Logo

२०७८, आश्विन ४ गते सोमवार

२०७८, आश्विन ४ गते सोमवार

भावपूर्ण श्रद्धाञ्जली मोती गुरु !

भावपूर्ण श्रद्धाञ्जली मोती गुरु !

  • जेठ २९, २०७८ शनिवार १२:२५ बजे
  • 653
    SHARES
  • भावपूर्ण श्रद्धाञ्जली मोती गुरु !

    पूर्वीय दर्शनले गुरुलाई पनि पञ्चपितामध्ये एक मानेको छ ।  प्रायः नीतिशास्त्रहरु यस चिन्तनमा सहमत छन् । त्यसमा पनि चाणक्यनीतिको यो पङ्क्ति धेरैले अनुशरण गरेका छन् । त्यो उल्लेख्य पनि छ: 
    जनीता चोपनेता च यस्तु विद्यां प्रयच्छती ।
    अन्नदाता भयत्राता पञ्चैते पितरः स्मृताः ।।
    (चाणक्यनीतिशास्त्र  ।।१९।।)

    (जन्माउने कार्यमा प्रत्यक्ष सङ्लग्न हुने, उपनयन (ब्रतबन्धलगायत)  संस्कार गरिदिने, शिक्षा दिने, अन्नदाता र डरबाट जोगाईदिने पाँच व्यक्तिलाई पिता भनिन्छ ।)

    यस शास्त्रअनुसार म शोकमा छु । भावनाले पनि यो दर्शनले पनि मलाई शोकमा पारेको छ । आज मेरा गुरु मोतीलाल पराजुलीले हामीलाई छोडेर गएको तेस्रो दिन बित्तैछ । म नियमित काम गरिरहे पनि गुरुशोकमै छु । गुरुको निधन भएको खबर सुनेर पनि मलाम जान नसकेको पछुतोमा छु । भेटेर सिक्नु पर्ने कुरा सिकिनहालेको पछुतोमा छु । त्यो पछुतो पहिलो दिनभन्दा पनि बढेर मभित्र वेपत्ताको शोक मडारिइरहेको छ । कसैकसैप्रति यस्तो बढी आदर र गाढा सम्बन्ध बन्दो रहेछ - त्यो पनि रुढानुबन्ध बनेर । अब गुरुसँग भेट हुँदैन भन्ने गाहा पाएपछि गुरुसँग बितेका दिनहरुको असाध्यै याद आइरहेछ । भित्र कतै सुइरो रोपिइरहेछ । त्यस यादमा अनेक अतीत जीवन्त बनिरहेका छन् । 

     मैले चिनेजानेका मानिसमा सबैभन्दा शालीन व्यक्तित्वका धनी मानिस कोही थिए भने ती मोतीलाल पराजुली थिए । कसैको कुरै नकाट्ने, कसैप्रति गुनासो गर्दै नगर्ने कोही व्यक्ति थिए भने ती मोतीलाल पराजुली थिए । उनका शब्दकोशमा गाली, गुनाशो, अपमान, व्यङ्ग्य, महत्वाकाङ्क्षा जस्ता शब्द थिएनन् । उनी आत्मविश्वासी, कम बोल्ने, कम हाँस्ने तर गहिरो ज्ञानका फेवा, वेगनास र रारा थिए । बाह्य सान नदेखाई निरन्तर बगिरहने सेती थिए । कास्कीको कुनामा जन्मिएर देश विदेशमा आफ्नो विद्धता फिँजाउन सफल मानिस थिए । बुद्धिजीवी होइन विद्वान् थिए । उनकै जन्मभूमिको पाताले छाँगो जस्ते भित्रभित्रै बगिरहन सक्ने व्यक्तित्वका धनी थिए ।  मोतीलाल गुरुसँग पहिलो भेट उनले लेखेको पुस्तकमा  भयो ।  दोस्रो भेट त्रिभुवन विश्वविद्यालयको एम एको कक्षामा भयो । तेस्रो भेट एम फिलको कक्षामा भयो । मेरो एम फिलको शोधको भाइभामा भयो । पछि विभिन्न कार्यक्रममा भयो । अनि घरमा, बाटामा जहाँसुकै भइरह्यो ।

    पुस्तकमा भएको भेट इलाम क्याम्पसको पुस्तकालयमा  भएको थियो । २०५६ सालतिर मोतीलाल पराजुलीको नेपाली लोकगाथा भन्ने किताब पढेको सम्झना छ । त्यो किताब (२०४९) सालमै प्रकाशन भएको रहेछ । त्यस बेला पुस्तकालयबाट सन्दर्भ पुस्तकहरु पढ्दा आख्यान बढी पढिन्थ्यो । मैले यो गाथा भनेको के रहेछ भन्ने जिज्ञासा स्वरुप त्यो पुस्तक लिएको थिएँ । बुझेजति पढेको थिएँ । त्यसै क्रममा इलाममा छँदै बुद्धि घिमिरे सरको पुस्तकालयमा भेटेर नाम लेखेर डेरामा लगेर पढेको पुस्तकको नाम थियो धर्मात्मा राजा । त्यो किताब नयाँ र तात्तातै बुद्धि घिमिरेका पुस्तकालयमा कसरी पुग्यो ? मैले नयाँमै कसरी पढ्न पाएँ ? आज एउटा संयोग जस्तो लाग्छ । त्यो किताब २०५८ सालमै छापिएर इलाम पुगेको रहेछ । 

    २०५९ सालको फागुनमा म काठमाडौँ आएँ । एम. एका सुरु सुरुका कक्षामा हामीले लोकसाहित्यको कक्षा चूडामणि बन्धुसँग लियौँ । त्यसै साल त्यसै ब्याजलाई  पढाउन भ्याउने गरी मोतीलाल सर पृथ्वीनारायण क्याम्पस पोखराबाट सरुवा भएर कीर्तिपुर आए । उनी पनि नयाँनयाँ । हामी पनि नयाँ नयाँ । उनले हामीलाई नयाँ जोस जाँगरका साथ लोकसाहित्य पढाए । उनले पढाउँदा कक्षा निकै रमाइलो हुन्थ्यो । उनले गाइगाइकन उदारण लिएका लोकगीतहरु अहिले पनि स्मृतिमा ताजा छन् । त्यस्ता गीतका धेरै उदाहरण सम्झन्छु । त्यसमा पनि सरले उच्चारण गर्दा र गाउँदा बिझेको एउटा अंश मेरो मनमा गढिरहेको छ:

    तिनै त सहर उही नेपालैमा
    मैनाले खाने दूधको तर 
    दौडेर आको, भारी दर्शन पाको
    मैनाले खाने दूधको तर 
    यस्तो जङ्गलमा बसिरहेको किन
    कहाँ हो माइती कहाँ हो घर .....

    यो  गीतको अंशलाई गेडो  भनेर चिनाउँदा कक्षामा हासोको फोहोरा छुटेको सम्झन्छु । लोकगीतमा श्लोक वा पङ्क्ति गुच्छा भन्दा पनि गेडोका रुपमा गीतको एउटा अंशलाई चिनाइन्छ भन्ने हामीलाई थाहा रहेनछ र हाँसेछौँ । पराजुली गुरुले लोकगीत, लोककविता, लोकगाथा, लोकनाट्य आदि विविध उपशीर्षक पढाए । उनले लोकनाटकका विषयमा पढाएपछि हाम्र हरेक संस्कृतिक कुरालाई लोकनाटकसँग हेर्न जान्ने प्राच्य विद्याका  आँखा खुलेका थिए । त्यतिबेला हामीले बन्धु गुरुसँग लोकसाहित्यको सिद्धान्त अझ लोकवार्ताको सिद्धान्त मात्र पढ्न भ्यायौँ । पराजुली गुरुले लोककविताका प्रकारमध्ये सिलोक पढाउँदा भाका हालेका श्लोक झलझली सम्झनामा आइरहेका छन् । त्यस बेला कक्षामा पढिएका केही श्लोक अंश पहिलाबाट सुनिरहेका थिए ।  केही नयाँ थिए मोती गुरु तिनको रस लिएर गाउँदै अर्थ खुलाउँदै पढाउँथे:

    प्रश्न: कहाँबाट आयौ तिमी जन्ती कहाँसम्मको दाउ ? 
    कस्की छोरी बिहे गर्न आयौ के हो दुलहाको नाउँ ? 

    उत्तर:पर्वतबाट आयौं हामी जन्ती यहाँसम्मको दाउ
    हिमालकी छोरी बिहे गर्न आयौँ शङ्कर हो दुलहाको नाउँ ?

    प्रश्न: कति बाट्यौ नाम्लादाम्ला, कति बाटयौ कुचा ? 
    कति आयौ बुढापाका, कति ल्यायौ फुचा ? 

    उत्तरः धेरै बाट्यौँ नाम्लादाम्ला, थोरै बाटयौ कुचा
    धेरै आयौँ बुढापाका, थोरै ल्यायौं फुचा ।

    पछि हामी एम.फिलको कक्षामा पनि मोती गुरुसँग लोकसाहित्य नै पढ्यौँ । विशेष लोकसाहित्य पढ्ने विद्यार्थी उनको ज्ञानबाट थप लाभान्वित भए । हामीले नियमित विषयमा एक पत्र मात्र पढ्न पायौँ । एकै पत्र मात्र पढेका भए पनि आज त्यस कक्षाका आज मलाई ज्ञानले एम एको कक्षामा लोकसाहित्य पढाउन सघाएको छ । अरु साथीहरुलाई पनि सघाएको होला ?  त्यस बेला गुरुले एक पेपर पूर्वीय साहित्य पनि पढाए । पूर्वीय साहित्यशास्त्रमा पनि गुरुको गहिरो ज्ञान थियो । पूर्वीय साहित्य सिद्धान्तमध्ये रससिद्धान्तका बारे निकै गहिरो अध्ययन गरेर पढाएको सम्झना छ । रस पढाउँदा पनि कतिपय लोकगीत र लोककविताहरुको उदाहरण दिँदै अन्तर सम्बन्धित गरेर पढाउने गुरुको खुबी लोभलाग्दो थियो । त्यसले हामीलाई बुझ्न सजिलो हुन्थ्यो । पूर्वीय साहित्यका बाँकी कक्षा ठाकुर गुरु, राजेन्द्र गुरु र केशव गुरुसँग पढेका थियौँ । राजेन्द्र गुरुसम्बन्धी छुट्टै संस्मरण प्रकाशित छ । 

    म अहिले एम. ए प्रथम सेमेस्टरमा लोकसाहित्य अध्यापन गर्छु । त्यस क्रममा मैले मोतीलाल गुरुसँग  सिकेका थुप्रै कुरा उपयोगी भएको बुझेको छु । आफ्ना विद्यार्थीलाई आफूले बुझेर थप ज्ञान बाँड्न पाएको छु । आफू लोकसाहित्यको अध्यापक भएर प्रा. मोतिलाल पराजुलीसँग लोकसाहित्य पढेको  चेलो हुँ भन्दा गौरव बोध हुन्छ । मोती गुरु गहन अध्यान, विमर्श र  लेखनबाट प्राध्यापक मात्र भन्दा पनि  लोकसंस्कृतिविद्का रुपमा परिचित थिए । उनको विशेषज्ञता बजारमा छरिएको थिएन । आज पनि इन्टरनेटमा उनी कम भेटिन्छन् तर पुस्तक र शोध ग्रन्थहरुमा असाध्यै शक्तिशाली बनेर रहेका छन् । नजिकको तीर्थ हेला गर्दै टाढा टाढा पुग्ने नेपाली मानसिकतामा अब  केही परिवर्तन आउला । उनका कृतिहरु खोजिएलान्, पढिएलान्, सन्दर्भन होलान् । उनीप्रतिको श्रद्धाञ्जली त्यही हुने छ । 

    पराजुली गुरु कक्षामा कुनै सन्दर्भलाई बुझाउनु पर्दा बोर्डमा लेखिसकेर क्रमशः बुँदा बुँदामा गएर बुझाउँथे । उनको क्रमशः बुँदामा केन्द्रित भएर अध्यापन गर्ने शैली निकै आकर्षक थियो । बिच बिचमा आवश्यक नोट पनि टिपाउँथे । लोकवार्ता र लोकसाहित्यका पारिभाषिक शब्दमा विशेष जोड दिन्थे । उनको त्यस किसिमको प्राध्यापन शैलीबाट हामी प्रभावित थियौँ । सुरु सुरुको एम.फिलको कक्षामा प्रविधिमैत्री बन्न भने उनलाई केही कठिन भएको थियो तर पछि प्रविधिलाई पनि सजिलै समाए । उनी विद्यार्थीहरुलाई रिझाउन सक्ने गुरु थिए । एम. ए तहमा हामी २०५९-२०६१ व्याजका विद्यार्थी । त्यस बेला हाम्रो व्याजमा पढ्ने साथीहरु र हामीलाई पढाउने सबै गुरुहरुको परिचय समेटेर स्मारिका प्रकाशन गर्ने चलन थियो । त्यो चलन अनुसार म, अशोक थापा, विष्णु ज्ञवाली, राजु भुसाल, शङ्कर पुरी, बाबुराम लम्साल, भक्त राई, अम्बिका प्रसाद डाँगी, पुरुषोत्तम सुवेदी गरी नौ जनाको समितिले त्यो स्मारिकाका समाग्री सङ्कलन र सम्पादन गरेका थियौँ ।

    हामीले सम्पादन गरेको स्मारिकाको नाम स्मृति स्मारिका थियो । त्यस स्मारिकामा  गुरुको परिचय छापिएको थियो । त्यस बेला पाएको विवरणअनुसार गुरुको जन्म चापाकोट कास्कीमा भएको, तत्काल काठमाडौँको कलङ्कीमा बस्न थालेको सूचना छापिएको छ । त्यस परिचयमा गुरुका जम्मा चार वटा कृतिहरु प्रकाशन भएको सूचना छ ।  सूचनामा नेपाली लोकगाथा, नेपाली रचनाकला, धर्मात्मा राजाका साथै नेपाली लोकनाटक: सिद्धान्त र विवेचना छन् । त्यो विवरण प्रकाशन गर्दै गर्दा वासुदेव गुरुका निमन्त्रणा सौजन्यबाट मोती गुरुले सैनध्वज नन्दकुमारी विद्धत्वृत्ति (२०६१) को सम्मान थापेको कार्यक्रमको साक्षी बन्न पाएको पनि झलझली याद आइरहेको छ । त्यो विद्यावारिधि गर्ने व्यक्तिलाई दिइने विशिष्ट सम्मान रहेछ । हामीले प्रकाशन गरेको विवरणमा उक्त सम्मनका साथै शिक्षा पुरस्कार (२०६१ र महेन्द्र विद्याभूषण क (२०५८) समेटिएका छन् ।

    पछि अरु पनि सामग्रीबाट गुरुका बारे अरुकुरा थाहा भयो । पराजुली गुरुको जन्म २०१३ साल माघ छ गते चापाकोट ७ कास्कीमा  भएको हो । उनी मणिरत्न पराजुली र वदसरा पराजुलीका पुत्ररत्नका रुपमा कास्कीमा जन्मिएका थिए । उनको साहित्ययात्रा २०३७ सालमा ‘बाटो विराएँछु’ शीर्षकको कविता प्रकाशन भएबाट सार्वजनिक हुँदै आगाडि बढेको थियो । पछि उनी कविभन्दा बढी लोकसाहित्यका अध्येता र समीक्षकका रुपमा स्थापित भए । उनले एम. ए गरेदेखि नै त्रिभुवन विश्वविद्यालयका पृथ्वीनारायण क्याम्पस, कास्की  र नेपाली केन्द्रीय विभाग विश्वविद्यालय क्याम्पस  कीर्तिपुरमा साढे तीन दशक प्राध्यापन गरे ।

     पराजुली गुरुका माथि हामीले स्मारिकामा समेटेका कृतिबाहेक ‘सोरठी नृत्य नाटिकाः सैद्धान्तिक अध्ययन’, नेपालीमा प्रचलित नृत्य र नाटिकाहरू’, चार भागमा ‘नेपाली लोककथा संग्रह’ (चार भाग), ‘नेपाल लोकसाहित्यको रुपरेखा’ (सहलेखन), नेपाली लोककथा सिद्धान्त र विश्लेषण’, ‘नेपाली प्रदर्शनकारी कला भाग–४’ लगायत कृति प्रकाशित छन् । यी कृतिहरु नेपाली लोकसाहित्य अध्ययनका लागि पछिल्लो समय आधिकारिक  सामग्रीका रुपमा नेपाली साहित्य भण्डारमा उपलब्ध छन् ।  अब गुरु हाम्रा समु नरहे पनि गुरुका यी कृतिका पानामा भेटिइरहनेछन् । 

    ‘नेपाली लोककथामा अभिप्राय’ शीर्षकमा विद्यावारिधि गरेका पराजुलीले प्राय सबै विधामा अध्यापन गर्दा तिनमा छिपेको लोकाभिप्रायलाई गहिरो गरी बुझाउँथे । त्यसो हुनुको कारण उनको विद्यावारिकै प्रभाव रहेछ भन्ने पछि थाहा भयो । उनका ‘बालन लोकनाट्य’, ‘सवाई लोककाव्य’, ‘लोक साहित्यका अध्ययन पद्धति’, ‘रामकथा’, ‘सोरठी पावरा र सोरठी लोकनाटकको तुलना’, ‘कास्की जिल्लाका गाथा’, ‘गण्डकी अञ्चलका लोकनाच’, ‘आँधीखोले भजन चुड्का’ आदि अनेक विषयमा अनुसन्धानमूलक सामग्री सार्वजनिक भएका छन् । उनले लोकसाहित्यलाई विश्वका अन्य भषा साहित्यका पनि चासोमा रहने प्राच्य विधाका रुपमा लिएका थिए । अध्यापन गर्दा र कृति लेख्दा पनि त्यही गम्भीरतालाई निरन्तरता दिइरहे । 

    पराजुली गुरु हल्लाका पछाडि लाग्दैन थिए । उनलाई कुनै सङ्गठन वा प्रचार प्रसारले व्यक्तिलाई माथि उठाउँछ भन्ने कुरामा कत्ति पनि विश्वास थिएन । उनकै कक्षाका चेलाहरु मन्त्री बन्दा पनि उनी विश्वविद्यालयको कुनै पद वा एकेडेमीको कुनै पदका लागि भनसुन गर्न गएको थाहा भएन । उनले नेपाल लोकवार्ता संस्कृति समाजका सदस्य र लोकवार्ता परिषद् नेपालका सल्लाहकार भएर नेपाली प्राच्य विधाका विकासमा टेवा पुर्याए पनि पदको लोभ गरेको देखिँदैन थियो । उनले भानु प्रतिष्ठानको कार्य समितिमा एक कार्यकाल सदस्य रहेर विभिन्न गतिविधिमा सहभागी भई भानुभक्तीय साहित्यको विकासमा पनि टेवा पुर्याएका छन् । त्यस कार्यकालमा  म प्रतिष्ठानको सचिव थिएँ । त्यस प्रतिष्ठानमा पनि सकेको सघाउने तर व्यक्तिगत स्वार्थ प्रकट नगर्ने स्वाभाव देखिन्थ्यो । 
     
    भानु प्रतिष्ठानले माधव घिमिरेको अध्यक्षतामा गठन गरेको आदिकवि भानुभक्त आचार्य द्विशतवार्षिकी मूल समारोह समितिका सदस्यका रुपमा हामी सँगै हप्तौँ यात्रा गरेको सम्झना झलझली आइरहेको छ । त्यस सन्दर्भमा हामी झापा, इलाम, पाँचथर, ताप्लेजुङसम्म पुगेका थियौँ । त्यस समितिको सचिवको हैसियतमा म धेरै ठाउँमा पुगेँ । पूर्व ताप्लेजुङसम्म भानु द्विशतवार्षिकी समारोह समितिका उपसमिति गठन एवम् कार्यक्रम विस्तार गर्ने क्रममा पराजुली गुरु र हामी सँगसँगै थियौँ । ब्रतराज आचार्यको नेतृत्वमा राजेन्द्र सुवेदी, इन्दिरा सुवेदी, मोतीलाल पराजुली, श्रवणकुमार राई, माधव प्रधानसँगै हामी पूर्वको भ्रमणमा निस्किएका थियौँ । 

    बुढापाकाले मान्छे यात्रामा चिनिन्छ भन्थे । गुरुसँग निकट भएर बस्ने र कुरा गर्ने अवसर त्यसै यात्राले दिएको थियो । सादा खानपिन, अहङ्कार शून्य कुराकानी, नयाँ ठाउँ र विषयका बारे गहिरो चासो, सबैलाई समान किसिमको आदर उनका गुण थिए । त्यसै बेला गुरुको पारिवारिक अवस्था र बाल्यकाल एवम् शिक्षा दीक्षाबारे पनि जानकारी मिलेको थियो । दुखसुखका सबै पहाड र खोँच भोगेर अवसर नपाउँदा नपाउँदै उच्च र उच्चतर शिक्षा लिएर विश्वविद्यालयको प्राध्यापक बनेको पराजुलीको व्यक्तित्व लोहोरो जस्तै थियो । हामीले आयोजना गरेका समाहोहमा राखेका उनका मन्तव्यहरु गौरवपूर्ण थिए । 

    म लोकसाहित्यको एउटा सामग्री खोज्दै एक पटक मात्र गुरु निवास कलङ्की पुगेको थिएँ । गुरुले आइजाइ गरिरहन भने पनि कलङ्की र म बसेको ठाउँ अलि कोल्टा  थिए । गुरुलाई भानु प्रतिष्ठानका वैठकमा आउन पनि त्यति सजिलो हुँदैन थियो । तर डाकेको वैठकमा अनुपस्थिति कहिलै लागेन । वैठक बसिरहँदा हामी विविध विषयमा छलफल गथ्र्योँ, गुरुले केही केही नयाँ विषय निकै गम्भीरतापूर्वक उठाउनबाहेक अनावश्यक बोलेको पनि सुनिएन । एक पटक भानु प्रतिष्ठानको अफिसको समस्या पर्दा कलङ्कीको सामुदायिक भवनमा गुरा गरौँ त उता सार्ने हो ? भनेर निकै जिम्मेदार कुरा गरेको सम्झन्छु । 

    कीर्तिपुर जाँदा आउँदा बाक्लै भेटघाट भइरहन्थ्यो हरेक भेटमा विद्यावारिधिको काम कहाँ पुग्यो ? सन्चै हुनुहुन्छ नि ? यस्तै थोरै कुरा सोधीखोजी गर्ने पराजुली गुरुको बानी थियो । हामी डेराबाट घरमा सरेको कुरा सुन्दा खुब सुसी प्रकट गरेको सम्झन्छु । त्यस खुसीमा सायद गुरुका जीवनका डेरा र गृहप्रवेशका अनुभव थिए । पछिल्लो समय गुरुका निर्देशनमा धेरै शिष्यशिष्याले विद्यावारिधि गरे र गरिरहेका थिए । गुरुका प्राथयमिकतामा आफ्नो काम भन्दा विद्यार्थीको विद्यावारिधि हुन्थ्यो । धेरै गुरुहरु आफ्ना मातहतमा आएका चेलालाई दवाइराख्न खोज्छन् । पराजुली गुरुसँग पुगेको चेलो वा चेली चाँडै विशेषज्ञ बनेर बाहिर आउँथ्यो । त्यो फाइदा गुरुसँग शोधकार्य गर्ने एम.एका शोधार्थीले पनि लिए, एम फिल र पीएच. डीका शोधार्थीले पनि लिए । वाह्यपरीक्षक वा शोधविशेषज्ञका रुपमा वा सहनिर्देशकका रुपमा गुरुर्ला पाउने विद्यार्थीहरुले धेरै कुरा सिक्न र साथमा भएका सामग्री प्रयोग गर्न  पाए । त्यस्तो सौभाग्य अरु गुरुसँग विद्यावारिधि र अन्य शोध गर्ने चेलाचेलीले कमै पाउँथे । गुरुको पुस्तकालयमा निकै महँगा र दुर्लभ पुस्तकहरु थिए । गुरुका अन्तवासी शिष्य डा. ध्रुव भट्टराईका अनुसार विद्यावरिधि सुरु भएर सकिउन्जेल गुरुको आनीबानीमा एक दिन पनि उचारचढाव आएन । कसैको कुरा काटेको पनि सुनिएन अनावश्यक फोगट गफ पनि सुन्नु परेन । 

    पराजुली गुरु हेर्दा उमेरभन्दा पाका जस्ता देखिन्थे । तर उनको उमेर उति बितिसकेको थिएन । उनी ६५ वर्षको उमेरमा हिँडिरहेका थिए । गुरुका एक छोरा प्रमोद र एक छोरी कल्पना (सुवेदी) भर्खरै मात्र आफ्ना खुट्टामा उभिन सक्ने बन्दै थिए ।  छोरा आइटी इन्जिनियर र छोरी अधिकृत छन् । छोराछोरीको शिक्षादीक्षा, आफ्नो उच्च शिषा आदिबाट मुक्तिको थकाइ मरिसकेकै थिएन  । एक किसिम जागिरको चटारोबाट मुक्त भएर बल्ल आफ्ना छुटेका काम गर्ने बेला हुँदै थियो । तारा गुरुआमासँग कुनै ठाउँमा घुम्ने घुमाउने फुर्सद हुँदै थियो । गुरुको शालीन र बौद्धिक व्यक्तित्वको प्रभाव र आशीर्वादमा  अभिभावकत्वमा त्यो घरपरिवारले र समाजले पनि  अझै धेरै पाउनु पर्ने थियो ।  

    गुरुसँग हामी पूर्वको यात्रा गर्दा पाथीभराको डाँडासम्म जजिलै हिँडेर गएका थियौँ । शरीर मोटो भएका कारण उकालोमा स्याँस्याँ गर्ने समस्याबाहेक अरु केही समस्या भएको थिएन । इन्दिरा गुरुआमाको साथी होस् भनेर हामीले यात्रा दलमा अमिरा अधिकारी बहिनीलाई पनि समेटेका थियौँ । हामी त्यो कठिन उकालो, चिसो हिउँ सबै सहज सहेर फर्किएका थियौँ । त्यस यात्राका कोणबाट सम्झँदा पनि उहाँले यति चाँडो छोडेर जानुहुन्छ भन्ने लागेको थिएन । 

    केही समय अघिदेखि भने गुरुमा एक किसिमको क्यान्सरको समस्या देखिएको थियो । त्यो खबर सुनेर म लागिपरी भेट्न कलङ्कीमै पुगेको थिएँ । त्यस बेला गुरुआमाले आर्या, श्रेया (पराजुली) नातिनीहरु उत्कृष्ट र आरोग्य (सुवेदी) नातिहरु खेलाइराखेको, उनीहरु हजुरबा हजुरआमासँग रमाएर खेलिरहेको दृश्य देखेर आएको थिएँ । आज पनि त्यो दृश्य आँखाअगाडि ताजै छ ।  त्यस बेला बसेर गुरुगुरुआमासँग लामै कुरा भएको थियो । कुरा गर्दा गुरुआमा पश्चिमकै बरालकी छोरी भएको र कलिलै उमेरमा गुरुसँग विवाह भएको चर्चा पनि चलेको थियो । गुरुलाई लागेको क्यान्सरको उचित औषधोपचार  भएको बुझेको थिएँ । गुरु पनि ढुक्क भएको विचार सुनेर अफू पनि ढुक्क भएर फर्किएको थिएँ । पहिला उहाँ चुरोट पिउनु हुन्थ्यो । पछि बिराम भएपछि त्यो लत पनि छुटेको पाएको थिएँ ।

    २०७८ सालका आरम्भमै गुरुका जीवनमा केही समस्याहरु आए । गुरुआमालाई करिब एक महिनाअघि  कोरानाले समायो । गुरुआमाको उपचार सफल हुन सकेन । एउटा सुन्दर संसारमा कोरोनाको घात परिछाड्यो । गुरुआमाको निधनले त्यस परिवारमा ठुलो क्षति पुर्यायो । यस रोगले गुरुलाई पनि त्यसैबेला समाएको थियो । गुरुलाई शोक चिन्ता र बिरामले चाप्तै लग्यो । सहिद मेमोरियल अस्पताल कलङ्कीबाट रोगले गुरुलाई घर फर्कनै दिएन । त्यही अस्पतालमा उपचारको क्रममा ज्येष्ठ २५ गते मङ्गलबार साँझ निधन भयो । हामीलाई मलाम जाने  अवसरसम्म मिलेन । गुरुऋणको भार रहिरक्यो । नेपाली लोकसाहित्य र संस्कृतिका क्षेत्रमा अपुरणीय क्षती भयो ।

    मृत्युका घटनाहरु अप्रत्यासित हुँदा रहेछन् । यति छिटै यस्तो घटना होला भन्ने लागेकै थिएन । गुरुसँग बुझ्नु सिक्नु, जान्नु पर्ने धेरै कुरा बाँकी थिए । मेरो आफ्नै गुरुहरुलाई आदर गर्ने र गुरुहरुका विषयमा केही गरुँ भन्ने स्वाभावका कारण केही आन्तरिक कुराकानी पनि भएका थिए । ती कुरा पनि गुरु र मभित्रै सीमित रहे । मैले हरेक गुरुपूर्णिमामा सम्झिएर लेखेको एस एम एस र आशीर्वाद छ बाबु भनेका प्रमाणबाहेक र केही तस्बिरबाहेक गुरुचेलाका संवादहरु अभिलिखित हुन सकेनन् ।

    सामान्यतः आफूले पढेका संस्थाका जागिरे शिक्षक सबै गुरुनै देखिन्छन्, हुन्छन् । ती सबै गुरु उतिकै आदरयोग्य र विशेषज्ञ सामथ्र्यका  हुँदैन । पराजुली जस्ता आफ्नो विषयका विशेषज्ञ गुरु कमै मात्र हुन्छन् । उनी जस्ता गौरव गर्न लायक गुरु पनि कमै मात्र हुन्छन् । यही महिना गुरु राजेन्द्र सुवेदी र गुरु मोतीलाल पराजुली दुवै अब भेटिनुहुन्न भन्नुपर्दा  आफैलाई सम्झाउन गाह्रो परिरहेछ  । दुई गुरु होइन अभिभावकहरु गुमाएको बोध भइरहेको छ । 

    आज गुरु बितेको तेस्रो दिन पनि बितिसकेको छ । सामाजिक सञ्जालमा शिष्यशिष्या र सहकर्मीहरुले गुरुलाई श्रद्धाञ्जली दिने क्रम बढ्दो छ । फेसबुकका भित्ताभरि गुरुका फोटाहरु छन् । यो कस्तो विडम्बना जीवनमा गुरुले आफ्नो फोटो कहिलै फेसबुकमा सेयर गरेको देखिएन । आफ्ना कामको प्रचार कहिलैे देखिएन । समाज शोकको प्रचार गरिरहेछ । आखिर वत्तीको काम आफू बलेर अरुलाई उज्यालो दिने मात्र त रहेछ नि । यतिबेला गुरुप्रति श्रद्धाञ्जली लेख्न किबोर्डमा औँला चलिरहेका छैनन् तर लेखिरहेछु हार्दिक श्रद्धाञ्जली गुरु । 

    आज लागिरहेछ: मोती गुरुको इमानदारितालाई विश्वविद्यालयले प्राध्यापकका साथै कुनै पदाधिकारीका रुपमा पनि लिन सकेको भए, नेपाल प्रज्ञाप्रतिष्ठानले लिन सकेको भए, अरु विश्वविद्यालयले लिन सकेको भए; भाषा आयोग र यस्तै कुनै योग्य ठाउँले लिन सकेको भए; कुनै संस्कृति मन्त्रीले सल्लाहकारका रुपमा चुनेको भए गुरुलाई होइन राज्यलाई ठुलो फाइदा हुने थियो ; त्यो हुन पाएन । राज्यलाई योग्य मान्छेको आवश्यकता परेन । पराजुली सर राज्यले नतोकेका नचिनेका भएपनि प्राज्ञ हुन् । अरुले निर्माण गरेको धरहरा होइन आफ्नै ज्ञान र साधनाका ज्वालामुखीमा उठेको पहाड हुन् ।

    उनको जीवन उनैले पढाउने लोककथा र गाथाका नायकको जीवन जस्तै सङ्घर्षपूर्ण तर वियोगान्त बनेर गयो । उनलाई अब भौतिक रुपमा नभेटिए पनि उनी आफ्ना कृतिमा र ३५ वर्ष प्राध्यापन गर्दा भेटिएका प्रत्येक शिष्यशिष्याका मनमस्तिष्कमा अमर छन् । भविष्यमा गरिने अनेक विद्यावारिधि प्रबन्ध र महान् कृतिमा सन्दर्भन भएर बाँचने छन् । अनेक प्रेरणाका खानी गुरुप्रति हार्दिक श्रद्धाञ्जली । जस्ता सुकै रापचाप र थिचाइ सहेर मोती नै बनेका मोती गुरुमा भावपूर्ण श्रद्धाञ्जली । गुरुपुत्र प्रमोद, पुत्री कल्पना र सपरिवारमा गहिरो समवेदना ।
        

  • सम्बन्धित विषय:

  • # रमेश शुभेच्छु

  • सम्बन्धित समाचार
    धेरै पढिएको

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology