काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पनौती नगरपालिकाको कुशादेवीस्थित कुशादेवी माध्यमिक विद्यालयले आयोजना गरेको नगरस्तरीय विज्ञान प्रदर्शनीमा नगरका चार सय ५० विद्यार्थीले आफ्ना ‘आविष्कार’ प्रदर्शनी गरेका छन् । विज्ञानका विषयमा विद्यार्थीप्रति रुचि एवं आकर्षण बढाउन उक्त विद्यालयले आफ्नो प्राङ्गणमा बुधबार वृहत प्रदर्शनीको आयोजना गरेको थियो ।
विज्ञान प्रदर्शनीमा दुई हजारभन्दा धेरैले प्रदर्शनीको अवलोकन गरेको जनाइएको छ । विद्यार्थीको हौसला बढाउन राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुन सहभागी भएर विद्यार्थीको उत्कृष्ट आविष्कारलाई वृहत् रुपमा उत्पादन गर्ने हिसाबले सहयोग गर्ने प्रतिबद्धता जनाए।
उनले विद्यार्थीलाई मेहनती र अध्ययनशील बनाउने विद्यालयले यस्ता प्रकारका प्रदर्शनी गर्ने उल्लेख गर्दै सहभागी विद्यार्थीलाई हौसलासमेत प्रदान गर्नुभयो । पुण्य मावि पनौतीको कक्षा ९ मा अध्ययरत विद्यार्थी बिमल बस्नेतले प्रदर्शनीमा गोबर, तामाको पाता र जस्तापाताबाट बिजुली उत्पादन हुृन्छ भन्ने उदाहरण पुष्टि गरिदिए । उनले बिजुली उत्पादन गरेर त्यसबाट भित्ते घडी चलाएर आफ्नो कला प्रदर्शन गरे ।
कक्षा ९ र १० को पाठ्यक्रममा ऊर्जा उत्पादनबारे मौखिक सिकाई गरेपनि प्रयोगात्मक रुपमा आफैँले निर्माण गर्न पाउँदा निक्कै खुसी लागेको उनले बताए । यस्तै सोही विद्यालयका हेमन्त सापकोटाले ‘को बन्छ करोडपती ?’ कार्यक्रममा झैँ प्राकृतिक रुपमा मानवको दिमागको परीक्षण गर्ने ‘मेसिन’ बनाएका थिए । मेसिनमा रहेका प्रश्नको सही उत्तरमा हरियो र गलत उत्तरमा रातो बत्ती बलेको क्रियाकलाप प्रदर्शनी पुगेका धेरैले चाख मानेर हेरिरहेका देखिन्थे । ‘हामीले मेसिनलाई अझ सुधार गर्दै जानेछौँ, यसले कम्प्लिट्ली एन्सर देओस्’ हेमन्तले साथीहरुको चाहनासमेत व्यक्त गरे ।
पुण्य माविका विद्यार्थी मात्रै होइन, पनौती नगरमा रहेका कुशादेवी मावि, बाल आर्दश मावि, शान्ति निकेतन मावि, गोरखनाथ आधारभूत, भालेश्वर मावि, वाल प्रकाश मावि, ईन्द्रेश्वर मावि, कमलादेवी जनप्रिय मावि, पनौती आधारभूत र फुल्चोकी आधारभूत विद्यालयका विद्यार्थीले समूहगत रुपमा आफ्नो सिर्जना सोही प्रदर्शनीमा प्रस्तुत गरेका हुन् ।
त्यस्तै विद्यार्थी सिवानी सापकोटा र कृपा ढुङ्गानाको ‘म्याजिक बक्क’ पनि निक्कैको चाखलाग्दो विषय बन्यो । पानी तान्ने मेसिनको स्वचालित ‘अन–अफ’देखि केबलकारसम्म निर्माण गरी विद्यार्थीले आ–आफ्ना सिर्जनशिलता प्रदर्शन गरेका थिए । पनौती नगरमा यस्तो प्रकारको वृहत प्रदर्शनी पहिलो पटक आयोजना गरिएको हो । फ्रिडम टु लर्न युकेको सहयोगमा स्थानीय ग्रामीण सामुदायिक सङ्गठन र पनौती नगरपालिकाको आयोजनामा भएको कार्यक्रम निक्कै प्रभावकारी देखियो ।
सङ्गठका कार्यकारी निर्देशक एव कुशादेवी मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीकृष्ण थापाले पनौतीमा शैक्षिक विकासमा केही नविनतम् योगदान होस भन्ने उद्देश्यले विज्ञान प्रदर्शनी आयोजना गरिएको बताए ।
‘विषयगत सिकाइका लागि प्रयोगात्मक प्रतिस्पर्धा निकै उपलब्धिमूलक भएको पाइयो’, उनले भने । सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीले पाठ्याक्रमका सुनेका विषयलाई विद्यार्थीले व्यवहारमा सिर्जनात्मकतामा उतारेकोमा पनौती नगरका पूर्व प्रमुख भीम न्यौपानेले खुसी व्यक्त गरे । काठमाडौंँ विश्वविद्यालय स्कुल अफ साइन्सका डिन मनोज हुमागार्इंले यस्ता प्रदर्शनीले विद्यार्थीमा खोजपूर्ण अध्ययनमा रुचि बढाउने भएकाले विषयगत प्रदर्शनी गर्न सुझाव दिए । कार्यक्रममा पनौती नगरका जनप्रतिनिधि तथा कर्मचारी, शिक्षक, विद्यार्थीलगायत स्थानीय शैक्षिक अगुवाको सहभागिता रहेको थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology