वेबटिभी खबर
काठमाडौं । रुपन्देहीको सिमरहवामा स्थापना हुने देशकै पहिलो लिक्विड अक्सिजन प्लान्टको शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल रुपमा शिलान्यास गरेका छन् ।
यो प्लान्टबाट प्रतिदिन ६० मेट्रिक टन अक्सिजन उत्पादन हुने र सात हजार ठूला सिलिन्डरमा अक्सिजन भर्न सकिने उद्योगी शंकर अग्रवालले जानकारी दिए ।
शिलान्यासपछि कार्यक्रमलाई प्रधानमन्त्री निवास बालुवाटारबाटै सम्बोधन गर्दै प्लान्टको स्थापना असाधारण खुसीको विषय भएको बताए ।
‘दोस्रो लहरले हामीलाई एक्कासी अक्सिजनको अभाव, सिलिन्डरको अभाव आदिले ग्रस्त बनायो । त्यतिबेला हामीले महंगो मूल्य तिरेरै पनि अक्सिजन सिलिन्डर किन्यौं’, प्रधानमन्त्रीले भने, ‘कोभिड-१९ महामारीको दोस्रो लहर सुरू भएपछि अक्सिजनको तीव्र अभाव व्यहोरेको नेपालका लागि प्लान्ट निर्माणले ठूलो राहत दिनेमा विश्वास गरेको छु ।’
सरकारले देशभित्रै अक्सिजनको पर्याप्त उत्पादन गर्ने सोच राख्दै हरेक १ सय शय्याभन्दा बढी भएका अस्पतालले अनिवार्य रूपमा आफैंले अक्सिजन प्लान्ट राख्नुपर्ने व्यवस्था समेत ल्याएको प्रधानमन्त्रीले उल्लेख गरे ।
अक्सिजन प्लान्ट स्थापना र सञ्चालनलाई सफल पार्न सरकारका तर्फबाट भन्सार छुटलगायतका सहयोग गर्न सरकार तयार रहेको पनि प्रधानमन्त्रीले प्रतिवद्धता व्यक्त गरे ।
अक्सिजन प्लान्को स्थापना र अक्सिजनको उत्पादन पर्याप्त मात्रमा गर्न सकेमा बिरामीको उपचारमा सहजता हुने प्रधानमन्त्रीको भनाइ छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij