Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

तुवाँलोको मारमा पर्यटन

तुवाँलोको मारमा पर्यटन

  • 322
    SHARES
  • तुवाँलोको मारमा पर्यटन

    पाेखरा । कास्कीमा तुवाँलो लाग्न थालेको एक साताभन्दा बढी भयो । यसले गर्दा यहाँबाट देखिने हिमशृङ्खला राम्रोसँग नदेखिएको त्यति नै समय भयो । यस क्षेत्रमा घुम्न आउने पर्यटकको रोजाइ हिमालको दृश्य नजिकबाट नियाल्नु पनि हो तर, नयाँ वर्षदेखि यहाँका डाँडा तुवाँलोेले डम्मै छेकेको छ । यही कारण पर्यटकको आवागमनमा समस्या भएको छ ।

    images

    नयाँ वर्षमा पर्यटकीय गाउँ घान्द्रुक घुम्न पुगेकी चितवनकी पवित्रा सापकोटाले हिमाल देख्न नपाएको गुनासो गरिन् । रमणीय गाउँबाट हिमाल हेर्न नपाउँदा खल्लो महसुस भएको उनको भनाइ थियो । ‘चितवनबाट जे सोचेर घान्द्रुक घुम्न आयौं । त्योभन्दा राम्रो लाग्यो’ , पवित्राले भने, ‘तर, यहाँबाट हिमाल नजिकै देखिन्छ भन्ने सुनेका थियौँ । हुस्सुले गर्दा हिमालको दर्शन नै पाइएन । अलि खल्लो मससुस भयो ।’

    घान्द्रुकका होटल व्यवसायी किसम गुरुङ पनि पाहुनालाई हिमाल देखाउँन नपाउँदा नरमाइलो लागेको बताउँछन् । घान्द्रुकबाट हिमालको स्पर्श नजिकबाट लिन पाउनु यहाँको विशेषता भए पनि नयाँ वर्षयता घान्द्रुक पुगेका पर्यटक त्यसै फर्कनुपरेको उनले बताए । ‘घान्द्रुक सौन्दर्य र संस्कृतिमा धनी छ । यसैका लागि धेरै पर्यटक यहाँ आउनुहुन्छ’, गुरुङले भने,‘तर, नयाँ वर्षमा घुम्न आउनुहुने पाहुना हिमाल नहेरी फर्कनुभएको छ ।’

    केही दिनदेखि लागेको कुहिरोका कारण घान्द्रुक पुग्ने पर्यटक कम भएको घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङले जानकारी दिए । घान्द्रुकमा नयाँ वर्षको दिन दुई हजार एक सय पर्यटक पुगेको उनले बताए । अहिले त्यो सङ्ख्या घटेर दैनिक तीन सयमा झरेको छ ।

    कुहिरोको प्रभाव पोखरामा पनि परेको छ । कोरोनापछि थला परेको पर्यटन क्षेत्रमा नयाँ वर्षले केही आशा जगाए पनि कुहिरोले मारमा पारेको छ । चैतको अन्तिम साता लेकसाइड क्षेत्रको होटलको ‘अकुपेन्सी’ ९० प्रतिशतको हाराहारीमा रहेको होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । तर, त्यो घटेर ३० प्रतिशतमा झरेको अध्यक्ष सुवेदीको भनाइ छ । तुवाँलोका कारण पर्यटन क्षेत्रमा निकै नोक्सान खेप्नुपरेको उनले बताए ।

    पाहुना आउने अपेक्षा भइरहँदा तुवाँलोका कारण विमानस्थलमा उडान अवरोध हुँदा त्यसको मार पर्यटन क्षेत्रले खेप्नुपरेको उनले जानकारी दिए । ‘यो बेला धेरै आन्तरिक पाहुना पोखरा आउने तयारीमा थिए । हाम्रो अनुमानमा कम्तिमा पाँचहजार पर्यटक एकसातामा प्रभावित भए । हवाई उडान प्रभावित हुँदा  सबैतिर डामाडोल बनायो’, सुवेदीले भने, ‘पर्यटन क्षेत्रले तुवाँलोका कारण मात्र करोडौं रुपैयाँ नोक्सान खेप्नुपरेको छ ।’

    अहिले पोखरा–मुग्लिन बाटो स्तरोन्नतिको चरणमा छ । सोही कारण धुलो र लामो समय लाग्ने झन्झटले पाहुना हवाई माध्यमबाट पोखरा आउन चाहन्छन् तर, कुहिरोले उडान नहुँदा यात्रु अलपत्र परेको सुवेदीले बताए । ‘होटल बुकिङ गरेका पाहुना बेलैमा पोखरा आउन सकेनन्, त्यसले गर्दा होटलका कोठा नै रित्तै छन्’, सुवेदीले भने । 

    बाक्लो तुवाँलोले गर्दा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने हवाई उडान दिनहुँजसो प्रभावित भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख विक्रम गौतमले जानकारी दिए । एकसातामा एकदिन (गत सोमबार) मात्र तोकिएका सबै उडान भएका थिए ।

    ‘भिजिबिलिटी कम भएर उडान र अवतरण नभएको हो । पोखरामा मात्रै होइन, धनगढीमा प्रभाव थियो, इटहरीमा र सिमरामा पनि प्रभाव थियो’, प्रमुख गौतमले भने । पोखरा विमानस्थलमा उडान हुनका लागि तीन हजार सात सय मिटर भिजिबिलिटी आवश्यक पर्ने विमानस्थल प्रमुख गौतमले सुनाए । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology