नयाँ दिल्ली । भारतीय सिने क्षेत्र (बलिउड)का चर्चित कलाकारलाई बाहिर हिँडडुल गर्न निकै समस्या पर्छ । उनीहरूलाई आफ्ना फ्यानबाटै जोगिन हम्मे पर्छ ।
आफूले मन पराएको कलाकारलाई नजिक भेट्दा फ्यानले हाल्ने घेरा नै निसास्सिने खालको हुन्छ । फ्यानबाट जोगिन पनि उनीहरूले अंगरक्षक (बडिगार्ड) राख्नुपर्ने अवस्था छ ।
भारतमा चर्चित बलिउड सेलिब्रेटीहरूले आफ्नो सुरक्षाका लागि प्रसस्त पैसा दिएर बडिगार्ड राखेका हुन्छन् । उनीहरू बाहिर जानु पर्दा बडिगार्ड र बाउन्सरहरूको झुन्ड साथैमा हुन्छन् ।
बलिउड सेलिब्रेटीहरूका अंगरक्षकले लिने पारिश्रमिक पनि निकै बढी छ । अधिकांश चर्चित सेलिब्रेटीका अंगरक्षकको वार्षिक पारिश्रमिक करोडभन्दा बढी छ ।
अहिलेसम्म सार्वजनिक भएको तथ्यअनुसार शाहरूख खानका बडिगार्डले सबैभन्दा बढी पारिश्रमिक लिन्छन् । उनका बडिगार्ड रवि सिंहले वार्षिक २ करोड ७० लाख भारू तलब लिन्छन् ।
अर्का सुपरस्टार सलमान खानका बडिगार्ड शेराले पनि वार्षिक दुई करोड पारिश्रमिक लिने गरेको भारतीय संचारमाध्यमले जनाएका छन् । शेराले विगत २९ वर्षदेखि लगातार सलमानको अंगरक्षकको रूपमा काम गरिरहेका छन् ।
अमिर खानका अंगरक्षक युवराज घोरपडे बढी पारिश्रमिक लिनेमा तेस्रो स्थानमा छन् । उनले पनि भारु दुई करोड हाराहारीमा वार्षिक पारिश्रमिक लिने गरेका छन् ।
त्यसैगरी अक्षय कुमार र ऋतिक रोशनले समान एक करोड २० लाख भारू आफ्ना बडिगार्डलाई तलब दिने गरेका छन् । अक्षयलाई श्रेयसे थेले र ऋतिकलाई मयुर शेट्ठीगरले सुरक्षा दिने गरेका छन् ।
भारतीय मिडिया रिपोर्टका अनुसार चर्चित अभिनेत्रीहरूले पनि आफ्नो सुरक्षाका लागि ठूलो धनराशी खर्चेर बडिगार्ड राख्ने गरेका छन् ।
अभिनेत्री अनुष्का शर्मा र दीपिका पादुकोणले वार्षिक एक करोड २० लाख भारू पारिश्रमिक दिएर अंगरक्षक राखेका छन् । दीपिकाको बडिगार्डमा जलाल र अनुष्काको बडिगार्डको जिम्मेवारी सोनुले सम्हालेका छन् ।
त्यसैगरी कट्रिना कैफले आफ्नो अंगरक्षक दीपक सिंहलाई वार्षिक एक करोड भारू पारिश्रमिक दिने गरेकी छिन् । अर्की अभिनेत्री श्रद्धा कपुरले अंगरक्षक अतुल काम्बलेलाई भारु ९५ लाख पारिश्रमिक दिने गरेको भारतीय संचारमाध्यमले उल्लेख गरेको छ । (एजेन्सीको सहयोगमा)
Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology