Logo

२०८०, आश्विन १२ गते शुक्रवार

२०८०, आश्विन १२ गते शुक्रवार

images
images

हिमाली जिल्ला मनाङका किसान विकासे स्याउखेतीतर्फ आकर्षित

हिमाली जिल्ला मनाङका किसान विकासे स्याउखेतीतर्फ आकर्षित

  • 162
    SHARES
  • हिमाली जिल्ला मनाङका किसान विकासे स्याउखेतीतर्फ आकर्षित

    मनाङ । हिमाली जिल्ला मनाङका किसान स्याउखेतीतर्फ आकर्षित भएका छन् । स्याउ उत्पादन र बिक्री वितरण गरी जीविकोपार्जन चलाउने आधार बनाएर यहाँका किसान स्याउखेतीमा आकर्षित भएका हुन् ।

    images

    मनाङको तल्लो क्षेत्र नासो गाउँपालिका–८ ताचैका सोलबहादुर गुरुङका परिवारले परम्परागत खेती गर्दै आएका थिए । उत्पादन वृद्धि गर्ने उद्देश्यले अहिले विकासे (हाइब्रिड) स्याउखेतीतर्फ लागेका छन् ।

    परम्परागत स्याउ खेतीलाई परिस्कृत गर्दै आम्दानी बढाउन हाइब्रिड स्याउ खेती गर्न थालेकाे गुरुङ बताउँछन् । उनले खेतबारीमा स्थानीय प्रजातिका स्याउ, मकै, भट्मास, आलु, जौ, करु, फापर र राजमाको खेती गर्दै आएका छन् ।

    यी बाली ढिला र कम उत्पादन हुने भएकाले हाइब्रिड स्याउ खेती गर्न थालिएको उनी बताउँछन् । परम्परागत खेतीबाट मेहनतअनुसारको आयआर्जन नभएपछि अहिले मनाङका किसानले विकासे स्याउ खेती गर्न थालेका छन् ।

    विकासे स्याउ खेतीमा उच्च प्रविधिको प्रयोग हुने हुँदा यसलाई विस्तार गर्दै गएका छन् । सुरुआतमा चार रोपनी क्षेत्रफलमा उच्च प्रविधिको ‘हाई डेन्सिटी एम्पल फर्म’ले स्याउ खेती गरेको गुरुङले बताए ।

    यहीँबाट प्रोत्साहन हुँदै मनाङका किसानले उच्च प्रविधिका स्याउ खेती विस्तार गर्दै गइरहेको उनले बताए । ‘यही फर्मबाट अधिकांश मनाङका किसानले विभिन्न प्रजातिका स्याउका बिरुवा विस्तार गर्दै गइरहेका छन्,यसले आम्दानी पनि वृद्धि भएको छ’, उनले भने । फर्मले सुरुआतमा इटाली र सर्बियाबाट ल्याएको धेरै फल दिने फुजी, गाला, गोल्डेन र रेड डिलिसिस जातका स्याउ खेती विस्तार गर्दै गएको छ ।

    चार वर्षअघि विस्तार गरेको स्याउ खेतीबाट अहिले फल दिन थालेको यो दोस्रो वर्ष हो । यो प्रजातिको स्याउको बोटले दुई वर्षदेखि नै दिन थालेको र प्रत्येक वर्ष उत्पादन बढ्दै जाने भएकाले पनि यो प्रजातिको स्याउ खेतीतर्फ किसान आकर्षित भएको उनले बताए ।

    उनले भने, ‘लगाएको एक वर्षदेखि नै उत्पादन लिन थालेको हो, फल दिएको चार वर्ष भयो ।’ करिब रु.१० लाख लगानी गरेको उनले बताए । लगानीअनुसार उत्पादन राम्रो हुने भएपछि उनी खुसी छन् ।

    त्यस्तै नासो गाउँपालिका–६ तिल्चेका टंक गुरुङले पनि विकासे स्याउ खेती सुरु गरेका छन् । तीन रोपनीमा यही प्रजातिका स्याउ खेती गर्दै आएका छन् । यसको प्रजातिको स्याउ खेतीबाट छिटो उत्पादन लिन सकिने भएकाले लगानी छिटै उठ्ने उनले बताए ।

    मनाङमा अधिकांश कृषकले यस प्रविधिको स्याउ खेतीलाई अनुसरण गर्दै गएको कृषि ज्ञान केन्द्र मनाङका प्रमुख राजेश्वर सिलवालले जानकारी दिए ।

    यस प्रविधिको स्याउको सुरुवात र विकास

    एग्रो मनाङ प्रा.लि.बाट यस प्रविधिमार्फत स्याउ उत्पादनको पहिलो सुरुआत भएको हो । मनाङको ङिस्याङ गाउँपालिका–१ भ्राताङमा रहेको एग्रो मनाङले सात सय ३५ रोपनी क्षेत्रफलको जमिन भाडामा लिएर व्यावसायिक स्याउ खेती गरिरहेको छ । यहाँ गाला, गोल्डेन र फुजी गरी तीन प्रकारका स्याउ उत्पादन हुँदै आएको छ । यस प्रा.लि.ले लगाएको स्याउ टिप्न मात्रै एकदेखि डेढ महिना समय लाग्ने गरेको प्रालिका अध्यक्ष समराज गुरुङले जानकारी दिए ।

    गतवर्ष चार सय मेट्रिक टन बढी स्याउ उत्पादन भएको थियो । स्याउबाट वार्षिक रु।पाँच करोडभन्दा बढी आम्दानी गर्ने गरेको उनले बताए ।

    एग्रो मनाङको स्याउ काठमाडौं, पोखरा लगायत विभिन्न प्रमुख शहरका साथै ठूला–ठूला डिमार्टमेन्ट स्टोर्स तथा होटलमा बिक्री हुन्छ । ‘हाइडेन्सिटी’ प्रविधिबाट फलेका स्याउ ‘हिमालयन फ्रेस’ ब्रान्डबाट बजारमा बिक्री भइरहेको छ ।

    स्याउको विस्तार

    कृषि ज्ञान केन्द्र मनाङको तथ्याङ्कअनुसार १३ हजार बढी क्षेत्रफलमा यो प्रविधिको स्याउ खेती विस्तार भएको छ । ज्ञान केन्द्रका अनुसार पछिल्लो समय कृषक छनोट गरी व्यवस्थापनमा ५० र बिरुवामा ७५ प्रतिशत अनुदान समेत उपलब्ध गराएको छ । राम्रो उत्पादन भएमा प्रतिहेक्टर २१ मेट्रिक टनसम्म स्याउ उत्पादन हुने ज्ञान केन्द्र मनाङका प्रमुख सिलवालले बताए ।

    समुद्री सतहबाट एक हजार आठ सय मिटर उचाईभन्दा माथि यस प्रविधिको स्याउ राम्रो फल्ने र स्वादिलो हुने उनले बताए । स्याउ स्वादिलो भएपछि माग समेत उच्च रहेकाले यसतर्फ किसानको आकर्षण बढेको सिलवालले बताए । मनाङमा उत्पादित स्याउ लमजुङको बेसीँशहर हुँदै पोखरा, चितवन, काठमाडौं देखि अन्तराष्ट्रिय  बजारसम्म निर्यात हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ । 

    स्थलमार्गको पहुँचमा समस्या

    मनाङको स्थलमार्गको पहुँचमा समस्या रहेको छ । यसले गर्दा मनाङमा उत्पादित वस्तु निर्यातमा समस्या हुने गरेको छ । यहाँको स्थलमार्गलाई सहज बनाउन सकेमा उत्पादित वस्तु बजारसम्म पुर्‍याउन सहज हुन्छ । तर, मनाङ आवतजावतका लागि एउटा मात्रै स्थलमार्ग हुँदा पनि यो मार्ग निर्माणमा कठिनाइ छ ।

    सडक सञ्जालको ट्रयाक खोलिएको २० वर्ष बितिसक्दा पनि सुधार भएको छैन । यसले गर्दा मनाङमा उत्पादित वस्तु बजारसम्म सग्लो पुर्‍याउन मुस्किल छ । मनाङबाट वस्तु सग्लो प्याकेजिङ गरिए पनि बजारसम्म पुग्दा सडकका कारण एकापसमा ठोक्किएर बिग्रने र बजारमा यहाँबाट ढुवानी भएका स्याउ पूरा बिक्री गर्न नसक्दा किसान नोक्सान व्यहोर्न बाध्य छन् ।

    सडक सञ्जाल सहज भएमा यहाँबाट बजारसम्म पुग्दा स्याउ समयमा र सग्लो पुर्‍याउन सकिने किसान बताउँछन् । यहाँबाट समयमा बजारसम्म स्याउ पुर्‍याउन सकेमा जिल्लाकै आयस्तर बढ्ने जिल्लावासीको भनाइ छ । मनाङको विकास र सडक सञ्जाललाई सहज बनाउने कार्यमा संघ सरकार, प्रदेश सरकार र स्थानीय सरकारको चासो पुग्नुपर्ने आवश्यकता छ । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology