Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

विपद् व्यवस्थापन तयारी पूरा, जनशक्तिदेखि सामग्रीसमेत व्यवस्थापन

विपद् व्यवस्थापन तयारी पूरा, जनशक्तिदेखि सामग्रीसमेत व्यवस्थापन

  • 203
    SHARES
  • विपद् व्यवस्थापन तयारी पूरा, जनशक्तिदेखि सामग्रीसमेत व्यवस्थापन

    भक्तपुुर । मध्य वर्षामा बाढी, पहिरो र डुबानजस्ता विपद्का घटना भएर हुनसक्ने जनधनको क्षति न्यूनीकरण गर्न तथा क्षति हुन नदिन भक्तपुर जिल्लामा विपद् व्यवस्थापनको तयारी पूरा गरेको छ ।

    गत असार २२ गते विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को ११ औँ बैठकमा परिषद्का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले विपद्का पूर्वसूचना प्रणाली थप व्यवस्थित र प्रभावकारी बनाउन निर्देशन दिएका थिए ।

    भक्तपुरले भने त्यसअघिनै पूर्वतयारी गरिसकेको छ । जिल्ला विपद् व्यवस्थापन समिति भक्तपुरले भने १० महिना अगाडिनै जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०७९ बनाएर तयारी गरेको र यो वर्षाका लागि आवश्यक सबै तयारी पूरा गरेको जिल्ला प्रशासन कार्यालय भक्तपुरले जनाएको छ ।

    भक्तपुरका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक खगेन्द्रप्रसाद रिजालले जिल्लामा बाढी, पहिरोजस्ता वर्षामा हुने विपद्बाट क्षति हुन नदिन, क्षति न्यूनीकरण गर्न र विपद् आएमा तत्काल उद्धार गर्न सम्पूर्ण तयारी अवस्थामा रहेको बताए ।

    उनले भने, ‘विपद् व्यवस्थापनका लागि जिल्लाका चारवटै नगरपालिकासँग छलफल गरेर विपद् व्यवस्थापनका लागि पूर्वतयारी गरेका छौँ । नेपाल रेडक्रस सोसाइटीलाई तयारी अवस्थामा राखिएको छ । भक्तपुरमा उद्धारका लागि आवश्यक सबै सामग्री नेपाली सेनाको सूर्यविनायक ब्यारेकमा राखिएको छ, जनशक्ति पनि तयारी अवस्थामा छ, भक्तपुरमा वर्षाका कारण हुनसक्ने विपद्बाट धनजनको क्षति हुन नदिन सचेत छौँ ।’

    जिल्लाका भक्तपुर, मध्यपुरथिमि, सूर्यविनायक र चाँगुनारायण चारवटै नगरपालिकाले आफ्ना क्षेत्रमा हुनसक्ने बाढी, पहिरो एवं डुबानबाट क्षति हुन नदिन विपद् व्यवस्थापनका लागि आवश्यक सामग्री र जनशक्ति तयारी अवस्थामा राखेका छन् ।

    यहाँका मनोहरा तथा हनुमन्ते नदीमा बाढी आएमा तत्काल उद्धार गर्ने, भक्तपुर, मध्यपुरथिमि क्षेत्रमा हुनसक्ने डुबान र चाँगुनारायण तथा सूर्यविनायक नगरका पहाडी क्षेत्रमा हुनसक्ने पहिरोको जोखिमतर्फ सचेत रहँदै नगरपालिका एवं जिल्ला विपद् व्यवस्थापन समितिले सबै तयारी पूरा अवस्थामा राखेको प्रजिअ रिजालले बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij