काठमाडाैं । सरकारले आगामी असार १ गतेबाट विद्यालयस्तरीय कक्षा सञ्चालन गर्ने भएको छ । आइतबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले मन्त्रालयका उच्चपदस्थ अधिकारीहरुसँग छलफल गर्दै वैकल्पिक विधि प्रयोग गरेर कक्षा सञ्चालन गर्न निर्देशन दिएका थिए ।
शैक्षिक सत्र सञ्चालन र व्यवस्थापन गर्न स्थानीय तहलाई सम्पूर्ण अधिकार रहेकोले वैकल्पिक सिकाइ कार्यविधि कार्यान्वयन गरी कक्षा सञ्चालन गर्न सकिने मन्त्री श्रेष्ठकाे निर्देशन छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता तथा सहसचिव दिपक शर्माले विद्यार्थीको सिकाइलाई रोक्न नहुने भएकोले भौतिक रुपमा पठन-पाठन गर्न सम्भव नभए पनि वैकल्पिक माध्यमबाट सिकाइलाई निरन्तरता दिन शैक्षिक सत्र सुरु गर्न लागेको उनले बताए ।
विद्यार्थी जो जहाँ छन् त्यहाँ बसेर आफ्नो सिकाइलाई निरन्तरता दिन सकिने गरी वैकल्पिक विधि अपनाएर विद्यालय सञ्चालन गर्न सकिने मन्त्रालयकाे निष्कर्ष छ ।
विद्यार्थीको परीक्षा मूल्यांकन गर्ने विभिन्न विधि प्रक्रिया अपनाउन स्थानीय सरकार र विद्यालय स्वयंले निर्णय गर्न सक्ने पनि प्रवक्ता शर्माले बताए । पाठ्यपुस्तक अघिल्लो वर्षको जस्तै विद्यार्थीको घरघरमा उपलब्ध गराउने गरि ब्यवस्था मिलाउने प्रवक्ता शर्माको भनाइ छ ।
कोरोना जोखिम कम भएका कतिपय स्थानीय तहले विद्यालय सञ्चालन गरिरहेका छन् । तर, काठमाडौं उपत्यकालगायत देशमा ठूला सहरमा कोरोनाकाे उच्च जोखिम रहे पनि शिक्षा मन्त्रीले भने विद्यालय खुलाउन निर्देशन दिएका छन् । यस अघि नै वीरगन्ज महानगरपालिकाले असार १ गतेबाट विद्यालय सञ्चालन गर्न नगरभित्रका विद्यालयहरूलाई पत्राचार गरेको छ ।
काेराेना जोखिम कायमै रहेकाले यथास्थितिमा विद्यालय सञ्चालन गर्न नहुने शिक्षा सरोकारवालाहरूले सुझाव दिएका छन् । तर उनीहरूको सुझाव नमानी शिक्षामन्त्री भने विद्यालय सञ्चालन गर्नै पर्ने अडानमा छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology