Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

बाग्लुङवासीलाई तीन वर्षअघिको बाढीले अझै झस्काइरहन्छ

बाग्लुङवासीलाई तीन वर्षअघिको बाढीले अझै झस्काइरहन्छ

  • 177
    SHARES
  • बाग्लुङवासीलाई तीन वर्षअघिको बाढीले अझै झस्काइरहन्छ

    बाग्लुङ । बाग्लुङको ढोरपाटन नगरपालिका ८ र ९ मा २०७७ भदौ १७ गते भीषण बाढी आयो । बाढीले सयौँ परिवार घरबारविहीन बनायो । बाढीमा परेका १५ जना अझै बेपत्ता छन् । तीन वर्ष अघिको बाढीले स्थानीइलाई भने अझै झस्काइरहन्छ ।

    पानी पर्यो भने स्थानीय राति उठेर खोलामा बहाव के कति छ भनेर हेर्न पुग्छन् । उनीहरू त्रासमा बाँचिरहेका छन् । सम्पत्ति र आफन्त गुमाएका निमप्रकाश विकले भने, ‘त्यो रात सम्झिँदा पनि मुर्छा पर्छु, अहिले त आकाश गड्याङगुडुङ गर्दा पनि झस्किन्छु ।’

    बाढीबाट विककी २५ वर्षीया श्रीमती चनी, नौ वर्षीय जेठो छोरो, दुई वर्षीय माइलो छोरो र २२ दिनको कान्छो छोरो गुमाएका थिए ।

    भएभरको जायजेथा सबै बाढीले बगाएको थियो । परिवारका सबै सदस्यलाई बाढीले बगाएपछि विक अहिले एक्लो बनेका छन् ।

    उनी अहिले ढोरपाटन-९ सुप्राङमा बसेका छन् । उनले भने, ‘पानी पर्दा जागराम बस्नु पर्ने अवस्था छ ।’ बाढी आएको रात आफू बुकीमा पूजा गर्न गएकाले ज्यान जोगिएको विक बताए ।

    बाढीले सबै बगाउँदा उहाँसित अब गरिखाने जग्गा छैन । नगरपालिका तथा विभिन्न संघ संस्थाबाट प्राप्त सहयोगले घर बनाएको उनको भनाइ छ ।

    विक भने, ‘जसोतसो दैनिकी चलिरहेको छ, जग्गा भए खेती किसानी गरेर खान पाइन्थ्यो ।’ सोही बाढीमा ढोरपाटन-९ का कुलबहादुर विकले परिवारका चार सदस्य गुमाए ।

    बाढीले उनको घरजग्गासहित २२ वर्षीय जेठो छोरो, २१ वर्षीया बुहारी, १८ वर्षीया छोरी र चार वर्षीया नातिनी बगाएको थियो ।

    घरबारविहीन भएपछि उनी लामो समय माइतीको आश्रयमा बसे । उनले भने, ‘अहिले ऋण गरेर ढोरपाटनमा घर बनाएको छु ।’

    बाढी आएको बेला विक श्रीमती, कान्छो छोरा र दुई बहिनी छोरीसहित गाउँमाथिको बारीमा गएका थिए ।

    उनले भने, ‘दुम्सीले मकै खाएर हैरान पारेको थियो, बारीमा दुम्सी लखेट्न गएका थियौँ, त्यहीँ गोठमा बस्यौँ ।त्यो दिनको सम्झनाले अझै तर्साइरहन्छ ।’

    बाढीले ढोरपाटन-६, ७, ८ र ९ का एक सय ३१ घरमा क्षति पुर्याएको थियो । एघार जलविद्युत् आयोजनाको विद्युत्गृह तथा नहर, एउटा स्वास्थ्य एकाइ, ११ झोलुंगे पुल, पाँच ढलान पुल, १० काठेपुल र दुई विद्यालयसमेत बगाएको थियो ।

  • सम्बन्धित विषय:

  • # बाग्लुङ

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij