Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

कोशी प्रदेशका किसानलाई दूधमा अनुदान दिन बजेट विनियोजन

कोशी प्रदेशका किसानलाई दूधमा अनुदान दिन बजेट विनियोजन

  • 379
    SHARES
  • कोशी प्रदेशका किसानलाई दूधमा अनुदान दिन बजेट विनियोजन

    झापा । कोशी प्रदेशमा दूध उत्पादन गर्ने छ जिल्लाका किसानलाई प्रदेश सरकारले प्रतिलिटर दुईका दरले अनुदान दिने भएको छ ।

    ग्रामीण क्षेत्रमा गाईपालन गरेर दूध उत्पादन गर्दै आएका किसानलाई प्रोत्साहन र उत्पादन वृद्धिका लागि प्रदेश सरकारले चालू आर्थिक वर्षमा १२ करोड ५० लाख रकम अनुदानका लागि विनियोजन गरेको हाे ।

    प्रदेशका झापा, मोरङ, सुनसरी, तेह्रथुम, धनकुटा र इलामका चिस्यान केन्द्र, डेरी तथा सहकारीका माध्यमबाट किसानलाई अनुदान दिइने पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय कोशीका सूचना अधिकारी डा.विनोद साहले बताए ।

    ‘यो कार्यक्रम प्रदेशमा पहिलो पटक लागू भएपनि निकै उपयोगी हुनेमा आशावादी छौँ’, सूचना अधिकारी साहले भने ।

    जिल्लाका भेटेरिनरी अस्पतालबाट सूचना नै जारी गरेर दूध संकलन गर्ने संस्थासँग आवेदन माग गरेको र आवेदनबाट छनोटमा परेका संस्थामार्फत किसानको तथ्यांक संकलन गरेर उनीहरूको अनुदान रकम वितरण गरिने उनले जानकारी दिए ।

    झापा र इलाममा अनुदान वितरणका लागि १८ डेरी र सहकारी छनोट भइसकेका छन । तिनीहरूले दूध उत्पादन गरिरहेका किसानको लगत संकलन गरेर प्रतिलिटर दुईका दरले अनुदान वितरण गरिने छ ।

    उत्पादनका आधारमा किसानलाई अनुदान दिँदा साना किसान बढी लाभान्वित हुने साहकाे भनाइ छ । अनुदानले किसानलाई प्रोत्साहन हुने र दूध उत्पादनमा वृद्धि गर्ने सरकारको मुख्य लक्ष्य रहेको छ ।

    ‘प्रदेशलाई दूधमा आत्मनिर्भर बनाउन यो कार्यक्रम अघि सारिएको हो’, डा.साहले भने, ‘अनुदानको कार्यक्रमले कृषक आकर्षित हुन्छन् र दूध उत्पादन वृद्धिमा मन लगाएर लाग्छन्।

    भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पशुपक्षी तथा मत्स्य विकास अधिकृत शीतल भट्टराईले झापा र इलामका ५७ संस्थाले किसानलाई अनुदान रकम वितरणका लागि कार्यालयमा आवेदन दिएको बताइन् ।

    उनले दूध संकलन गर्ने संस्थाबाट आएको आवेदनका आधारमा छनोट गरी किसानको तथ्यांक र दूधको परिणामको विवरण लिई रकम वितरण गरिने जानकारी दिइन् ।

    उनका अनुसार छ/छ महिनामा किसानलाई रकम वितरण गर्ने भनिए पनि विवरण आइनसकेका कारण रकम वितरण हुन नसकेको हाे । ‘सबै विवरण आउन बाँकी छ, विवरण आइसकेपछि जनप्रतिनिधिसहितको रोहबरमा रकम वितरण गर्छौं,’ उनले भनिन् ।

    झापा र इलामका दूध किसानलाई प्रतिलिटरमा दुई अनुदान दिने गरी प्रदेश सरकारले छ करोड ५० लाख रकम विनियोजन गरेको छ । त्यसमध्ये झापामा तीन करोड ७५ लाख र इलाममा दुई करोड ७५ लाख रकम अनुदानका लागि विनियोजन भएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij