Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

कोशीका ११ जिल्लामा फैलियो डेंगु

कोशीका ११ जिल्लामा फैलियो डेंगु

  • 232
    SHARES
  • कोशीका ११ जिल्लामा फैलियो डेंगु

    काठमाडौं । लामखुट्टेको टोकाइबाट हुने डेंगु संक्रमण झापा, मोरङ, सुनसरीलगायत कोशी प्रदेशका ११ जिल्लामा फैलिएको छ ।

    एडिज प्रजातिको दिउँसो टोक्ने लामखुट्टेको टोकाइबाट मानिसमा यसको संक्रमण फैलिन्छ । कोशी प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका पब्लिक हेल्थ अधिकृत (डेंगु फोकल पर्सन) विवेचना चम्लागाईँका अनुसार सात महिनायता झापामा २४, मोरङमा २५ र सुनसरीमा दुई सय ४० जना डेंगुका बिरामी फेला परेका छन् ।

    उनका अनुसार यो अवधिमा कोशी प्रदेशका ११ जिल्लामा डेंगु रोगीको संख्या तीन सय १२ जना पुगिसकेको छ । मधेस, पहाड र हिमाली जिल्ला सबैतिर डेंगु फैलिएको पाइएको छ ।

    गर्मी र बर्खायाममा डेंगु फैलिने गरेको छ । डेंगुका अधिकांश बिरामी एक महिनाभित्र फेला परेका हुन् । सुनसरीको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र झापाका अस्पतालमा डेंगुका बिरामीको उपचार भइरहेको छ ।

    पछिल्लो सातामात्रै सुनसरीमा ५३, मोरङमा नौ, झापामा चार, तेह्रथुममा पाँच, भोजपुरमा चार, ताप्लेजुङमा एक र खोटाङमा एक जना डेंगुका बिरामी फेला परेका छन् ।

    कोशी प्रदेशको सोलुखुम्बु, उदयपुर र पाँचथरबाहेक सबै जिल्लामा डेंगुका बिरामी भेटिएका छन् । सबैभन्दा बढी बिरामी सुनसरीमा रहेका छन् । कोशी प्रदेशभर पाइएका डेंगुका बिरामीको दुईतिहाइ संख्या सुनसरीमा नै छन् ।

    स्वास्थ्य कार्यालय झापाका स्वास्थ्य निरीक्षक कुलप्रसाद पौडेलले झापामा बिरामी देखिन थालेको बताए । प्रादेशिक अस्पताल भद्रपुरमा डेंगुका बिरामीको उपचार भइरहेको र डेंगु फैलिन नदिन जनचेतना कार्यक्रम सञ्चालनको तयारी भइरहेको उनले जानकारी दिए ।

    आम ज्वरोभन्दा निकै तीव्र ज्वरो आउनु डेंगुको लक्षण हो । खानामा स्वाद थाहा नहुनु, टाउको दुख्नु, गम्भीर अवस्थामा आँखा र नाकबाट रगत बग्नुजस्ता लक्षण डेंगुका बिरामीमा देखिन्छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij