Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

तातोपानी कुण्डलाई सुन्दर बनाईदै

तातोपानी कुण्डलाई सुन्दर बनाईदै

  • 227
    SHARES
  • तातोपानी कुण्डलाई सुन्दर बनाईदै

    म्याग्दी । म्याग्दीको बेनी नगरपालिका-४ मा रहेको पर्यटकीय तथा प्राकृतिक तातोपानी कुण्डलाई सुन्दर बनाउन थालिएको छ । पोखरा पर्यटन बोर्डको सहयोगमा तातोपानी कुण्ड व्यवस्थापन समितिले सुन्दर बनाउन लागेको हो ।

    सिंगा-तातोपानी कुण्ड व्यवस्थापन समितिका सचिव कृष्ण खड्काले कुण्ड परिसरका भौतिक संरचनालाई मौलिक र वरपर बगैँचा बनाएर आकर्षक बनाउन थालिएको बताए ।

    ‘पहिलो चरणमा यस वर्ष मौलिकता झल्कने प्रवेशद्वार र कपडा फेर्ने ठाउँ बनाउन लागेका छौँ’, सचिव खड्काले भने, ‘बजारदेखि कुण्डमा जाने पैदलमार्गको वरपर र पाखोमा फूल रोपेर बगैँचा बनाइसकेका छौँ ।’

    शरीर डुबाएर स्नान गर्न तलाउमा जाने प्रवेशद्वारलाई मौलिक बनाउन भक्तपुरे इँटा प्रयोग गरिएको सचिव खड्काले बताए । स्नानपछि कपडा फेर्न महिला र पुरुषका लागि छुट्टाछुट्टै कोठा बनाउन लागिएको छ ।

    पर्यटन बोर्डका सहायक प्रमुख नवराज पोखरेलले यस वर्ष तातोपानी कुण्डको सौन्दर्यता थप्न १५ लाख बजेट विनियोजन गरिएको बताए । कुण्ड समितिको थप तीन लाख लागत साझेदारीमा सो काम सुरु गरिएको हो ।

    आगामी वर्षमा पनि यो कार्यक्रमलाई निरन्तरता दिने बोर्डले जनाएको छ । दाताको सहयोगमा कुण्ड व्यवस्थापन समितिले यसअघि जलमाई मन्दिर र वुद्धको मूर्तिसहित स्तम्भ निर्माण गरेको थियो ।

    म्याग्दी नदीको किनारबाट प्राकृतिकरूपमा निस्कने ५० डिग्री सेल्सियस तातोपानी संकलन गरिएको तलाउमा स्नानसहितको उपचार र अवलोकनका लागि तातोपानीमा पाहुनाहरू आउने गर्छन् ।

    कुण्ड परिसरको वातावरणलाई रमणीय र आकर्षक बनाइने कुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले जानकारी दिए । बिरेनुनको गन्ध आउने पानी संकलन गरिएको पोखरीमा स्नान गरेर छाला, ग्यास्ट्रिक, बाथ, चोटपटक लागेको निको हुने त्यहाँ नुहाउन आउनेहरूको भनाइ थियो ।

    प्राकृतिक उपचारस्थलका रूपमा परिचित तातोपानीमा स्नानका लागि देशभरका नागरिकका साथै विदेशबाट पनि मानिस आउने गर्छन् । २०७९ साउनदेखि २०८० जेठ महिनासम्म १७ हजार नौ सय ९३ जनाले स्नान गरेका समितिका कर्मचारी रेशम कार्कीको भनाइ छ ।

    तातोपानी संकलन गरिएको तलाउमा एकपटकमा तीन सय ५० देखि चार सय जनाले स्नान गर्न सक्ने क्षमता छ । एक दिनमा दुईपटक दुई/दुई घण्टाका दरले तातोपानीको कुण्डमा शरीरलाई डुबाएर स्नान गरेपछि बाहिर निस्किएर पाँच/दश मिनेटसम्म पछ्यौरा, व्याल्यङ्केट, पलास्टिक, काम्लो आदि न्याना कपडा ओढेर शरीरबाट चिटचिट पसिना ननिस्कँदासम्म विश्राम गरिन्छ ।

    सात दिनसम्म स्नानका लागि प्रतिव्यक्ति तीन सय ५० शुल्क तोकिएको छ । प्रवेश शुल्क र चन्दा सहयोगवापत उठ्ने रकममध्ये २५ प्रतिशत बेनी नगरपालिका र १३ प्रतिशत आन्तरिक राजस्व कार्यालयमा कर बुझाउनुपर्छ ।

    बचत भएको रकम कुण्डका कर्मचारीको तलब, सञ्चालन, पूर्वाधार निर्माण, विद्यालयलाई अनुदान र सामाजिक क्षेत्रमा खर्च गरिँदै आएको छ । विगत १३ वर्षदेखि सरस्वती माविका १६ जनामध्ये चार निजी शिक्षकको तलबका लागि तातोपानी कुण्डले मासिक एक लाखका दरले सहयोग गर्दै आएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij