काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजस्व संकलनका क्षेत्रमा देखिएका चुनौती समाधान गर्न र राजस्व चुहावट नियन्त्रणका लागि क्रमभंग गर्न राजस्व प्रशासनका अधिकारीहरूलाई निर्देशन दिएका छन् ।
बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार राजस्वको अवस्था र चुहावट नियन्त्रण सम्बन्धि छलफलमा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताए ।
प्रधानमन्त्रीले भने, ‘अर्थतन्त्रको समग्र स्थिति हेर्दा अधिकांश सूचकहरू सकारात्मक हुँदै गएको देखियो । गत पुसदेखि अर्थतन्त्रमा क्रमशः सुधार आएको देखियो । तर, यसको अर्थ नेपाली अर्थतन्त्र संकटमुक्त भइसक्यो भन्ने होइन । राजस्व संकलनमा अहिले पनि केही समस्याहरू छन् । राजस्वको दायरा बढाउने र चुहावट नियन्त्रणको कार्यलाई एकैसाथ अगाडि बढाउन जरूरी छ ।’
‘नीतिगत सुधारको प्रयत्नबाट यी कामहरू अगाडि बढाउन सकिन्छ । चुहावट नियन्त्रणका लागि राजस्व प्रशासनलाई सुदृढ र समन्वयात्मक बनाउनुपर्छ । यसमा हामीले विशेष जोड दिन आवश्यक छ’ प्रधानमन्त्रीले भने ।
प्रधानमन्त्रीले थप भने, ‘चुहावट भन्सारमा मात्र छैन, राजस्व संकलनका अन्य क्षेत्रमा पनि यो समस्या छ । यसको दायरा बढाउनुको अर्थ यसको प्रभावकारिता बढाउनु पनि हो । समन्वयात्मक ढंगले अगाडि बढ्दा परिस्थिति बदल्न सकिन्छ ।’
‘मैले राजनीतिमा पनि भन्दै आएको छु निरन्तरतामा क्रमभंगता । निरन्तर गइरहेको परिस्थिति क्रमभंग गरिदिएपछि त्यहाँ गति आउँछ, त्यसले नतिजा दिन्छ । राजस्व चुहावट नियन्त्रणका निम्ति पनि यो तरीका प्रभावकारी हुन सक्छ’, प्रधानमन्त्रीले भने ।
‘राजस्व प्रशासन र नियन्त्रणमा काम गरिरहेका कर्मचारी र सुरक्षाकर्मीले उच्च मनोबल र असल आचरणका साथ काम गर्नुपर्छ’ प्रधानमन्त्रीले भने, ‘प्रविधिको प्रयोग ठीक ढंगले नगरिकन चोरी नियन्त्रण र सुरक्षा प्रबन्ध पनि प्रभावकारी हुन सक्दैन । प्रविधिमैत्री अनुसन्धान र नियन्त्रणको काम जरूरी छ ।’
‘राजस्व छली गर्ने ठूलो शक्तिलाई नछुने तर सानालाई मात्र छुन्छन् भन्ने आम गुनासो छ । तसर्थ, अर्थतन्त्रलाई नकारात्मक प्रभाव पार्ने ठूलालाई नियमन र नियन्त्रण गर्न विशेष जोड लगाउनुपर्छ । ठूला बदमासीहरू नियन्त्रण गरेपछि साना बदमासीहरू क्रमशः न्यूनिकरण हुन्छन् । तपाईंहरूले देश र अर्थतन्त्रको हितमा कदम चाल्नुस् । राज्य निरिह छैन, गलत काम गर्ने कसैलाई पनि छोड्दैन भन्ने प्रष्ट दिनुस्’ निर्देशित गर्दै प्रधानमन्त्रीले भने ।
बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले राजस्व संकलन र चुहावटका क्षेत्रमा हुनसक्ने सम्भावित मिलेमतोलाई चेन ब्रेक गर्ने गरी कार्यविभाजन गर्न निर्देशन दिइसकेको जानकारी दिए । सो क्रममा मितव्ययिता र खर्च कटौतीको विषयलाई गम्भीरतापूर्वक लिएर सोहीअनुरूप कार्ययोजना र कार्यान्वयनमा लैजान आफूले मेहेनत गरिरहेको मन्त्री पौडेलले बताए ।
बैठकमा राजस्वसँग सम्बन्धित सरकारी निकायका प्रमुखहरूले देशको अर्थतन्त्रको आजको अवस्था, अर्थतन्त्रका चुनौतीहरू, राजस्व संकलनको अवस्था, राजस्व चुहावट नियन्त्रणमा सरकारले चाल्नुपर्ने कदम र आगामी कार्ययोजनाबारे प्रस्तुति राखेका थिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology