वेबटिभी खबर
नवलपरासी । पूर्वी नवलपरासीको नवलपुरमा पर्ने पूर्वपश्चिम राजमार्गसँग जोडिएका सामुदायिक वनमा संरक्षण पोखरी निर्माण गरिएको छ । नारायणगढ-बुटवल सडक विस्तार आयोजनाअन्तर्गत राजमार्ग छेउका वनमा पोखरी निर्माणका लागि बजेट उपलब्ध गराइएको हो ।
सडक विस्तारका क्रममा रूख कटान गरिएका सामुदायिक वनलाई क्षतिपूर्तिस्वरूप जैविक विविधता संरक्षण गर्न बजेट प्रदान गरिएको हो । डिभिजन वन कार्यालय नवलपुरका सूचना अधिकारी हरिप्रसाद गौतमका अनुसार राजमार्गसँग जोडिएका २७ सामुदायिक वनलाई जैविक विविधता संरक्षण गर्ने योजना पेस गर्न भनिएको थियो ।
आयोजनले सुरुमै रूख कटान गर्दा कुन-कुन क्षेत्रमा असर गर्छ भन्ने अध्ययन गरेको थियो ।
उनले भने, ‘अध्ययनले वन्यजन्तु र वातावरणमा असर पर्ने देखायो । यसलाई मध्यनजर गरि जैविक विविधता संरक्षणअन्तर्गत वातावरणमैत्री, वन्यजन्तुमैत्री कार्य गर्न सामुदायिक वनसँग योजना माग्यौँ, धेरैले संरक्षण पोखरी निर्माणको योजना पेस गर्नुभयो । सोही कार्य अहिले भएको हो ।’
राजमार्गमा पर्ने २७ सामुदायिक वनमध्ये २६ सामुदायिक वनले संरक्षण पोखरी निर्माण र एउटा सामुदायिक वनले मेसवालसहितको तारजाली लगाउने योजना पेस गरेका थिए । सोहीअनुसार प्रत्येक सामुदायिक वनलाई तीन लाख प्रदान गरिएको सूचना अधिकारी गौतमले जानकारी दिए ।
सात सामुदायिक वनले पोखरी निर्माण सम्पन्न गरिसकेका छन् । मेसवालसहितको तारजाली लगाउने कार्य पनि सकिएको छ । बाँकी रहेका १९ वटा सामुदायिक वनमा संरक्षण पोखरी निर्माण कार्य भइरहेको उनले बताए ।
बाँकी रहेका सबैले दुई महिनाभित्र निर्माण सम्पन्न गरिसक्ने उनको भनाइ छ । उनले भने, ‘पोखरी निर्माण गर्ने योजनाअनुसार केही निर्माण सम्पन्न भएका छन् । कतिपय वनमा पोखरी निर्माणको अवस्थामा रहेका छन् ।’
नारायणगढ-बुटवल सडक विस्तार आयोजनाका क्रममा वन क्षेत्रमा वन्यजन्तु वारपारका लागि जैविक मार्गसमेत निर्माण हुने आयोजनाले जनाएको छ । पानी निकासका लागि बनाइएका कल्भट तथा पुललाई वन्यजन्तु वारपार गर्न सक्ने गरि निर्माण गरिने आयोजनाले जनाएको छ ।
नारायणगढ-बुटवल सडक विस्तार आयोजनाका क्रममा करिब ३६ हजार रूख कटान गरिएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij