वेबटिभी खबर
जुम्ला । लगातार दुई दिन परेको हिमपात र वर्षाका कारण हिउँदे बालीनाली सप्रिने भएपछि जुम्लाका किसानहरू खुसी भएका छन् ।
मंगलबार र बुधबार परेको हिमपात र वर्षाका कारण हिउँदे बालीनाली तथा स्याउका बिरूवालाई राहत हुने भएपछि किसानहरू खुसी भएका हुन् । आकासे पानीको भरमा खेती गर्ने किसानलाई हिउँदे हिमपातले फाइदा गरेको कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेश अधिकारीले बताए ।
सिँचाइको अभावले हिउँदे बाली लगाउन समस्या भइरहेको समयमा परेको हिमपात र वर्षाले गहुँ, जौ र नयाँ स्याउका बिरूवा लगाउन सहज भएको स्थानीय बताउँछन् ।
समयमा पानी नपर्दा गहुँ, जौ तथा बेमौसमी तरकारीलगायतका बाली सुकेर किसानहरू चिन्तित भएका थिए । जुम्लालगायत माथिल्लो कर्णालीमा भएको भारी हिमपातका कारण हवाई सेवा बन्द हुदाँ यात्रुलाई सास्ती भएको थियो ।
जुम्ला विमानस्थलमा जमेको हिउँ बिहीबार बिहानदेखि नेपाली सेना, प्रहरी र सशस्त्र बले हिउँ पन्छाएपछि हवाई सेवा सञ्चालन भएको नागरिक उडान प्राधिकरण कार्यालय जुम्लाले जनाएको छ ।
जिल्लाको उच्च भेगमा करिब दुईदेखि तीन फिटसम्म हिउँ परेको हावापानी फिल्ड कार्यालय जुम्लाले जनाएको छ । बिहीबारदेखि मौसम सफा भएपछि विस्तारै जाडो कम हुँदै गएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij