नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीको प्रगति मैदानमा शनिबार र आइतबार अयोजना हुने युरोपेली संघसहित १९ वटा विशाल अर्थतन्त्र भएका राष्ट्रको अन्तर सरकारी संगठन जी २० शिखर सम्मेलनमा भागलिन विश्वका शक्तिराष्ट्रका नेताहरू आउने क्रम जारी छ ।
पन्ध्र वर्षअघिको आर्थिक संकटका बेला विश्वअर्थतन्त्रलाई व्यवस्थापन गर्ने उद्देश्यले उदीयमान अर्थतन्त्रको साझा संगठनका रुपमा स्थापना भएको जी २० को नयाँ दिल्ली संस्करणमा सहभागी हुने विभिन्न देशका राष्ट्रपति र प्रधानमन्त्री सवार विमानहरू इन्दिरा गान्धी अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण भइरहेका छन् ।
रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका राष्ट्रपति सी चिनफिङ अनुपस्थित हुने शिखर सम्मेलनमा कुनै मूलमुद्दामा सहमति जुट्नेमा आशंका व्यक्त गरिएको छ । शिखर सम्मेलनको पूर्वसन्ध्यामा साझा दस्तावेज तयार गर्ने तथा सहमति जुटाउन भारतलाई धौधौ परेको छ । शीर्ष नेतृत्वले अनुमोदन एवं हस्ताक्षर गरी सम्मेलनको अन्त्यमा जारी गर्ने संयुक्त वक्तव्यमा अझै ठोस सहमति जुट्न सकेको छैन ।
चीनका राष्ट्रपतिको अनुपस्थितिको कारण खुलाइएको छैन । अमेरिकी नेतृत्वको यो समूहलाई असफल पार्दै जी २० स्थानमा आफू अनुकूल अर्को संस्था बनाउने आशय बेइजिङले व्यक्त गर्दै आएको छ । जी २० शिखर सम्मेलनका बेला चिनियाँ नेता सी भेनेजुएला र जाम्बियाका राष्ट्रपतिको स्वागतमा व्यस्त भइरहेका छन् ।
युक्रेनमाथि हठात् आक्रमण गरेर युद्ध अपराधको आक्षेप खेपिरहेका रुसका राष्ट्रपतिको अन्तरराष्ट्रियस्तरमा निन्दा र कूटनीतिक भत्र्र्सना भएको छ तर उनले आफ्ना सहयोगीका साथमा युक्रेन युद्ध आवश्यक एवं औचित्यपूर्ण भएको दाबी गर्दै आएका छन् ।
बेलायतका प्रधानमन्त्री ऋषि सुनक जी २० शिखर सम्मेलनमा फेरि पनि रुसी राष्ट्रपतिले आफ्नो अनुहार देखाउन नचाहेको बताउँछन् । आफ्नो कूटनीतिक वहिर्गमन एवं राष्ट्रपति भवनको एकान्तमा बस्नुपर्ने परिस्थितिको निर्माण उनी स्वयम् गरेको प्रधानमन्त्री सुनकको भनाइ छ ।
जी २० का अन्य नेताहरूले भने सम्मेलनमा आफूहरू उपस्थित भएर रुसी नेता पुटिनले निम्त्याएको विनाशको क्षतिपूर्तिका निम्ति सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
शिखर सम्मेलनमा भाग लिन एयरफोर्स वानमा देश छाडिसकेका अमेरिकी राष्ट्रपति जो बाइडेनले जी २० ले अझै विश्व अर्थव्यवस्थामा योगदान गर्नसक्ने बताएका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology