Logo

२०७८, आश्विन ४ गते सोमवार

२०७८, आश्विन ४ गते सोमवार

गुडबाई राजेन्द्र गुरु !

गुडबाई राजेन्द्र गुरु !

  • 2.2K
    SHARES
  • गुडबाई राजेन्द्र गुरु !

    क्षमा गर्नुहोला राजेन्द्र गुरु ! 
    यहाँले गुडबाई छोडि जानेहरुलाई ! कृति नै लेख्नुभयो । आज यहाँलाई नै गुडबाई ! लेख्नु पर्यो । यसो लेख्न हात काँपि रहेछ । मसी सुकि रहेछ । मस्तिष्क चक्कराई रहेछ । सत्य हो कि असत्यको भ्रमपूर्ण बादल मडारिइ रहेछ । तपाईँ जस्तो हक्की, स्वाभिमानी प्रखर गुरुको चेलो पनि लाचार बनि रहेछ । तपाईंबाटै सिकेको कलामा तपाईंकै बारे केही लेख्न सकि रहेको छैन । उसका हात लुग्लुगाएका छन् । आँखा डब्डबाएका छन् । मुटु थर्थराएको छ । घाँटी किक्क किक्क भएको छ । निशब्द झोक्राएको छ ।

    एउटा भ्रम मडारिइ रहेछ गुरु ! 

    नसोचेको कुरा बढी हुँदो रहेछ जीवनमा । लागेकोे पनि थिएन- यहाँले यति छिटै छोडेर जानुहुन्छ । सय मनमा एक मन पनि थिएन- हामीलाई अभिभावकविहीन बनाउनुहुन्छ । कल्पना पनि गरिएन छ- कोभिड महामारीमै यहाँको पनि महाप्रस्थान हुँदैछ । तर के गर्नु गुरु ! होइन भन्न सकिएन- आर्मीको गाडीबाट आर्यघाट उतारिएको पार्थिव शरीर यहाँको होइन भनेर । आफैंलाई ढाँट्न सकिएन- बाग्मती किनारमा पुत्ताएको धुवाँ यहाँको शरीर जल्दै गर्दाको होइन भनेर । यहाँसँगै सिकेका तर्क कलाले तर्क गर्न सकिएन- बाग्मती किनारमा पखालिएको चिता यहाँको थिएन भनेर । नरुन पनि सकिएन-यहाँ जस्तो आँटी गुरुको चेलो हुँ भनेर । गुरुआमालाई ढाँट्न पनि सकिएन- गुरुलाई सञ्चो हुँदैछ, आज हस्पिटलले डिस्चार्ज दिँदैछ भनेर । नयाँ ज्ञानभयो गुरुकै कारण- सत्य तीतो हुँदो रहेछ । 

    बेलामा यहाँसँग सिक्न छुटेको रहेछ गुरु ! केही केही घटनाले सहनै नसक्ने गरी दुखाउँदा रहेछन् । गुनासो गर्न मन लाग्छ- यहाँले हामीलाई थाहै नदिई अस्पतालको यात्रा तय गर्नुभयो ।  झुक्याउनु भयो- फोनमा निको हुँदैछु ज्वरो घट्दै छ भनेर । छल गर्नुभयो- निको भएँ भनेर अस्पतालबाट फर्किई एक रात घरको ओछ्यानमा सुतेर । पुनः अस्पताल मात्र जानुभएन आइसियु हुँदै भेन्टीलेटरमा पसेर झुक्याउनु भयो । अघिअघि आइसियु र भेन्टिलेटर बिरामी बचाउने ठाउँ भनेर बुझ्थौँ । यसपाला तिनको परिभषा यहाँले नै फेरिदिनु भयो । यसमा सम्झाइ नसकिने गुनासो छ । तर कसरी पोख्नु गुरु ? केही गुनासा पोख्ने ठाउँ नपाएर मनमै गुम्स्याएर राख्नुपर्दो रहेछ । यस्ता गुनासा यहाँले कहिलै कसैसँग गर्नु भएन । गुनासा त यहाँसँग पनि त थिए होला नि ? फेरि गुनासो रह्यो कहिलै सोधिएन छ के गुनासो छ भनेर ?

    185246507_4566145330066440_2343384490572649682_n.jpg

    यहाँ जन्ती, मलामी जानुभयो होला ? सयौँ हजारौका । गुनासो नगर्नुहोला, यहाँलाई परेका  बेलामा दर्जन मलामी पनि भएनौँ । खुलेर पुष्पगुच्छा र माला पनि चढाउन पाएनौँ । ब्रह्मनालमा राखेर पाउ पखाल्न पानि पाएनौँ । यहाँले लेख्दा पनि झुटो लेखेर जानु भएछ- राजेन्द्र सुवेदीको 'हाप्रयाण’ निबन्धमा । त्यस निबन्धको परिकल्पनाको उल्टो गरिदिनु भयो ।  यहाँले लेख्नुभएको थियो: अँ त आज राजेन्द्र सुवेदीको निधन भएको छ । उहाँको शव अन्त्येष्टि संस्कारका निम्ति घाटमा पुर्याइएको छ । आजको सञ्चारका साधनहरुमा सूचना सम्प्रेषित भए । अब घाटैमा भेट्ने भन्ने समाचार प्रसारित भयो । एस्. एम्. एस्. मा देखे- यो समाचार कसैले । टेलिफोनबाट थाहा पाए- यो घटना कसैले । फेसबुकबाट सूचना पाए- यो समाचार कसैले र मुखैबाट पनि पाए-  यो समाचार कसैले । समाचार पाउनेहरुमा केही चाहिँ घाटमा पुगे र केही चाहिँ पछि गएर भेटौँला भनेर आफ्ना कामलाई नै प्राथमिकता दिएर त्यतैतिर लागे । भ्याउने र मृत्युको संवेदनालाई सहज र अनिवार्य सत्य हो भनेर आतमसात् गर्नेहरु घाटमा पुगे । त्यहाँ पनि एउटा सानोतिनो शोकसभा र बिदाईको जस्तो जमघट भएको थियो । कार्यक्रम आरम्भ भयो । केही मान्छेहरुले आफूलाई मन्तव्य प्रकट गर्नेमा नाम लेखाउँदै थिए । मन्तव्य प्रकट गर्ने कार्यक्रम आरम्भ भयो । (२०७१, पृ. ६१-६२) 

    यो निबन्धको प्राक्कल्पना फेल खायो गुरु ! यहाँले व्यङ्ग्यात्मक पाराले जे प्रसतुत गर्नुभएको थियो त्यसमाथि पनि व्यङ्ग्य गर्नुभयो आफू जाने बेलामा । मृत्युको केही भभिव्यञ्जना अवश्य थियो यहाँ । व्यङ्ग्य मात्र हो भनेर पाठकलाई झुक्याउनु भयो । हामी झुक्कियौँ । यस निबन्धमा कसैले शिक्षा सेवाकाबारे बोलिरहेको, कसैले साहित्य सिर्जनाको चर्चा गरिरहेको (पृ. ६५) कसैले समीक्षाका बारे चर्चा गरिरहेको परिकल्पना गर्नुभएको थियो । यो पनि यहाँले ती कसैप्रति गरेको व्यङ्ग्य नै रहेछ । खोई कसलाई चाहिएको रहेछ र सिर्जनाप्रतिको विशिष्ट लगाव ?  शिक्षा क्षेत्रको विशिष्ट योगदान ? प्राज्ञिक कर्म र समर्पण ?

    185246507_4566145330066440_2343384490572649682_n.jpg

    खोई गुरु ! यो निबन्धको व्यङ्ग्य कता सोझियो ? त्यस रचनामा शिक्षा, साहित्य सिर्जना र समीक्षाको चर्चा भइरहेका बेला कुन झन्डा ओढाउने र कसले ओढाउने भन्ने विवादले सारा योगदान र संवेदनालाई खाइदिएको परिकल्पना पनि गर्नुभएको थियो । आज पनि राजनीति त उसरी नै वदनाम छ । तपाईँले भाषण गरेर जिताएका मान्छेहरु मन्त्री-प्रधानमन्त्री छन् । तर ती कोही पनि तपाईँलाई झन्डा ओडाउन खोसाखोस गर्दै आइपुगेनन् । तपाईँले तिनीहरुलाई पनि झुक्याइ दिनुभयो । हामीलाई पनि झुक्याइ दिनुभयो । झुक्याउनै नहुने परिवारका सदस्यलाई पनि झुक्याइ दिनुभयो । 

    थाहा छैन गुरु, यहाँले यो निबन्ध कसरी कुन अभिव्यञ्जनाले लेख्नुभयो ? यसको व्यङ्ग्य अरु धेरै लेखकका लागि मिल्यो । तर तपाईंकै लागि मिलेन । 

    हामीलाई क्षमा गरिदिनु होला गुरु ! हामीले एस एम एस गरेर पनि मलामी जुटाउन सकेनौँ । नेताहरु ल्याउन सकेनौँ । साहित्यकार, शिक्षासेवी, यहाँका सहकर्मी, शुभचिन्तक जुटाउन सकेनौँ । अरु के भन्नु र ! गुरुआमालाई पनि घाटसम्म पुर्याउन सकेनौँ । यहाँका छोरी, बुहारी, ज्वाइँ, नाति सकैलाई अन्तिम दर्शन गराउन सकेनौँ । छुट्टै कात्रो किन्न पनि सकेनौँ, हरियो धारो बनाउन पनि सकेनौँ । चिता बुन्न पनि सकेनौँ । निस्तब्ध भएर उभिइरह्यौँ बाग्मती किनारको कलीझैँ । 

    गुनासो नर्नुहोला गुरु ! यहाँलाई विदाइ गर्ने बेलामा केवल एउटा माला मात्र चढायौँ- आर्मीकै सहयोगमा । पुष्पगुच्छा चढायौँ- आर्मीकै सहयोगमा । यहाँसम्म आत्मीयता प्रदर्शन गर्न सकेनौँ कि  आँटै गरेनौँ- बडीव्याग खोलेर अन्तिम दर्शन गर्ने । यहाँको सङ्गतबाट सिकेका आँट, सहास, विनम्रता, संवेदना केही पालना गर्न सकेनौँ । यहाँको शवका शिरानेमा सिन्केधुप जलाएर केवल आँसु बगायौँ  । केवल पशुपति किनारमा तीन-चार घण्टा छटपटायौँ । कमल दाइलाई परेको दुःखको साक्षी बन्यौँ । हामी आफैँ समालिन सकेनौँ । यहाँसम्म कि पितृशोकमा छट्पटाइ रहेको पुत्रलाई अँगालो मारेर थुम्थुम्याउन पनि सकेनौँ । उहाँ आफैं सम्हालिनुभयो । हामी आफैँ सम्हालियौँ । खोई कसरी समालियौँ भनूँ, हातगोडा कामिरहेकै छन् । आँखा डब्डबाएकै छन् । रोगाएर,  थलिएर, कमजोर भएर होइन ठमठमाएर अस्पताल पुगेको स्वजन नफर्कँदाको पीडा थोरैतिना आँसुले नपखालिँदो रहेछ । 

    हो गुरु ! यहाँले आफ्नो निबन्धमा राजेन्द्र सुवेदीको महा प्रस्थानको दिन सबै भाषण गर्न झन्डा ओढाउन समवेदना प्रकट गर्न र समचार सङ्कलन गर्न पुगेकाहरु फर्किइसकेर क्रियापुत्री एक्ल्याउन लाग्दाको सन्दर्भ लेख्नुभएको छ । आज आएर हामी त्यस व्यङ्ग्यका निसाना बन्यौँ । हामी घाटबाट एउटा तामाको भाँडामा यहाँको अस्तु थापेर आयौँ ।

    186374674_152482050174651_6011415540362050040_n.jpgयहाँले जीवनभरिको सङ्घर्षबाट उठाएको घरभित्र पस्ता पनि निशब्द भयौँ । सधै तीर्थस्थलझैँ लाग्ने त्यो घरभित्र पस्न पनि डरायौँ । यहाँसँग काम लिन धाईधाई पुग्ने कोठामा पस्न आँट गरेनौँ घर अगाडिको यहाँले नै रोपेर हुर्काएको आँपको रुखमा त्यो अस्तु राखेको बट्टा झुन्ड्यायौँ । कमल दाइ र गुरुआमालाई आँखा जुधाएर हेर्न पनि सकेनौँ । सान्त्वनाका शब्द बोलन पनि सकेनौँ । मानूँ दुई पुजारीलाई मूर्ति ढलेका बेला त्यसै मन्दिरका पेटीमा छोडेर फर्कियौँ । हामी यहाँकै निबन्धका स्वार्थी मानवहरुका निसानामा सुहाउने पात्र बन्यौँ । 

    फर्कियौँ गुरु ! हामी त्यसै फर्कियौँ गुरु आमालाई नसम्हाली । कमल दाइलाई नसम्हाली । फर्कँदा हामी मात्र फर्किएनौँ । यहाँका छोरीज्वाइँ पनि आफ्नै घरतिर फर्काएर फर्कियौँ । सायद इन्दिरा गुरुआमाले आफैँ मुटु मिचेर पीडा सहन गर्नुभयो । सायद कमल दाइले आफै मुटु मिचेर पीडा सहन गर्नुयो । हामीले केही गर्न सकेनौँ । घर फर्किएर हजुरको अभिभावकत्वबाट पुलकित बालबालिकालाई यथार्थ सुनाउन पनि सकेनौँ । के कसो भो भनेर सोध्नेहरुलाई यथार्थ बताउन पनि सकेनौँ । 

    यहाँको कलम कहिलै झुट बोल्दैन थियो । यहाँको जिब्रो कहिलै लर्बराउँदैन थियो । यहाँका गोडा कहिलै लर्वराउँदैन थिए । तर गुरु ! मृत्युका दिनको यहाँको प्राक्कल्पना केही मिलेन । मात्रै एउटा चाहिँ यहाँको प्राक्कल्पना वा इच्छा पनि पुग्यो । यहाँले चाहेअनुसार रगत लत्पतिएका हातले यहाँको शव छुन पाएनन् । यहाँको विद्धता नदेख्ने शासकहरुले झन्डा ओढाउन पाएनन् । जीवनमा यहाँलाई अवमूल्यन गरेर ढोंगी भाषण गर्ने अवसर कसैले पाएनन् । हामीलाई लाग्यो- यहाँको आत्मा शुद्ध र पवित्र रहेछ । यहाँमाथि मानवीय मृत्युमा राजनीति र ढोंग सिर्जना गर्ने वर्तमान विसङ्गतिको छाया पर्न पाएन । यहाँ विश्व महामारीका लाखौँमध्ये एक सहिद हुनुभयो । हमीले श्रद्धाको तोप उठायौँ । हामीले श्रद्धाको सलाम गर्यौँ । 

    यहाँका कलमका कामना अवश्यै यहाँकै जीवनमा पुग्ने छन्- हामीलाई आशा थियो । विश्वास पनि थियो । भरोशा पनि थियो ! यहाँकै महाकाव्यांशको भविष्यवाणी पूर्ण होला भन्ने । तर गुरु !  त्योपनि  पूर्ण हुन पाएन । यहाँले लेख्नुभएको थियो- 

    सए वर्ष आँखा स्वयम् देख्न पाऊन् 
    सए वर्षको जिन्दगी भोग्न पाऊन् 
    सए वर्ष वाग्मी बनी बोल्न पाऊन् 
    सए वर्ष नै रोग सारा न आऊन् ।। 

    (´आत्मनिर्माण’ महाकाव्य)

    यहाँले गरेको यो मानव जातिको स्वस्थ एवम् सुखद शतायुको पवित्र कामना अरूलाई पुगोस् । विडम्बना यही कामना यहाँका जीवनमा लागू हुन पाएन । यहाँको कामना अरु स्रष्टाका लागि लागू होस् । विश्व मानवका लागि लागू होस् । कविहरुले सय वर्षपछिका लागि लेख्छन् भन्छन् । यहाँको यो अभिव्यक्ति यो शताब्दी र आगामी शताब्दीका लागि लागू होस् । विश्वका मानवको आयु सरदर शतायु होस् । यहाँलाई कोरोनाले झुक्याए पनि अरूलाई नझुक्याओस् । अरूलाई क्षति गर्न नसकोस् । 

    यतिबेला बोध भयो गुरु ! कोही दिन मात्र आउँदा रहेछन् । कोही लिन मात्र आउँदा रहेछन् । यहाँ नेपाली समाजलाई दिन आउनु भएको रहेछ । धेरै दिनु भएको छ । यहाँका कृतिहरूमा यहाँ जीवित हुनुहुन्छ । कलमजीवी र शिष्य-शिष्याका मुटुमा हुनुहुन्छ । यहाँलाई केही दिन नसके पनि मन मिचेर श्रद्धाञ्जली । अश्रूपुरित श्रद्धाञ्जली । भावपूर्ण श्रद्धाञ्जली । 

    कोरोना संक्रमणबाट वरिष्ठ साहित्यकार सुवेदीको निधन कोरोना संक्रमणबाट वरिष्ठ साहित्यकार सुवेदीको निधन

    सम्बन्धित समाचार
    धेरै पढिएको

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology