काठमाडौं । नेकपा एमालेको नवौं महाधिवेशनदेखि नै वरिष्ठ नेता माधव नेपाल पक्षमा खुल्दै आएका स्थायी समिति सदस्य योगेश भट्टराईले पार्टी एकता अपरिहार्य बनेको बताएका छन् ।
मंगलबार सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा रहेका २० जना मन्त्रीलाई पदमुक्त गर्ने आदेश दिएपछि भट्टराईले सर्वोच्चको फैसलापछि एमालेको एकता अपरिहार्य भएको धारणा राखेका छन् ।
सर्वोच्चको आदेशपछि वरिष्ठ नेता नेपालले भने ओलीले पार्टी र तत्कालीन नेकपा नेतृत्वको सरकार नै तहस नहस पारेकाले ओलीको विकल्प खोज्न सबै वामपन्थी शक्तिलाई अपिल गरेका थिए ।
तर नेपाल पक्षकै दोस्रो तहका नेता तथा पूर्वमन्त्री भट्टराईले एमालेबाट विभक्त सबै नेता जुटेर पार्टीलाई सुदृढ बनाउने बेला आएको धारणा व्यक्त गरेका छन् ।
‘अदालतका पछिल्ला फैसलाले नेकपा एमालेको एकताको अपरिहार्यतालाई नै जोड गरेजस्तो लाग्छ मलाई त । एकताको पक्षमा उत्प्रेरणा नै मान्नुपर्छ,’ भट्टराईले ट्वीटरमार्फत भनेका छन्, ‘बुझ्नु पर्नेहरुलाई यो एउटा पाठ हो ।’
भट्टराईले विपक्षी गठबन्धनले नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन १४६ जना सांसदको हस्तार सर्वोच्चमा पेश भएकोतर्फ संकेत गर्दै सो हस्ताक्षर फिर्ता लिएर एमालेकै सरकारलाई निरन्तरता दिनुपर्ने आशय व्यक्त गरेका छन् ।
‘भन्छन् नि बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिँड,’ भट्टराईले लेखेका छन् ।
अदालतका पछिल्ला फैसलाले नेकपा एमालेको एकताको अपरिहार्यतालाई नै जोड गरे जस्तो लाग्छ मलाई त । एकताको पक्षमा उत्प्रेरणा नै मान्नु पर्छ । बुझ्नु पर्नेहरुलाई यो एउटा पाठ हो । भन्छन नि बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिंड ।
— Yogesh Bhattarai (@yogesbhattarai) June 22, 2021
Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology