Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

सुदूरपश्चिममा २२ लाखले लगाए कोरोनाविरूद्धको पूर्ण खोप

सुदूरपश्चिममा २२ लाखले लगाए कोरोनाविरूद्धको पूर्ण खोप

  • 259
    SHARES
  • सुदूरपश्चिममा २२ लाखले लगाए कोरोनाविरूद्धको पूर्ण खोप

    बैतडी । बैतडीसहित सुदूरपश्चिम प्रदेशमा हालसम्म २२ लाख बढीले कोरोना भाइरसविरूद्धको पूर्ण खोप लगाएका छन ।

    प्रदेशका नौवटै जिल्लामा गरी हालसम्म पूर्ण मात्रा लगाउनेको संख्या कूल २२ लाख ३३ हजार आठ सय ३१ रहेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

    पूर्ण मात्रा लगाउनेमा सबैभन्दा बढी कैलालीका सात लाख ३२ हजार सात सय ८९ जना छन । सबैभन्दा कम दार्चुलामा एक लाख १४ हजार ६ सय २८ ले कोरोनाविरूद्धको पूर्ण खोप लगाएका सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड-१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए ।

    यस्तै कञ्चनपुरमा चार लाख ३९ हजार एक सय ६८, बैतडीमा दुई लाख ११ हजार छ सय ५२, अछाममा एक लाख ८३ हजार छ सय दुई, डोटीमा एक लाख ६१ हजार एक सय ३८, बझाङमा एक लाख ३७ हजार छ सय ११, डडेल्धुरामा एक लाख २७ हजार सात सय २५ र बाजुरामा एक लाख २५ हजार चार सय ६८ जनाले कोरोनाविरूद्धको पूर्ण खोप लगाएका छन ।

    प्रदेशमा हालसम्म कोरोना भाइरसविरूद्धको तेस्रो तथा बुस्टर डोजको पहिलो मात्रा लगाउनेको संख्या भने दश लाख १५ हजार ३७ रहेको छ । प्रदेशमा कोरोना भाइरसविरूद्धको चौथो तथा बुस्टर डोजको दोस्रो मात्रा लगाउनेको संख्या भने २९ हजार आठ सय ५६ रहेको निर्देशनालयले जनाएको छ ।

    बैतडीमा भने एक जनाले पनि कोरोना भाइरसविरूद्धको चौथो तथा बुस्टर डोजको दोस्रो  मात्रा नलगाएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी विपिन लेखकले बताए ।

    जिल्लामा केही दिनमै चौथो मात्रा दिइने अभियान सञ्चालन गरिने लेखकको भनाइ छ । सुदूरपश्चिममा कोभिसिल्ड, अस्ट्राजेनेका, भेरोसेल, जोन्सन एन्ड जोन्सन, फाइजर, मोडर्ना खोप लगाइएको हो ।

    प्रदेशमा हाल पनि कोरोनाविरूद्धको खोप लगाउने अभियन जारी रहेकाले खोप लगाउन बाँकी सबैलाई खोप लगाउन आग्रह गरिएको छ । सुदूरपश्चिममा २०७७ माघ १४ गतेदेखि कोरोना भाइरसविरूद्धको अभियान सुरु गरिएको थियो ।

    प्रदेशसमा हालसम्म ६ लाख ४६ हजार सात सय तीन जनाको कोरोना परीक्षण गरिएको छ जसमध्ये ६१ हजार नौ सय ५५ जनामा संक्रमण भइसकेको छ । संक्रमणकै कारण यस प्रदेशमा छ सय ३५ जनाको ज्यान गइसकेको छ ।

    भारतसँग सीमा जोडिएको यस प्रदेशमा दैनिक कोरोना संक्रमण बढ्दै छ । संक्रमण देखिने अधिकांश भारतबाट फर्किएका यहाँ जोखिम बढ्दै गएको छ ।

    प्रदेशका सबै सीमा नाकाहरूमा हेल्थ डेस्क स्थापना गरिएको र अनिवार्य कोरोना परीक्षण गराएर मात्रै भित्रिन दिइएको छ । संक्रमणको जोखिम बढ्दै गएकाले जनस्वास्थ्यका मापदण्ड अनिवार्यरूपमा पालना गर्न निर्देशनालयले आग्रह गरेको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij