Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

बुद्धिसागरको नयाँ उपन्यास ‘एक्लो’ लोकार्पण

बुद्धिसागरको नयाँ उपन्यास ‘एक्लो’ लोकार्पण

  • 532
    SHARES
  • बुद्धिसागरको नयाँ उपन्यास ‘एक्लो’ लोकार्पण

    काठमाडौं । बुद्धिसागरद्वारा लिखित उपन्यास ‘एक्लो’ लोकार्पण गरिएको छ । काठमाडौंको प्रज्ञा प्रतिष्ठान, डबलीमा शनिबार आयोजित विशेष कार्यक्रममा उक्त पुस्तक लोकार्पण गरियो । गोलाप्रथाद्वारा छानिएका १० जना पाठकले पुस्तक सार्वजनिक गरे ।

    images

    पुस्तक सार्वजनिक भएपछि लेखक बुद्धिसागरले आफू निकै भावुक भएको बताएका थिए । ‘बिहान उठ्दा एकदमै आत्मविश्वासी थिएँ । तर बाटोमा आउँदा आउँदै डर लाग्न थाल्यो । प्रज्ञा प्रतिष्ठानको गेटमा आइपुग्दासम्म खुट्टा नै काँपेको महसुस भयो,’ उनले भने ।

    ‘एउटा लेखक २/४ वर्ष साथीहरूको सर्कलबाट काटिन्छ । ऊ भीड छाडेर एकान्तको खोजीमा भौंतारिन्छ । तर होहल्ला मच्चाइरहको आफ्नो मस्तिष्कले आजित हुन्छ । एउटा लेखक वर्षौसम्म पात्रहरू बोकेर किन हिँडिरहन्छ ?,’ उनले थपे, ‘उत्तर धेरै भए पनि एउटा कुरा पक्का हो, ऊ उस्तै तर अरुभन्दा अलिकति फरक, अरुभन्दा अलिकति भिन्न कथा भन्न चाहन्छ । खोज्न चाहन्छ ती मानिस, जो उस्तै सोच र नजरिया राख्छन् । मैले पहिले कतै भनेको छु, संसारमा उस्तै अनुहार भएको अर्को मानिस खोज्ने एप आइसकेका छन् । तर पुस्तक मात्र एउटा यस्तो एप हो, जसले उस्तै भावना भएको अर्को मानिसलाई खोज्न सक्छ ।’

    बुद्धिसागरले पाठकसँग भेटिनु आफ्ना लागि लेखनको ऊर्जा रहेको पनि उल्लेख गरे । लेखकले कथा कल्पँदा पाठकले पात्र पाउने र पाठकहरूले कथा पढ्दा लेखकले अनेक अनुभूति पाउने उनको भनाइ छ । ‘यो लेनदेन चलिरहन्छ र मेरा लागि यो संसारकै मीठो लेनदेन हो, यो चलिरहोस्,’ उनले भने ।

    को हुन् बुद्धिसागर ?

    कैलालीमा जन्मिएका बुद्धिसागरको किशोरावस्था कालीकोटको मान्ममा बितेको हो । ०६० सालको राष्ट्रिय कविता महोत्सवमा स्वर्णपदक जितेका उनले ०६६ सालमा नेपाल सरकारबाट प्रतिभा पुरस्कार प्राप्त गरेका छन् ।

    सन् २०१९ मा इन्टरनेसनल राइटिङ प्रोग्राम (आयोवा) का मानार्थ फेलो रहेका उनको उपन्यास ‘कर्णालीब्लुज’ को अंग्रेजी अनुवाद सोही नाममा प्रकाशित छ । उनका ‘कर्णालीब्लुज’ र ‘फिरफिरे’ उपन्यास एवम् ‘बुद्धिसागरका कविता’ फाइनप्रिन्टबाट प्रकाशित छन् । ‘एक्लो’ उपन्यास पनि फाइनप्रिन्टले नै प्रकाशन गरेको हो ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology