Logo

२०८०, आश्विन १२ गते शुक्रवार

२०८०, आश्विन १२ गते शुक्रवार

images
images

सम्झनामा मीना पाण्डे : साधारण स्वभावकी असाधारण नेता

सम्झनामा मीना पाण्डे : साधारण स्वभावकी असाधारण नेता

  • 2.8K
    SHARES
  • सम्झनामा मीना पाण्डे : साधारण स्वभावकी असाधारण नेता

    यही जेठ १६ गते दिउँसो म आफ्नै नेतृत्वमा प्रकाशोन्मुख एक द्वैमासिक बाल पत्रिकाको लागि केही बालोपयोगी सामग्री लेखनको मेसोमा थिएँ बागबजारस्थित कार्यालयमा । कामको चटारो थियो । कतैबाट पनि ‘डिस्टर्ब्ड’ हुने मूडमा थिइनँ । त्यसैबीच हम्मेसी फोन नगर्ने सर्लाहीका एक कांग्रेसी नेताजीको फोन आयो । उठाएँ । क्लान्त आवाजमा उनले प्रश्नको शैलीमा भने ‘मीना दिदी त बित्नुभएछ हैन ?’ 

    images

    सर्लाहीका कांग्रेसजनका लागि ‘मीना दिदी’को नामले लोकप्रिय छवी थियो मीना पाण्डेको । केही वर्षदेखि पाठेघरको क्यान्सर भएर उपचारत थिइन उनी । उनको मृत्युको खबर उनको पछिल्लो अवस्थाका जानकारहरुका लागि अस्वाभाविक थिएन । मैले पनि त्यस खबरलाई स्वाभाविकै मानें । तर नेपाली लोकतान्त्रिक आन्दोलनकी एक भद्र र निष्ठावान महिला नेतृ सदाका लागि अस्ताएको खबरले मन उराठियो । उनको मुहार र त्यो संघर्षशील तर साधारण देखिने असाधारण व्यक्तित्व आँखा अघि आइरह्यो । 

    उनको मृत्युको खबर सुन्नासाथ पद्म कन्या क्याम्पस (पिके क्याम्पस) पुगें । मीना पाण्डेलाई राजनीतिमा पृथक पहिचान दिने थलो नैं पिके क्याम्पस थियो । २०३६ सालको विद्यार्थी आन्दोलनबाट देशभरिका क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन भएपछि पिके क्याम्पसको पहिलो स्ववियु सभापति बनेकी थिइन उनी । त्यसबेला उनी मीना पाण्डे नभइ मीना खड्का थिइन । 

    WhatsApp Image 2023-06-03 at 2.55.13 AM.jpeg

    उनको घरको पृष्ठभूमी नै राजनीतिक थियो । कांग्रेस राजनीतिका दिग्गज नेता दाजु शिवबहादुर खड्काकी बहिनी भएका कारण उनी राजनीतिक रुपमा निकै सक्रिय र सचेत थिइन । पन्चायतकालमा पिके क्याम्पसको स्ववियु सभापति भएसँगै उनको चर्चा चुलियो । सोही स्ववियुकी प्रथम सभापतिको मृत्युको खवरले पीके परिसरको परिदृश्यमा परेको प्रभावसँग परिचित हुने उद्देश्यले म त्यहाँ पुगेको थिएँ । चार बजिसकेको थियो । नगण्य थियो विद्यार्थीहरुको उपस्थिति । म सरासर स्वतन्त्र विद्यार्थी युनियनको कार्यालय पुगें । सुनसान थियो वातावरण । बाहिरपट्टी एक छात्रा मलिन मुहार लिएर मोबाइलमा घोत्लिरहेको देखेँ । उनी रहिछन् स्ववियु सचिव भूपी ऐर । मैले मीना पाण्डेको मृत्युको जानकारी भए नभएको सोधें । उनले भनिन् ‘प्रतिमा गौतम दिदीले फेसबुकमा पोष्ट गर्नुभएको रहेछ त्यै हेर्दैछु ।’

    मैले थप केही सोध्न नपाउँदै उनी भन्न थालिन् ‘मीना दिदी हाम्रो संस्थापक सभापति हुनुहुन्थ्यो । उहाँसँग परिचित हुन पाइँन तर उहाँले गर्नुभएको संघर्ष र मार्गदर्शनकै कारण विद्यार्थीहरुको कल्याणकारी संस्थाको रूपमा पिके स्ववियुले आफ्नो लोकतान्त्रिक छवी कायम राख्न सफल छ ।’

    उनले गला अवरुद्ध पार्दै स्ववियु पदाधिकारीहरुको नाम सहितको बोर्ड देखाउँदै भनिन् ‘मीना दिदी उ त्यहीँ हुनुहुन्छ । उहाँ हामीबीच हुनुहुन्छ, कहिँ जानुभएको छैन ।’ उनको त्यो छोटो अभिव्यक्तिमा मीना पाण्डेले छोडेको सुन्दर बिरासत प्रतिबिम्बित भइरहेको थियो । पद्मकन्या क्याम्पसका विद्यार्थी नेतृहरुमा देखिने अग्रजप्रतिको श्रद्धा र सम्मानले पटक–पटक मलाई आकर्षित गरेको छ । पद्मकन्या परिवारको यो संस्कारमा मीना पाण्डेले दिएको नेतृत्वदायी योगदान पनि झंकृत भइरहेको अनुभुत गरें ।

    सबैकी  दिदी, साझा दिदी  

    नेपाली राजनीतिमा बहुसंख्यक जुनियरहरुले दिदी भनेर संबोधन गरिने नेतृमा पर्थिन शैलजा आचार्य । उनी पछि त्यो सम्मान पाउने संभवत मीना पाण्डे नै थिइन् ।  काठमाडौ महानगरमा मेयर पदको प्रत्याशी रहिसकेकी र २०३६ सालमै विद्यार्थी आन्दोलनको नेतृत्व गरेकी सिर्जना सिंहले मीना पाण्डेको देहावसानको खबर आएलगत्तै गरेको ट्विटमा ‘मीना दिदी’ भनेर संबोधन गरेकी छिन् । उनलाई मुलुकभरका जुनियर कांग्रेसी र सर्लाहीका अन्य पार्टीकालेसमेत मीना दिदी कै नामले संबोधन गरेको सुनिन्थ्यो । सर्लाही कांग्रेसका पूर्वसभापति अशोक खनालले पनि आफ्नो फेसबुकमार्फत श्रद्धाञ्जली अर्पण गर्दै ‘मीना दिदी’ नैं उल्लेख गरेका छन् । नेकपा एमालेकी केन्द्रीय सदस्य एवम् सर्लाहीको बरहथवा नगरपालिकाकी मेयर कल्पना कटुवालले  गहिरो समवेदना व्यक्त गर्दै भनिन् ‘स्वर्गीय मीना दिदी हामी सबैकी साझा र सम्मानित दिदी हुनुहुन्थ्यो । उमेरले त दिदी हुनुहुन्थ्यो नैं व्यवहार कुशलता र हामीजस्ता कांग्रेस पार्टी इतरका राजनीतिक कार्यकर्ताका लागि पनि अनुकरणीय र अभिभावकीय भूमिकामा रहने गर्नुहुन्थ्यो ।’

    थर फेरियो, फेरिएन पहिचान 

    २०३६ सालमा स्ववियु सभापति निर्वाचित हुँदा उनी मीना खड्का थिइन् तर केही महिना पछि विवाह भएसँगै उनको थर फेरिएर पाण्डे भयो । २०३७ माघमा सर्लाहीका कांग्रेसी यज्ञ बहादुर पाण्डे ९शम्भु पाण्डे० सँग उनको मागी विवाह भयो । स्वर्गीय पाण्डेका देवर रामु पाण्डे भन्छन् ‘विवाहसँगै परिवर्तन भएको घर र थरले मीनाको पहिचानलाई परिवर्तन गर्न सकेन । उनको राजनीतिमा सक्रियता कहिल्यै कम भएन ।’

    बहुदलिय व्यवस्था आएसँगै २०४८ मा भएको पहिलो संसदीय निर्वाचनमा उनलाई कांग्रेसले सर्लाहीको क्षेत्र नम्बर २ बाट टिकट दियो । सर्लाही घर भए पनि राजनीतिमा केन्द्रमै सक्रिय उनलाई निकै चुनौती सामना गर्नु पर्यो । उनले पहिलो चुनावमा सद्भावना पार्टीबाट उम्मेदवार बनेका राजेन्द्र महतोलाई पराजित गर्दै सांसद बनिन् ।  त्यसबेला सर्लाही २ नम्बरमै पर्ने बबरगंजका सरोज सिंह भन्छन् ‘त्यो चुनावमा मधेसीहरुले मीना पाण्डेलाई मत मात्रै दिएनन् मनैदेखि मीना दिदी भनेर मान पनि दिए ।’

    टर्निङ पोइन्ट २०४८
    जनआन्दोलन को सफलतासंगै सर्लाहीमा कांग्रेसको उभार निकै राम्रो थियो । त्यसबेला जिल्ला सभापति थिए रामहरि जोशी । रामहरि जोशीले आफ्नो नाम क्षेत्र नम्बर ३ मा प्रस्ताव गरे भने अर्का प्रभावशाली नेता अशोक खनालले क्षेत्र नम्बर २ मा आफूसहित हिमाल राजभण्डारी र सीताराम महतोको नाम प्रस्ताव गरेर कांग्रेस केन्द्रिय कार्यालयमा पठाएका थिए । अशोक खनाल भन्छन् ‘हामीमध्ये जो कोहीले टिकट पाए पनि सहयोग गर्ने सहमति भएको थियो ।’

    तर उनीहरूले कल्पनासमेत नगरेको मीना पाण्डेलाई कांग्रेसले सर्लाही २ को प्रत्यासी बनाएर पठायो । त्यसबेला क्षेत्र २ बाट बासुदेव शरण कोइराला, बिष्णु ढकाल, केशव मैनाली, सत्यदेव सिंह, रामाशिष गुप्ता, सुभद्रा मैनाली पनि टीकटका उत्तिकै प्रवल दावेदार थिए । सबै नैं एक से एक । योग्यता, क्षमता र राजनीतिक संघर्षको पृष्ठभूमि सबै जसो आधारमा कोही भन्दा कोही कम थिएनन् । तर यी मध्ये कसैले पनि टीकट पाएनन् । २ नं क्षेत्र भन्दा बाहिर की अर्थात सर्लाही ५ नं क्षेत्रमा घर भएकी र आम कांग्रेसी कार्यकर्ता र कतिपय टीकटाकाँक्षी समेतले नचिनेकी मीना पाण्डे टिकट लिएर गएपछि सर्लाही २ का कांग्रेसीहरुबीच नैं उनले ठूलो बेवास्ता बेहोर्नुपर्यो । तत्कालीन टिकटाकाँक्षी केशव प्रसाद मैनाली भन्छन् ‘हामीले सात दिनसम्म मीना पाण्डेलाई कतै कुनै प्रचारप्रसार नैं गर्न दिएनौं । त्यसपछि केन्द्रिय सभापति कृष्ण प्रसाद भट्टराईले नैं मीना पाण्डेलाई जसरी पनि सहयोग गर्नुपर्यो भन्दै पत्र पठाएपछि हामीले तन मन धनले सहयोग गरेर जितायौं ।’

    अशोक खनाल भन्छन्, ‘त्यतिबेलाको संबैधानिक प्रावधान अनुरुप हरेक राजनीतिक दलले ५५ महिला उम्मेदवार दिनै पर्ने बाध्यताका कारण मीना दिदीले टिकट पाएकी थिइन् ।’

    कांग्रेसको रापताप भएको टिकट पाउनमा भाग्यमानी भए झैं उनी चुनावी दौरानमा पनि उनी भाग्यमानी नै सावित भइन् । सर्लाहीको पहाडी बहुल उत्तरीसीमा चुरेदेखि दक्षिणमा भारतीय सीमासम्म फैलिएको मधेसी बहुल क्षेत्रको राजनीतिक संरचनाको सीधा फाइदा पाण्डेले पाइन् । उत्तरको पहाडी बस्तीमा एमालेको जगजगी थियोे भने मधेसी बस्तीहरुमा एमाले शून्य प्रायः । उता नेपाल सद्भावना पार्टीबाट उम्मेदवार बनेका राजेन्द्र महतो पहाडी बहुल क्षेत्रमा अत्यन्त अल्पमतमा थिए भने दक्षिणी गाउँहरुमा उनको व्यापक स्वीकार्यता थिएन । परिणामत पाण्डेले सहजै जीत हासिल गरिन ।

    कांग्रेस बहुमतमा भएकोले मध्यावधि हुने कल्पनै थिएन त्यसबेला । तर कांग्रेस भित्रकै किचलोले  २०५१ सालमा देश मध्यावधिमा होमियो । उनले फेरि सर्लाही २ नम्बरमै दोहोर्याएर टिकट पाइन । यो पटक पनि उनले स्थानीय नेता कार्यकर्ताको ठूलो असन्तुष्टिको सामना गर्नुपर्यो । मध्यावधि चुनावमा राप्रपाबाट सूर्यबहादुर थापा र नेपाल सद्भावना पार्टीबाट राजेन्द्र महतो उम्मेदवार बनेका थिए । पाण्डेले नै पÞmेरि पनि चुनाव जितिन् । दोस्रो पटक जितेपछि पाण्डे राज्यमन्त्री पनि भइन । चार पटक सांसद, तीन पटक कांग्रेस केन्द्रिय सदस्य र दुई पटक नेपाल महिला संघको केन्द्रिय सभापति भएर एउटा राजनीतिक उँचाईमा पनि पुगिन । २०७० को संविधान सभाको चुनावमा सर्लाही ३ मा कांग्रेसले उनलाई नैं प्रत्याशी बनाएर पठायो । यसरी २०४८ को चुनाव जीतेपश्चात् उनले राजनीतिक रुपमा शक्ति र प्रतिष्ठा दुबै कमाइन । 

    साधारण देखिने असाधारण व्यक्तित्व 

    माथि उल्लेख गरिए झैं मीना पाण्डेलाई निरन्तर राजनीतिक उँचाईमा राख्ने त्यस्तो तत्व के थियो त भन्ने प्रश्नको जवाफमा उनको छिमेकीसमेत रहेका पूर्वकाग्रेसी र हाल आम जनता पार्टीका केन्द्रिय सदस्य दिपक रानाभाट भन्छन् ‘उहाँ असाध्यै साधारण जीवन शैली भएकी र सर्वसाधारणसँग सजिलै घुलमिल भइहाल्ने स्वभावकी हुनुहुन्थ्यो । उहाँ आफ्ना राजनीतिक प्रतिद्वन्द्वी प्रति पनि उत्तिकै सहजता र प्रतिष्ठाभावले प्रस्तुत हुनुहुन्थ्यो ।’

    मीना पाण्डेको साधारण जीवन शैलीको चर्चा गर्दै सर्लाही कांग्रेसका पूर्व सभापति केशव प्रसाद आचार्यकी धर्मपत्नी श्रीधरा आचार्यले भनिन् ‘उहाँ सधैं जसो साधारण पहिरनमा रहने, केश विन्यास एवम् साज सज्जाबाट धेरै टाढा ।’ भारतको बनारसमा जन्मिएर उतैको शिक्षादिक्षा र संगतमा हुर्किएकी श्रीधरा स्वयं पनि 'फेसन कन्सस' थिइन् । त्यसैले आफूले मीना पाण्डेलाई ‘यस्तो ल्याङफ्याङे पाराले हिंडेको सुहाएन, मीना नानी’ भनेर सम्झाउने गरेको तर उनले जवाफमा ‘भाउजु, हामी समाजवादी हौं, हामीले तडकभडक बाट टाढै बस्नुपर्छ’ भनेर जवाफ दिएको बताउँछिन् । 

    खानपिनमा पनि असाध्यै सरल थियो मीना पाण्डेको आनीबानी । सर्लाहीका पुराना विद्यार्थी नेता सपथ आचार्यले जनताको पीरकर्मा बुझ्ने र कसैकोमा जाँदा सादा खाना मात्र खाने मीना पाण्डेको बानी रहेको बताए । 

    कसरी सम्झिने मीना पाण्डेलाई ?

    मीना दिदी व्यवहार कुशल नेतृ भएको बताउँछन् सर्लाहीका प्रदेशसभा सदस्य कौशल किशोर राय यादव । उनी भन्छन्, ‘सर्वसाधारण कार्यकर्तासँग अत्यन्तै गहिरिएर कुराकानी गर्ने र उनीहरूको समस्या समाधानका लागि सक्रिय भइहाल्ने असाधारण स्वभाव थियोे मीना दिदस्को । मेरो व्यक्तिगत र राजनीतिक जीवनमा मीना दिदीको प्रभाव ठूलो छ ।’

    सर्लाहीका अर्का कांग्रेस नेता विनोद खनाल मीना पाण्डेलाई भुइँ मान्छे र त्यसमा पनि अत्यन्तै पिछडिएका महिलाहरुसँग हार्दिकतापूर्ण संबन्ध राख्ने, प्रजातान्त्रिक मूल्य मान्यतामा कसैसँग सम्झौता नगर्ने एक व्यवहारीक नेताको रूपमा समाजले सम्झनुपर्ने तर्क गर्छन् । सर्लाहीका कहलिएका समाजसेवी बिष्णु चालिसेले मीना पाण्डेलाई समाजको लागि नेता स्वयं नैं उदाहरणीय व्यक्ति बन्नु पर्छ भन्ने मान्यतामा अविचलित भएर अघि बढ्ने आदर्श नारीको उपमा दिन सकिने बताए । त्यस्तै तर्क शिक्षक शंकर झाको रहेको छ । उनी भन्छन्, ‘मैले मीना पाण्डेको छिमेकी भएर उहाँको दैनन्दिनलाई नजिकबाट नियाल्ने मौका पाएँ । उहाँ मन्त्री भएको अवस्थादेखि चुनावमा पराजित भएको अवस्थामा समेत समान हुनुहुन्थ्यो । सादगीपूर्ण  जीवन शैली र आदर्श राजनीतिमा उहाँ किशुनजी, गणेशमान सिंह र महन्थ ठाकुर तहको नेता हुनुहुन्थ्यो ।’

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology