Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

कोरोना महामारीले चरन क्षेत्र बने विद्यालय 

कोरोना महामारीले चरन क्षेत्र बने विद्यालय 

  • 846
    SHARES
  • कोरोना महामारीले चरन क्षेत्र बने विद्यालय 

    गलेश्वर । नयाँ भेरियन्टसहितको कोभिड-१९को दोस्रो लहरको संक्रमणबाट थलिएको हिमाली जिल्ला म्याग्दीका विद्यालयहरुमा पशुको रजाइँ भएको छ । संक्रमणबाट बच्न गरिएको निषेधाज्ञाका कारण विद्यालयहरु बन्द भएपछि विद्यार्थीहरुले पढ्ने ठाउँ गाई, भैंसी, बाख्रा र कुखुराको चरन क्षेत्रमा परिणत भएका छन् ।

    images

    विद्यालयको प्रांगणमा घाँस उम्रिएर हराभरा भएको छ । तारबार नगरिएका विद्यालयहरुमा गाउँका पशु चौपायाहरु विद्यालय हाताभित्रै प्रवेश गरेर चरिरहेका देखिन्छन् ।

    विद्यालयहरु बन्द भएको एक महिना हुनै लाग्दा ग्रामीण क्षेत्रका विद्यालयको अवस्था पशु गोठजस्तै बन्न लागेको स्थानीयवासीले बताएका छन् ।

    कोरोना संक्रमण झन तीव्ररूपले फैलिँदै गइरहेको अवस्थामा विद्यालयहरु कहिले सञ्चालन हुने हो भन्ने कुराको कुनै टुंगो छैन । स्थानीय प्रशासन र स्थानीय तहहरुले जारी निषेधाज्ञालाई अझै लम्ब्याउने तयारी गरिरहेका छन् ।

    बेनी नगरपालिका-६ बगुवाखोलास्थित बालजागृति आधारभूत विद्यालय र बगरफाँटको सरस्वती आधारभूत विद्यालय परिसरको क्षेत्र अहिले पशुहरुको चरन क्षेत्र बनेको स्थानीयवासीले बताएका छन् । यी दुई विद्यालय मात्र नभई जिल्लाका ग्रामीण भेगका सबै विद्यालयको अवस्था यस्तै रहेको त्यस क्षेत्रका स्थानीयवासीले बताएका छन् ।

    विद्यालय पशुका लागि चरन क्षेत्र बनेपछि पशुका हेरालु पनि विद्यार्थी नै बनेको बेनी-२ बगरफाँटका समबहादुर किसानले बताए । 

    भकिम्लीका मंगलबहादुर विकको समय दैनिक बिहानबेलुका बाख्रालाई चरिचरन क्षेत्रमा लैजाने र ल्याउँदैमा बित्छ । स्थानीय जयन्ती मावि भकिम्लीमा अहिले कक्षा ९ मा अध्ययनरत विक शहरबजारमा अनलाइनबाट पढाइ भइरहेको कुरा थाहा त पाउँछन् तर आफ्नो घरमा न वाइफाइ छ, न विद्यालयले नै अनलाइन कक्षा सञ्चालन गरेको छ ।

    उनी भन्छन्, पढ्न त मन लाग्छ नि, तर पढ्ने पो कसरी हो ? बाख्रा चराउन जंगल जान्छौं, विद्यालय नखुलेसम्म पढ्ने कुरा हरायो अब । उनीजस्तै म्याग्दीको ग्रामीण भेगका धेरै विद्यार्थी अहिले गाईभैंसी र भेडाबाख्राका हेरालु बनेका छन् ।

    सदरमुकाममा विद्युत्को केन्द्रीय लाइन विस्तारसँगै इन्टरनेट सेवा हुँदा विद्यार्थीहरुले प्रविधिको भरपूर मात्रामा सदुपयोग गरे पनि ग्रामीण क्षेत्रमा बस्ने विद्यार्थी भने पशुचौपायाको हेरालु बनेर दिन बिताइरहेका स्थानीय जनप्रतिनिधिहरुको पनि भनाइ छ ।

    सहरका विद्यार्थीले विभिन्न माध्यमबाट दोहोरो शिक्षा लिइसक्ने समयसम्म गाउँका विद्यार्थीले एकसरो पढ्न पाउने अवस्थासमेत मुस्किल बन्दै गएको छ । अघिल्लो वर्षको कोरोनाका कारण बल्लबल्ल विद्यालय सञ्चालन भएर आधा पढाइ हुनेबित्तिकै फेरि यो वर्षसमेत सोही घटना दोहोरिँदा विद्यार्थी मर्कामा परेका छन् ।

    शिक्षा विकास तथा समन्वय एकाइ म्याग्दीका प्रमुख दलबहादुर थापाका अनुसार ग्रामीण भेगका विद्यार्थीले सरकारद्वारा गरिएको प्रसारण शिक्षाको सदुपयोग गर्न सकेका छैनन् ।

    अनलाइनलगायत वैकल्पिक माध्यमको सिकाइका लागि विभिन्न माध्यमबाट काम चालु रहे पनि सबै स्थानका विद्यार्थीसँग प्रविधिको पहुँच नभएकाले समस्या भएको उनको भनाइ छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology