काठमाडौं । दिवंगत अभिनेता सारुक ताम्राकारले अभिनय गरेको अन्तिम चलचित्र ‘ह्यासट्याग माया’ को केही दृश्यलाई समेटेर तयार परिएको म्युजिक भिडिओ बिहीबार सार्वजनिक गरिएको छ ।
निर्माण कम्पनी रे भेञ्चर्सका अध्यक्ष तथा चलचित्र निर्देशक राजिव गुरुङले सारुकको अन्तिम इच्छा चलचित्र नै सार्वजनिक गर्ने रहे पनि त्याे सम्भव नभएका कारण म्युजिक भिडिओ सार्वजनिक गरिएको जानकारी दिए ।
‘हामीले चलचित्र पूरा गर्न सकेनौँ । तर, सारुकको कामलाई समेटेर उसलाई मन परेको गीतमा ती दृश्यलाई राखेर म्युजिक भिडिओ तयार गरेका छौँ । हाम्रो तर्फबाट सारुकलाई यो श्रद्धाञ्जलि हो’, निर्देशक गुरुङले भने ।
गीतमा अभिनेता ताम्राकारसँगै निकिता आचार्य, महेश मगर, सागर परियारले अभिनय गरेका छन् । बर्दियामा खिचिएको दृश्य समेटिएको निर्देशक गुरुङले बताए ।
कार्यक्रममा अभिनेता ताम्राकारकी आमा रुकमणि, नेपाल चलचित्र कलाकार संघको अध्यक्ष मोहन निरौला, अभिनेत्री सृष्टी श्रेष्ठ, अभिनेता मनिष श्रेष्ठ, निर्माता सरोज न्यौपाने र रोहित अधिकारी, निर्देशक सुदर्शन थापालगायत उपस्थित थिए ।
सारुककी आमा रुकमणिले आफ्नो छोराले निकै मेहनतका साथ गरेको कामलाई म्युजिक भिडिओकै माध्यमले सार्वजनिक गरिदिएकोमा धन्यवाद व्यक्त गरिन् ।
उनले छोराकै मृत्यु वियोगले पति सानु ताम्राकार अस्पताल भर्ना हुनु परेको कारण कार्यक्रम उपस्थित नभएको जानकारी गराइन् ।
उनले सारुकलाई लिएर सामाजिक सञ्जाल र अन्यत्र विभिन्न अड्कलबाजी भइरहेकाले अनुसन्धानमा खटिएका प्रहरीलाई छिटै सत्यतथ्य सार्वजनिक गरिदिन समेत आग्रह गरिन् ।
चलचित्र ‘रानी’ बाट अभिनेताका रूपमा उदाएका ताम्राकारले ‘मेरी मामू’, ‘इन्टु मिन्टु लन्डनमा’ लगायतका चलचित्रमा अभिनय गरेका छन् ।
अभिनेता ताम्राकारले गत असार २१ गते रातोपुलस्थित आफ्नै निवासमा आत्महत्या गरेका थिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology