सप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिका-४ बेल्हीस्थित जनता आधारभूत विद्यालयको पठनपाठन दुई शिक्षकको भरमा हुँदै आएको छ । दुई शिक्षकले आठ कक्षासम्मका विद्यार्थीलाई पढाउँदै आएका छन् ।
नेपाल-भारत सीमा नजिक रहेको उक्त विद्यालय २०११ सालमा स्थापना गरिएको हो । विद्यालयमा दुई बालविकास सहयोगी तथा एक कार्यालय सहयोगी कार्यरत छन् ।
शिक्षक अभावले बालविकास कक्षाका साथै कक्षा १ र २ लाई एउटै ठाउँमा राखेर पढाउने गरिएको छ । यस्तै कक्षा ३, ४ र ५ तथा कक्षा ६, ७ र ८ का विद्यार्थीलाई एउटै ठाउँमा राखेर कक्षा सञ्चालन गर्नुपरिरहेको प्रधानाध्यापक नेतीलाल यादवले बताए ।
सो विद्यालयमा बालविकास कक्षामा ४० तथा कक्षा १ देखि ८ सम्म दुई सय ६९ विद्यार्थी अध्यनन्तर छन् । कक्षा ६ मा ४०, कक्षा सातमा ५७ तथा कक्षा आठमा ५४ विद्यार्थी अध्ययनरत रहेका प्रअ यादवले जानकारी दिए ।
‘डेढ सय विद्यार्थी एउटै ठाउँमा राखेर पठाउनु परिरहेको छ’, प्रअ यादवले भने, ‘यसरी कक्षा सञ्चालन गर्दा शिक्षक र विद्यार्थीलाई असहज हुने गरेको छ, यो बाहेक हामीसित अरु उपाय छैन ।’
विद्यालयमा निमावि राहततर्फ एउटा तथा प्राथमिक तहमा दुई स्थायी दरबन्दी खाली छ । विद्यालयको समस्याप्रति गाउँपालिका शिक्षा शाखा अनविज्ञ छ । शाखा प्रमुख दिनेशकुमार मण्डलले यसबारे विद्यालय, गाउँपालिका अध्यक्ष र वडाध्यक्षलाई जानकारी हुनसक्ने बताए ।
विद्यालयमा चार बजेसम्म पठनपाठन कमै हुने यहाँ अध्ययनरत विद्यार्थी बताउँछन् । ‘दुई बजेपछि विद्यालयमा खासै पढाइ हुँदैन, त्यत्तिक्कै बसेर के गर्नु ?’, कक्षा सातमा अध्ययनरत रञ्जना मण्डलले भनिन्, ‘सबै विषयको पढाइ कहिल्यै हुँदैन ।’
बालविकास कक्षा सहयोगी निलमकुमारी राम एउटै ठाउँमा धेरै विद्यार्थी राखेर पढाउँदा पठनपाठन प्रभावकारी नहुने बताउँछिन् । ‘शिक्षक अभावले तीन कक्षाका विद्यार्थी एउटै ठाउँमा राख्नुपर्ने बाध्यता छ, विद्यार्थीलाई सम्हाल्नै मुश्किल हुन्छ,’ उनले भनिन् ।
प्रअ यादवको पनि आफ्नै समस्या छन् । ‘विद्यालयकै कामले विभिन्न ठाउँमा जानुपर्ने हुन्छ, सधैं विद्यालयमा भइन्न’, प्रअ यादवले भन्ने । विद्यालय व्यवस्थापन समितिका सदस्य ओमप्रकाश यादवले दरबन्दी अनुसारको शिक्षक नआउँदासम्म समस्या भइरहने बताउँछन् ।
बलान बिहुल गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादव चाँडै दुई शिक्षक निजी स्राेतमा राखेर समस्या समाधान गरिने बताए । विद्यालयमा शिक्षक मात्र होइन फर्निचरको समेत अभाव छ ।
‘सबै विद्यार्थीलाई बस्न बेञ्चको अभाव छ’, प्रअ यादवले भने । विद्यालयसित रहेको सात कट्टठा जग्गा पनि अतिक्रमणको चपेटामा परेको छ । विद्यालयको घेरपर्खाल समेत छैन ।
प्रदेश सामाजिक विकास मन्त्रलयअन्तर्गतको सामाजिक विकास एकाइको सहयोगमा २५ लाखको लागतमा हालै दुईकोठे पक्की भवन निर्माण गरिएको छ । ५० लाखको लागतमा यहाँ चारकोठे भवन निर्माण गरिँदैछ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology