वेबटिभी खबर
काठमाडाैं । हामी केवल बोलेर मात्रै कुरा गर्दैनौं । दैनिक धेरै कुराहरू म्यासेज, च्याटमा लेखेर पनि हुन्छ । यस्तो कुराकानीमा भावनाहरू खुलेर भन्नका लागि इमोजी सबैभन्दा ठूलो सहारा बनेको छ । इन्स्टाग्राम, फेसबुक, ट्विटरजस्ता सोसल मिडियामा हामी आफ्नो भावना व्यक्त गर्नका लागि इमोजीको प्रयोग गरिरहेका हुन्छौं ।
सयौं अक्षर टाइप गरेर भन्नुपर्ने भावनाहरू एउटै इमोजीबाट व्यक्त गर्न सकिन्छ । पछिल्लो वर्ष केही इमोजीहरू च्याटिङ कि-बोर्डमा राखिएका छन् । यसको उद्देश्य हाम्रो डिजिटल गफमा लैंगिक, नश्लीय विभेद हटाउने रहेको छ । यदि तपाईंले ध्यान दिनुभएको छैन भने च्याटिङ किबोर्ड खोल्नुहोस् र इमोजीको स्माइली एन्ड पिपुल सेक्सनमा सान्ता क्लजको इमोजी खोज्नुहोस् । इमोजीमा तपाईंले तीन प्रकारका सान्ता पाउनुहुनेछ । एक पुरुष, एक महिला र एक पुरुष वा महिला भनेर स्पष्ट रूपमा परिभाषित नगरिएका मक्स क्लज छन् । तपाईं यी विभिन्न सान्ताको रंग पनि आफू अनुकूल परिवर्तन गर्न सक्नुहुन्छ ।
यसरी नै धेरै इमाेजीहरू विभिन्न किसिममा भेटिन्छन् । यी फरक-फरक इमोजीको रंग पनि आफ्नो इच्छाअनुसारका छन् । सबै लिंग र नश्लका मानिसका लागि च्याटिंग कि-बोर्डमा यस्ता इमोजी राखिएको हो । विश्वभर भएका मानिसहरूको प्रतिनिधित्व हुने गरी इमोजी कसले बनाउँछ ? यस प्रश्नको उत्तरमा एक महिलाको नाम अगाडि आउँछः जेनिफर डेनियल । हाल जेनिफर 'इमोजी सबकमिटी फर द युनिकोड कन्सोर्टियम' प्रमुख हुन् । यही संस्थाले हाम्रो च्याटबक्सका इमोजी डिजाइन गर्छ । जेनिफर समानता बढाउने र विचारोत्तेजक इमोजीकी कट्टर समर्थक हुन् । मिस्टर क्लज, मिसेज क्लज र मक्स क्लज इमोजीको पछाडि उनकै आइडिया छ ।
अहिले जेनिफर कोरोना महामारीपछि विश्वको स्थिति देखाउने खालको इमोजी बनाउन लागि परेकी छन् । यसका लागि उनले सर्वसाधारणसँग सल्लाह लिइरहेकी छन् । हालै इकोनोमिक टाइम्समा प्रकाशित अन्तर्वार्तामा उनले इमोजी किन आवश्यक छ ? भन्ने प्रश्नमा उनले भनेकी छन्, ‘मेरो बुझाइले भन्छ, केही नबोली हामी ८० प्रतिशत समय आफैंलाई अभिव्यक्त गर्दछौं । जब हामी बोल्छौं, त्यहाँ धेरै तरिका हुन्छन् । यस समयमा हामी अनौपचारिक र लापरवाह हुन्छौं । यदि तपाई टाइप गरेर थकित हुनुहुन्छ भने ईमोजीबाट धेरै कुरा भन्न सक्नुहुन्छ ।’
यस अन्तर्वार्तामा उनले थप भनेकी थिइन्, 'सुरुमा इमोजी च्याट किबोर्डमा हुँदा मानिसहरुमा भाषा विग्रिन्छ भन्ने गलत धारणा थियो । इमोजी पनि एक नयाँ भाषा हो तर यस्तो भएन, किनकी यो हामीले पहिले नै बोलेको भाषाको अंश हो । तपाईंसँगै इमोजी पनि परिवर्तन हुँदै जान्छ । तपाई जसरी कुरा गर्नुहुन्छ, बोल्नुहुन्छ यो पनि त्यसरी नै फेरिन्छ । आज उपलब्ध ३००० इमोजीलाई हेर्न सकिन्छ । यसको अर्थ तपाईको उमेर, लैंगिकता र क्षेत्रको हिसाबबाट फेरिइरहन्छ ।'
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij