Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

आठविसकोटमा उत्पादित किवी वाइन कम्पनीले खरिद गर्ने

आठविसकोटमा उत्पादित किवी वाइन कम्पनीले खरिद गर्ने

  • 343
    SHARES
  • आठविसकोटमा उत्पादित किवी वाइन कम्पनीले खरिद गर्ने

    रुकुम । रुकुम पश्चिमको आठविसकोट नगरपालिका-१० का गणेश शाहीले वार्षिक २५ क्विन्टल किवी उत्पादन गर्छन् । आफ्नो ठाउँमा किवीको राम्रो उत्पादन हुने सम्भावना देखेपछि उनले अन्य खेतीपाती गर्ने जग्गामा किवीको बिरूवा लगाएका हुन् ।

    images

    बिरूवा लगाइएको करिब दुई वर्षमै बारीमा किवी फल्न थालेपछि शाही निकै खुसी भएका छन् । किवी फले पनि जिल्लामा थोरै मात्रामा बिक्री भएकाले ठूलो मात्रामा फलेको किवी बजारसम्म पुर्‍याउन उनलाई निकै गाह्रो भयो ।

    घरबाट डोकोमा बोकेर करिब दुई किलोमिटर हिँडेपछि मात्र सडक भेटिन्थ्यो । सडकमा किवी पुर्‍याए पनि गाडीले किवी बोक्न नमान्दा शाहीलाई किवी बिक्री गर्न निकै समस्या भयो ।

    उनी मात्रै होइन, उक्त नगरपालिकामा किवी खेती गरेका किसानलाई बिक्री गर्न धेरै समस्या भयो । किवीले बजार पाउन छाडेपनि नगरपालिकामा रहेको एउटा वाइन उद्योगले खरिद गर्ने भएको छ ।

    नगरपालिकाका किसानले उत्पादन गरेको किवी कर्णाली वेभरेज प्रालिले खरिद गर्ने भएको हो । आठबीसकोट नगरपालिका-१२ झिनचौरमा रहेको उक्त प्रालि र किसानको सहमतिअनुसार फलाएको किवी प्रतिकिलो एक सय २५ मा खरिद गर्ने नगर प्रमुख रवि केसी जानकारी दिए ।

    नगर प्रमुख केसीका अनुसार यस नगरपालिकाको वडा नम्बर १, २, ३, १०, ११ र १२ मा एक सय ४२ क्विन्टल किवी उत्पादन भएको छ । छ वटा वडामा गरेर अहिले नगरपालिकामा ४७ जना व्यावसायिक किवी उत्पादक किसान छन् ।

    पहिलो स्थानीय सरकारले किवी खेतीलाई जोड दिएपछि नगरपालिकामा किवी खेती गर्ने किसानको संख्या धेरै पुगेको छ । सरकारले किसानलाई अनुदानमा ठूलो मात्रामा किवीको बिरूवा विरतरण गरेको थियो भने किसान आफैँले किनेर पनि बिरूवा लगाएका थिए ।

    नगरपालिकामा गत वर्ष मात्र दुई हजार एक सय वटा किवीका बिरूवा रोपिएका थिए । अहिले नगर भरमा करिब एक हजार पाँच सय किवीका बोटले उत्पादन दिइरहेको नगरपालिकाको अनुमान छ ।

    ती बोटबाट करिब एक सय ४२ क्विन्टल किवी उत्पादन हुने अनुमानसहित नगरपालिकाको रोहवरमा उक्त प्रालि र किसानबीचमा सहमति भएको हो । त्यस्तै नगरपालिकाले ढुवानीका लागि अनुदान पनि दिने भएको छ ।

    किसानको बारीबाट वडा नम्बर १२ मा रहेको कम्पनीसम्म किवी पुर्‍याउन लाग्ने भाडा नगरपालिकाले तिरिदिने नगर प्रमुख केसीले बताए । अहिलेसम्म किसानले आ-आफैँ किवी बिक्री गरिरहेकामा पहिलोपटक नगरभरको किवी एकमुस्ट बिक्री हुन लागेको हो ।

    नगरमै किवी खपत हुने र ढुवानीमा अनुदान पाइने भएपछि कृषक खुसी भएका छन् । कर्णाली वेभरेजले वाइन तथा विभिन्न जुस उत्पादन गरिरहेको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology