Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

काठमाडौंमा पानी : चुहावट भएको हप्तौँसम्म हुँदैन मर्मत, धारामा हावामात्र

काठमाडौंमा पानी : चुहावट भएको हप्तौँसम्म हुँदैन मर्मत, धारामा हावामात्र

  • 231
    SHARES
  • काठमाडौंमा पानी : चुहावट भएको हप्तौँसम्म हुँदैन मर्मत, धारामा हावामात्र

    काठमाडौं । काठमाडौं महानगरपालिका–२७ स्थित जमल क्षेत्रमा हप्तौँदेखि चुहावट भइरहेको खानेपानीको पाइप मर्मत हुन सकेको छैन ।

    images

    सडकमा चुहावट भएको खानेपानीको पाइप मर्मत नहुँदा राजधानीको मुख्य शहरी क्षेत्रमा बसोबस गर्नेले भने पिउनसमेत पानी पाएका छैनन् ।

    जमलको नेपाल चेम्बर अफ कमर्स र नबिल बैंकअघि पाइप फुटेर पानी बगिरहेको छ तर सरोकार भएका निकायले बनाउन ध्यान नदिएको महानगरपालिका–२७ का अध्यक्ष गोगेशकुमार खड्गीले जानकारी दिए ।

    मेलम्चीको पानी तेस्रोपटक राजधानी आएको दुई महिना पूरा भए पनि काठमाडौंवासी भने धारामा हावामात्र आउने गरेको गुनासो गर्छन् ।

    खानेपानीको पाइप ठाउँठाउँमा चुहावट भएका कारण पनि राजधानीवासीको घरको धारामा पानी पुग्न सकेको छैन । खानेपानी समस्याका बारेमा काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) लाई जति पटक भने पनि समस्या समाधान नभएको वडा अध्यक्ष खड्गीको गुनासो छ ।

    वडाको भम्लुटोल र त्यौडस्थित तरकारी बजार चोकमा पानी नआउने गरेको उनले सुनाए । राजधानीको मुख्य सहर महाँकालचौर शाखाको पानी आउने अन्तिम बिन्दु हो । अन्तिम बिन्दु भएकाले पनि यहाँ पानी आइपुग्न गाह्रो छ ।

    विगतमा महाराजगञ्ज शाखाबाट पनि मुख्य शहरी क्षेत्रमा पानीको पाइप ल्याइएको थियो । डेढ दशकअघिदेखि महाराजगञ्ज शाखाको पाइपबाट पानी बन्द गरिएको छ ।

    दुईतिरबाट पानी छोड्दा दबाबले पानी आउने गरे पनि महाराजगञ्जको पानी बन्द गरेपछि खानेपानीको समस्या भोग्न मुख्य शहरी क्षेत्रका स्थानीयवासी बाध्य छन् ।

    महाँकालचौर शाखाको ट्याङ्कीमा सात फिटभन्दा माथि पानी भए मुख्य सहरी क्षेत्रमा पानी आउँछ । सात फिटभन्दा तल पानी भएका बेला पानी खोले यस क्षेत्रमा पानी आउँदैन ।

    सानो गौचरणको सरकारी धारामा पनि सात फिटभन्दा तल पानी हुँदा पानी झर्दैन । सानो गौचरणको सरकारी धारामा पानी आएपछि मुख्य शहरी क्षेत्रमा पानी पुगेको मान्नुपर्ने मानक पहिलेदेखि नै निर्धारण भएको छ ।

    मुख्य सहरी क्षेत्रस्थित रत्नपार्क र विष्णुमती नदी किनारको दमैचाघाट क्षेत्रमा डिप ट्युववेल खनेको छ । यहाँबाट आएको पानी पिउनयोग्य छैन । महानगरपालिका–१९ का अध्यक्ष राजेशकुमार श्रेष्ठ ट्युववेलको पानी पिउन योग्य छैन भनी विज्ञहरूले सुझाव दिएको बताउँछन् ।

    यसका लागि केयुकेएलले लाखौँ बजेट खर्च गरेको छ तर यो पानी फिल्टर प्लान्ट राखेर प्रशोधन नगर्दा घरायसी प्रयोजनका लागि मात्र प्रयोग भइरहेको छ ।

    दमैचाघाटको पानी घरायसी प्रयोग गरेमा क्यान्सर लाग्छ भन्ने विज्ञको सुझावलाई लत्याउँदै अहिले त्यसैको प्रयोग भइरहेको वडा नं १९ का सदस्य चन्द्रमान डङ्गोलले बताए ।

    खानेपानी र डिप ट्युववेलबाट निकालिएको पानी एउटै पाइपबाट हालिँदा मिसिएर स्वास्थ्यमा समस्या हुने गरेको गुनासो पनि उनले गरे ।

  • सम्बन्धित विषय:

  • # खानेपानी

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology