढी आम्दानी गरिरहेको स्थानीय रवीन्द्र खड्काले बताए ।

    कुविण्डेका किसान गोविन्द सापकोटाका अनुसार हिउँद र वर्षात् दुवै याममा पानी लाग्ने नौबिसेफाँटमा धानखेती गर्दा मुस्किलले चार-पाँच बोरा उत्पादन हुने गर्दथ्यो । त्यही खेतमा आलु लगाउँदा ९० हजारसम्मको आम्दानी गर्दै आएको बताउँछन् ।

    आलुखेतीबाट पर्याप्त आम्दानी भएपछि बतासे रानीटारका केदारनाथ काफ्लेले पनि पाँच वर्षदेखि आलुखेती लगाउँदै आइरहेको र यस वर्ष करिब १५ हजार खर्च गरेर आलुखेती गरेको बताए ।

    यसबाट कम्तीमा ६०-७० हजार आम्दानी हुने उनको अनुमान छ । ब्रम्हायणी नदी आसपासका फाँटमा सिँचाइ सुविधा प्रशस्त भएकाले पनि किसानलाई आलुखेती लगाउन निकै सुविधा भएको फुल्पिङकोटका प्रेमबहादुर भण्डारीको भनाइ छ ।

    इन्द्रावती नदी दायाँ-बायाँका खेत पनि आलुखेतीले हरियाली भएका छन् । आलुखेतीबाट मनग्य आम्दानी भएपछि किसान आलुखेती लगाउन हौसिएका छन् ।

    विगतमा गहुँखेती लगाएर जीविकोपार्जन गर्दै आएका किसान आलुखेतीमा समर्पित भएपछि यस क्षेत्रका बासिन्दाको आम्दानीमा सुधार भएको इन्द्रावती गाउँपालिका-१२ भीमटारका वडाध्यक्ष सुरेन्द्र दनुवारले बताए ।

    आलुखेती लगाएरै इन्द्रावती नदी आसपासका बासिन्दाले वार्षिक करोडौँ रूपैयाँ गाउँ भित्र्याउन सफल भएको दनुवारले बताए । आलु र तरकारी खेतीमा किसान लागेकाले यसलाई व्यवस्थित पार्न सिपाघाटमा तरकारी संकलन केन्द्र स्थापना गरिएको सिपापोखरेका सीताराम श्रेष्ठले जानकारी दिए ।

    जिल्लाको उच्च पहाडी भू-भागमा उत्पादन हुने आलु पूर्णरूपमा अर्ग्यानिक हुने भएकाले पछिल्लो समय यहाँ उत्पादन हुने आलुले राजधानीमा समेत राम्रो बजार लिएको मुडे आलु विकास केन्द्रले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # आलुखेती

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology