Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

दैजीछेला औद्योगिक क्षेत्रको काम सुरू

दैजीछेला औद्योगिक क्षेत्रको काम सुरू

  • 325
    SHARES
  • दैजीछेला औद्योगिक क्षेत्रको काम सुरू

    कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिकास्थित दैजीछेला औद्योगिक क्षेत्र निर्माणको काम सुरु भएको छ ।

    अढाई दशकदेखि चर्चामा रहेको औद्योगिक क्षेत्र निर्माण स्थलका लागि रुख छपानको काम सुरु भएको नगरप्रमुख भोजराज बोहराले बताए ।

    ‘प्रस्तावित औद्योगिक क्षेत्र निमार्ण स्थलका लागि २५ हजार रुख छपानको काम सुरु भएको छ ।’ नगर प्रमुख बोहराले भने, ‘रुख छपान सकिएपछि निर्माणअघि बढ्छ यसका लागि सरकारले एक अर्ब बजेट विनियोजन गरिसकेको छ ।’

    औद्योगिक क्षेत्रको दुई वर्ष तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए । रुख छपानको काम सुरु भए पनि जग्गाको स्वामित्व हस्तान्तरण हुन बाँकी रहेको बालाजुस्थित औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले जनाएको छ ।

    ‘वन कार्यालयबाट रुख छपानको काम सुरु भएको छ । जग्गाको स्वामित्व हस्तान्तरण प्रक्रियामै छ ।’ लिमिटेडका सूचना अधिकारी प्रकाश खड्काले भने, ‘बजेट अपुग र ईआईलगायतको कामले निमार्णमा ढिलाइ भएको हो ।’

    खड्काले झन्झटिलो प्रक्रिया र सरकारको प्राथमिकतामा नपर्नुले पनि औद्योगिक क्षेत्र निमार्णको कामले गति लिन नसकेको बताए । औद्योगिक क्षेत्र स्थापनाका लागि वडा नं-२ स्थित जनचेतना सामुदायिक वन र वडा-३ स्थित वेदकोट सामुदायिक वनको नौ सय बिघा जमिन उपलब्ध गराउने घोषणा गरिएको थियो ।

    कञ्चनपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दिनेश मल्लले दैजीछेला औद्योगिक क्षेत्रको चर्चा धेरै भएकाले अब स्थापनामा ढिलाइ गर्न नहुने जानकारी दिए ।

    ‘महाकाली नदीमा बनेका चार लेनको पक्की पुल भारतको एसियन राजमार्गसँग जोडिए मात्रै औद्योगिक क्षेत्रले सार्थकता पाउँछ ।’ मल्ले भने ,‘औद्योगिक क्षेत्र र नाका भारतसँग जोड्न सरकारले प्राथमिकताका साथ काम गर्नुपर्छ ।’

    औद्योगिक क्षेत्रका लागि २०६६ सालमा जिल्ला वन कार्यालयले जग्गा उपलब्ध गराउने निर्णय गरेपछि जनचेतना सामुदायिक वन र वेदकोट सामुदायिक वनको नौ सय बिघा जमिन दिने निर्णय भएको थियो ।

    मन्त्रिपरिषदले पनि चार किल्लाभित्र औद्योगिक क्षेत्र स्थापना गर्ने निर्णय गरिसकेको छ । डिपिआर र ईआइएको कामसमेत सम्पन्न भइसकेको छ ।

    दैजीछेला औद्योगिक क्षेत्रभित्र खाद्य, वन तथा कृषि, धातु, प्लास्टिक, इञ्जिनीयरिङ र फेव्रिकेटिङ, मिनरल वाटर, कागज, सिमेन्ट, छडलगायत एक सय उद्योग स्थापना गर्न सकिने अध्ययन प्रतिवेदनमा उल्लेख छ । औद्योगिक क्षेत्र स्थापना भए यहाँका दुई हजार बढीले रोजगारी पाउने छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij