सुर्खेत । पश्चिम सुर्खेतको बड्डीचौर-खम्बागाडे-विद्यापुर-बल्दे सडक ट्रयाक खुलेको २९ वर्षसम्म सडक लथालिंग थियो ।
पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्मे हुँदा पश्चिम सुर्खेतवासीलाई निकै सास्ती हुन्थ्यो । बिरामी र गर्भवती महिलालाई निकै जोखिम थियो । सुर्खेत पश्चिमका नागरिकको लाइफ लाइनका रूपमा रहेको सडकखण्डलाई पक्की बनाउने हरेक पटक चुनावी नारा बन्थ्यो ।
तर चुनाव सकिएपछि कहिल्यै टालो नफेरेको उक्त सडकखण्ड २९ वर्षपछि स्तरोन्नतिको काम सुरु भएपछि पश्चिम सुर्खेतवासी खुसीयाली भएका छन ।
चौकुने गाउँपालिका-२ का ६५ वर्षीय मानबहादुर बडुवाल सडक सुधार हुँदा निकै खुसी भएको बताए । हिँड्नै मुस्किल हुने सडकको स्तरोन्नति हुन थालेपछि अब दुःखका दिन सकिने उनको आशा छ ।
‘यहाँका नागरिक बिग्रँदो अवस्थाका कारण वर्षात्अगावै घरायसी सामानको जोहो मिलाउँथे । सडक पक्की बनेपछि त्यो अवस्था सकिनेछ’, स्थानीय बडुवालले भने । मदन भण्डारी राजमार्गअन्तर्गत पश्चिम सुर्खेतको ४५ किलोमिटरको सडकलाई तीन खण्डमा विभाजन गरी हाल तीव्रगतिले काम भइरहेको छ ।
तीन खण्डमध्ये बड्डीचौर-खम्बागाडे र विद्यापुर-बल्दे सडकखण्डको निर्माण सम्झौता भई तीव्रगतिले काम भइरहेको छ भने खम्बागाडे-विद्यापुर सडकखण्डको काम सुरु हुँदैछ ।राजमार्गको तीन खण्डमध्ये दुईवटा खण्डमा मदन भण्डारी राजमार्गले र एक खण्डमा कर्णाली प्रदेश सरकारले काम गर्दैछ ।
बाँकी खण्ड बल्देबाट लगामसम्मको प्रारम्भिक वातावरणीय प्रभाव मूल्यांकन (आइइई) स्वीकृत भइसकेको छ भने लगामबाट कर्णाली सडक खण्डको आइइई स्वीकृतको चरणमा रहेको मदन भण्डारी राजमार्ग योजना कार्यालय सुर्खेतका प्रमुख शम्भुप्रसाद आचार्यले बताए ।
उनका अनुसार सडक निर्माणमा पश्चिम सुर्खेतवासीदेखि जनप्रतिनिधिहरूको समेत साथ रहेकाले अब सम्झौता मितिभित्रै सडक निर्माण हुनेछन् । जग्गा मुअब्जाका लागि घरटहराको लगत लिने काम भइरहेको कार्यालय प्रमुख आचार्यले बताए ।
हाल तीनवटै सडकखण्डमा वातावरणीय प्रभाव मूल्यांकन (इआइए) लगायतका काम सम्पन्न भइसकेका छन । मध्यपहाडी राजमार्ग र पूर्व-पश्चिम राजमार्गको बीचमा बन्दै गरेको मदन भण्डारी राजमार्गले नेपालको पूर्वबाट पश्चिमसम्मका चुरे आसपासका क्षेत्रलाई समेटेको छ ।
बड्डीचौरबाट खम्बागाडेसम्मको १३ किलोमिटर सडक तीनवटा मोटरेबल पुल निर्माण सम्झौता भई अघि बढेका छन । हाल यो सडकखण्डको १५ प्रतिशत भौतिक प्रगति भएको छ । हाल उक्त खण्डमा नाला निर्माण, ग्याबिन, कल्भर्टलगायतका काम भइरहेको छ।
यसै खण्डमा पुनःनिर्माणको काम सडक डिभिजन कार्यालय सुर्खेतले गरेको छ । यो सडकखण्डमा सात किलोमिटर जंगल क्षेत्र छ । तर समयमा रुख कटान आदेश नआउँदा काममा ढिलाइ हुने गरेको छ ।
यसका लागि कर्णाली प्रदेश सरकारले ४२ करोड बजेट विनियोजन गरेको छ । २०७९ देखि काम सुरु भएको उक्त खण्डमा २०८१ असार १५ गतेसम्म काम सम्पन्न गर्नुपर्नेछ ।
खम्बागाडेबाट विद्यापुरसम्मको १० किलोमिटर सडकखण्डको काम भने अघि बढ्न सकेको छैन । सडक निर्माणका लागि ठेक्का व्यवस्थापन गरिँदैछ भने बहुवर्षीय स्रोत सुनिश्चितताका लागि प्रक्रिया अघि बढेको आयोजना प्रमुख आचार्यले बताए ।
विद्यापुरबाट बल्देसम्मको सडकखण्ड २२ किलोमिटर छ । यो सडकखण्ड ठेक्का व्यवस्थापन भई हाल निर्माणको काम तीव्रगतिमा भइरहेको छ । सम्झौताअनुसार २०७९ फागुन १७ गतेदेखि सुरु भएको २२ किलोमिटर सडकखण्डको काम २०८२ फागुन १६ गतेसम्म सम्पन्न गरिसक्नु पर्नेछ ।
राजमार्ग क्षेत्रमा पर्ने रुख कटानको कानुनी प्रक्रिया पूरा भएपछि विस्तृत काम अघि बढ्ने आयोजना कार्यालयले जनाएको छ । भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपाईँले निर्धारित मितिमै काम सम्पन्न गर्ने बताइन् ।
‘अनेक समस्याबीच पनि कामको रफ्तार देख्दा निकै खुसी लाग्यो । अहिले ठेकेदारप्रति गुनासो गर्ने ठाउँ छैन’, राज्यमन्त्री चपाईँले भनिन्, ‘सडक निर्माण समयमै सम्पन्न गर्न सबैले सहयोग गरौँ ।’
समयमै काम सम्पन्न गर्न र रुख कटानका लागि आवश्यक पहल गर्ने मन्त्री चपाईँको भनाइ छ । सडककै कारण अहिले पश्चिम सुर्खेतका किसानले उत्पादन गरेको दूध र तरकारी बजारमा बेच्नका लागि महिलाले पैदल बजारसम्म पुगेर बेचेर फर्कनुपर्ने बाध्यता छ।
बिहानको झिसमिसेमै पैदल हिँडेर स्थानीय बजारमा दूध र तरकारी बेच्न जाने महिला साँझमात्रै घर फर्किनुपर्ने बाध्यता छ । सडक स्तरोन्नति भएपछि उत्पादित वस्तु बेचेर ग्रामीण क्षेत्रका किसानको आयआर्जनमा वृद्धि हुने चौकुने गाउँपालिकाका अध्यक्ष खड्क विक (विवश)ले बताए ।
गाउँपालिकाका अध्यक्षले विकले भने, ‘सडक स्तरोन्नतिपछि ढुवानीका साधन पनि बारीबारीमै पुग्नेछन् । कुहिएर जाने तरकारी बजारमा पुग्नेछ । कृषकले आफ्ना वस्तु सजिलै बजार पुर्याउने अवस्था आउनेछ । किसानको उत्पादन गाउँमै राम्रो मूल्यमा बिक्री हुनेछ।’
सडक सञ्जालले आम मानिसलाई करेसाबारीमा फलेका तरकारी होस् या खेतबारीमा फलेको अन्न, बजार पुर्याउन सहज बनाउनेछ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology