Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

सुदूरपश्चिम प्रदेशमा बर्सेनि सवारी दुर्घटना बढ्दै

सुदूरपश्चिम प्रदेशमा बर्सेनि सवारी दुर्घटना बढ्दै

  • 233
    SHARES
  • सुदूरपश्चिम प्रदेशमा बर्सेनि सवारी दुर्घटना बढ्दै

    बैतडी । सुदूरपश्चिम प्रदेशमा बर्सेनि सवारी दुर्घटना बढ्दै गएको छ । यसबाट ठूलो जनधनको क्षति हुने गरेको छ ।

    images

    ट्राफिक प्रहरीले आफ्नो सक्रियता बढाएको भनी दाबी गरे पनि प्रदेशका नौवटै जिल्लामा सवारी दुर्घटनामा भने कमी आउन सकेको छैन ।

    गत तीन वर्षयता यहाँ एक हजार दुई सय ४६ सवारी दुर्घटना भएकाे सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । दुर्घटनामा परेर ज्यान गुमाउनेको संख्या पनि बढेको देखिएको छ ।

    उक्त सवारी दुर्घटनामा परेर पाँच सय तीनको ज्यान गएको प्रदेश ट्राफिक प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ । सवारी दुर्घटनामा सबैभन्दा बढी मोटरसाइकल छन।

    चालु आर्थिक वर्षको आठ महिनामा मात्रै एक सय ८७ सवारी दुर्घटना भएकामा एक सय २१ जनाले ज्यान गुमाएका छन । यो आवमा एक सय ४६ गम्भीर र एक सय ५७ सामान्य गरी तीन सय तीन जना घाइते भएका छन ।

    यस्तै गत आव २०७८/७९ मा पाँच सय एक सवारी दुर्घटनामा एक सय ९६ जनाले ज्यान गुमाएका छन । आव २०७७/७८ मा पाँच सय ५८ सवारी दुर्घटनामा एक सय ८६ जनाको मृत्यु भएको छ । यी दुई वर्षमा पनि सवारी दुर्घटनामा परेर सयौँ जना अंगभंग भएका छन ।

    दुर्घटनाका मुख्य कारण ट्राफिक नियमको उल्लंघन नै देखिएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक नेत्रमणि गिरीले  बताए ।

    प्रहरी उपरीक्षक गिरीले भने, ‘सवारी दुर्घटना हुने मुख्य कारण ट्राफिक नियमको पालना नगर्नु नै हो, सबैले सवारी चालकले ट्राफिक नियमको पालना गर्ने हो भने दुर्घटना निकै कम हुने देखिन्छ ।’

    सवारीसाधनको चाप बढ्दै जानु, यात्रु र चालक दुवैको लापरवाही र सडकको अवस्थाका कारण बर्सेनि सवारी दुर्घटना बढ्दै गइरहेका छन ।

    मोटरसाइकल चलाउँदा हेलमेट प्रयोग नगर्नु, ग्रामीण क्षेत्रमा पनि सवारीसाधनको गति कम नहुनु, सडकमा सवारीको चाप बढ्दै जानु, सडक पुराना र साँघुरो हुनु र सवारीचालक तथा सवारीधनीले प्रहरीलाई छलेर भएपनि क्षमताभन्दा बढी भार बोक्नुलगायतले सवारी दुर्घटना बढ्दै गएको ट्राफिक प्रहरीले जनाएको छ ।

    मादक पदार्थ सेवन, मोबाइल प्रयोग गरेर सवारी चलाउनु, यात्रु बोक्ने साधनमा सवारीचालक र सवारीधनीले जनावरदेखि खाद्यान्नसम्म बोकेर ग्रामीण क्षेत्रमा गाडी चलाउने र त्यसतर्फ प्रहरीको ध्यान कम जाँदा बढी दुर्घटना भइरहेको छ ।

    यस्तै सवारीका कारण हुने दुर्घटनामा सवारीसाधनमा आउने यान्त्रिक गडबडी, ओभरलोड, ब्रेकफेल, टायर पन्चर, सवारीको बत्ती पनि कारण छन । जस्तै चढ्दा र ओर्लँदा ख्याल नगर्दा, झुन्डिएर तथा छतमा यात्रा गर्दा र बाटो काट्दा होस नपुर्‍याएर पनि दुर्घटना भएका छन ।

    सडकका कारण हुने दुर्घटनामा भने खाल्डाखुल्डी, साँघुरो बाटो, बाटोमा हुने निर्माण सामग्री, उकालो-ओरालो, घुम्ती र मोड, ढल, जीर्ण सडकलगायत छन । यस्तै हुस्सु, कुहिरो, बाढी-पहिरो र हावाहुरीका कारण पनि दुर्घटना भएको पाइएको  ट्राफिक प्रहरीले जनाएको छ।

    दुर्घटना न्यूनीकरणका लागि विभिन्न प्रयास भइरहेका छन । सवारी दुर्घटना न्यूनीकरणका लागि प्रहरीले छड्के जाँच, टाइमकार्डदेखि ‘रिफ्रेस रेन्टर’को अभ्यास भइरहेको प्रमुख गिरीको भनाइ छ ।

    दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले विद्यालयस्तरमा जनचेतनामूलक कार्यक्रम र यातायात व्यवसायी र चालकलाई बेला-बेलामा सचेत गराउने कार्य गरेको छ ।

    प्रमुख गिरीले भने, ‘नियमित जाँचसँगै जनचेतनामूलक सन्देश दिँदै आएका छौँ, प्रदेशभरि दुई सय बढी सचेतनामूलक होर्डिङ बोर्ड राखेका छौँ, चालकसँग एक मिनेट कार्यक्रम सञ्चालनमा छ ।’  

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology