वेबटिभी खबर
काठमाडौं । सुकुम्बासीले आफूहरूलाई बस्नका लागि वैकल्पिक व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन् ।
बाग्मती नदी किनाराका सुकुम्बासीले आज माइतीघरदेखि नयाँ बानेश्वरसम्म पदयात्रा गरी आफूहरूलाई बस्नका लागि वैकल्पिक व्यवस्था गर्न सरकारलाई आग्रह गरेका हुन् ।
कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालका अध्यक्ष कुमार कार्कीले वर्षौँदेखि बसोबास गरिरहेको जमिनमा वैकल्पिक व्यवस्था गर्न माग गरे ।
‘वैकल्पिक व्यवस्था बिना गरिएको उठिबास सह्य हुँदैन, वैकल्पिक बसोबास बिनाको उठिबास नागरिक अधिकारमाथिको हनन हो’, उनले भने ।
उनले सुकुम्बासी विध्वंसकारी नभएको भन्दै देश विकास र निर्माणका शक्ति सुकुम्बासी भएको बताए ।
अध्यक्ष कार्कीले सरकारले सुकुम्बासीहरूको वार्ता र सहमतिको ढोका बन्द गरेको भन्दै वार्ताबाट समस्याको समाधान गर्न आग्रह गरे ।
यही मंसिर १२ गते अधिकार सम्पन्न बाग्मती एकीकृत विकास समितिको पहलमा काठमाडौं महानगरपालिका डोजर लिएर सुकुम्बासी बस्ती भत्काउन पुगेदेखि बस्तीमा असहज परिस्थिति सिर्जना भएको थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij