वेबटिभी खबर
बारा । जिल्ला प्रहरी कार्यालय बाराले विभिन्न आरोपमा दोषी ठहर भई फरार रहेका ३३२ जना फरार प्रतिवादीलाई एकैदिन पक्राउ गरि अदालतमा पेस गरेको छ ।
जिल्ला अदालतबाट फैसला कार्यान्वयनका क्रममा फरार सूचीमा रहेका उनीहरूलाई पक्राउ गरि कानुनी कारबाहीको दायरामा ल्याएको हो ।
फरार प्रतिवादी पक्राउ अभियानअन्तर्गत सोमबार मात्रै विभिन्न मुद्दाका ३३२ जना फरार पक्राउ गरिएको प्रहरीले जानएको हो ।
प्रतिवादीहरूलाई जिल्लाका विभिन्न ठाउँबाट पक्राउ गरि जिल्ला अदालत बारामा आवश्यक कारबाहीको लागि बुझाएको बाराका प्रहरी प्रवक्ता डीएसपी राजेश थापाले जानकारी दिए ।
अदालतबाट कैद तथा जरिवानाको फैसला सजाय भई कारबाहीको दायराबाट भाग्दै लुकीछिपी बस्दै आएका ठुलो संख्यामा फरार प्रतिवादीहरूलाई पक्राउ गरिएको हो ।
पक्राउ परेकामध्ये कलैया उपमहानगरपालिका वडा नं १ बस्ने विजय दासलाई अधिकतम ६ वर्ष ५ महिना १० दिन कैद सजाय र ७ लाख रूपैयाँ जरिवानासमेत तोकिएको छ । उनीलाई बैकिङ कसूर मुद्दामा जिल्ला अदालत बाराले आदेश गरेको हो ।
पचरौता नगरपालिका वडा नं २ बस्ने एजाजुल हक अन्सारीलाई हातहतियार खरखजाना मुद्दामा २ वर्ष ११ महिना ६ दिन कैद सजाय भएको छ । यो सजाय पाउनेमा जिल्लाको निजगढ नगरपालिका वडा नं १ बस्ने बासु चौधरी लगयात भएको डीएसपी थापाले जानकारी दिए ।
पक्राउ परेका मध्ये ३६ जनालाई थुनुमा राख्न पर्सा कारागार कार्यालय चलान गरिएको छ भने बाँकीलाई जरिवाना भुक्तान गराई मुक्त गरिएको उनले बताए ।
प्रतिवादी पक्राउ परी कारबाहीको दायरामा आएसँगै फैसला कार्यान्वयन गरि समाजमा सुरक्षाको अनुभुति दिलाउने, अपराध गरिसकेपछि कोही पनि तोकिएको सजाय, जरिवानाबाट मुक्त हुने छैन भन्ने सन्देश दिएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij