वेबटिभी खबर
काठमाडौं । ट्राफिक प्रहरीले मंसिर महिनामा ६० वटा सवारी चालक अनुमतिपत्र निलम्बनका लागि यातायात व्यवस्था विभाग पठाएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ बमोजिम चालकले पालना गर्नुपर्ने सर्त तथा नियम पाँच (५) पटकभन्दा बढी उल्लंघन गरेको पाइएकोले सोही ऐनको परिच्छेद ४ को दफा ६० बमोजिम सवारी चालक अनुमतिपत्र निलम्बनका लागि यातायात व्यवस्था विभाग पठाएको हो ।
कार्यालयका प्रवक्ता, प्रहरी वरीष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले पाँच पटकभन्दा बढी सवारी नियम उलंघन गरेकाले यातायात व्यवस्था ऐन, २०४९ अनुसार कारबाहीका लागि यातायात व्यवस्था विभाग पठाइएको जानकारी दिए ।
उनका अनुसार सबैभन्दा धेरै कारबाही पर्नेमा एकजना ४४ पटक त्यसपछि क्रमशः एकजना ३५ पटक, तीनजना २४ पटक, एकजना १४ पटक, सातजना १२ पटक, दुईजना सात पटक, र ४५ जना छ पटक पक्राउ परेका सवारी चालक रहेका छन् ।
पक्राउ परेकाले सवारी तथा यातायात व्यवस्था ऐनको दफा १६४ को उपदफा १ बमोजिम कसुर गरेको पाइएको प्रवक्ता भट्टले बताए । ट्राफिक नियम उल्लंघन गरिरहने चालकबाट नै सवारी दुर्घटना बढी हुने गरेको सो कार्यालयले जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij