वेबटिभी खबर
बाग्लुङ । बाग्लुङका स्थानीय तहले विनियोजन गरेको बजेट कार्यान्वयनमा उपभोक्ता समिति नहुँदा कठिनाइ भएको छ ।
गाउँमा उपभोक्ता समितिमा बसेर काम गर्ने युवा जनशक्ति अभावका कारण समिति गठन हुन नसक्दा समितिमार्फत सम्पन्न गर्नुपर्ने योजनाहरू कार्यान्वयनका लागि कठिनाइ भएको हो ।
काठेखोला गाउँपालिका-६ वडा कार्यालयले प्रजातन्त्रदय प्राविमा शौचालय निर्माण र अमृतपानी आधारभूत विद्यालयमा शौचालय, सुरक्षा पर्खाल, खानेपानीलगायत योजना निर्माणका लागि बजेट विनियोजन गरेको छ ।
वडा कार्यालयले वर्षायाम सुरु हुनुअघि नै योजना सम्पन्न गर्ने लक्ष्य राखे पनि दुवै विद्यालयमा उपभोक्ता समिति गठन नहुँदा निर्माण अघि बढ्न सकेको छैन ।
उपभोक्ता समितिमा बस्ने जनशक्तिको अभावका कारण दुवै विद्यालयका योजना अघि बढ्न नसकेको वडाध्यक्ष बृहस्पति शर्माले बताए । एउटा योजनामा सात जना समिति र तीन जना अनुगमन समिति गरी १० जना उपभोक्ता आवश्यक पर्दछ ।
‘एउटा योजनामा बसेको उपभोक्ता उक्त योजना सम्पन्न नभएसम्म अर्कोसमितिमा बस्न नपाउने प्रावधानका कारण उपभोक्ता समिति गठन गर्न कठिनाइ भइरहेको छ’, वडाध्यक्ष शर्माले भने ।
समितिमा बस्न योग्य अधिकांश युवा अन्य योजनामा बसेका र उमेर पुगेका स्थानीय बजार केन्द्रीत हुँदा जनशक्ति अभाव भएको अध्यक्ष शर्माको भनाइ छ । ‘उपभोक्ताको संख्या पुर्याउन कठिन छ’,वडाध्यक्ष शर्माले भने, ‘उपभोक्ताको भेला, बैठक राखेर काम गर्न गाउँमा मान्छे छैनन् ।’
वडा कार्यालयले यो आर्थिक वर्षमा साना ठूला गरी वडाभित्र ४९ योजना तयार गरेको छ । वडा, गाउँपालिका, प्रदेश र संघीय सरकारका अधिकांश कार्यक्रम उपभोक्ता समितिमार्फत गर्नुपर्ने प्रकृतिका छन ।
शिक्षक, कर्मचारी र राजनीतिक दलमा आवद्ध पदाधिकारीउपभोक्ता समितिमा बस्न पाउँदैनन् । अध्यक्ष शर्माले भने, ‘गाउँमा कि बालबालिका, कि ज्येष्ठ नागरिक धेरै छन्, काम गर्ने उमेर समूहका व्यक्ति पाउन मुस्किल छ ।’
वडा-५ का वडाध्यक्ष ज्ञामनाथ कँडेलले समितिमा बसेर काम गर्दा प्राविधिक ज्ञान आवश्यक पर्ने तथा व्यक्तिगत खर्च हुने भएकाले उपभोक्ताले दायित्व बोक्न नचाहने प्रवृत्ति बढेको बताए ।
अध्यक्ष, सचिव र कोषाध्यक्षबाहेक अन्य सदस्यलाई उपभोक्ता समिति दोहोरिँदा समस्या नआउने गरी व्यवस्थापन गर्नुपर्ने उनको भनाइ छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij