काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले मुलुकको समग्र स्वास्थ्य क्षेत्रको सुधारका लागि आफूले भगिरथ प्रयास गरिरहेको बताएका छन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आयोजना गरेको जनसंख्या र विकाससम्बन्धी राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले आजको दिनमा असहाय र गरिब नागरिक स्वास्थ्य उपचारबाट वञ्चित नहुने उल्लेख गरे ।
मन्त्री बस्नेतले भने, ‘गरिब र असहाय नागरिकलाई निःशुल्क आधारभूत स्वास्थ्य सेवा दिलाउने अभियानमा लागेको छु, यसमा सबैको सहयोग अपरिहार्य छ, अब कुनै पनि नागरिक पैसा नभएर उपचार नपाएर छट्पटाउनुपर्दैन ।’
जनसंख्या र विकास एकापसमा अन्तर सम्बन्धित विषय हुन् भन्दै उनले शिक्षा र स्वास्थ्यजस्ता सामाजिक क्षेत्रको विकासबाट गुणस्तरीय नागरिक उत्पादन गर्न सकिने यस क्षेत्रको सुधारका लागि सबै संयन्त्र क्रियाशील हुनुपर्ने बताए ।
मन्त्री बस्नेतले जनसंख्याको असन्तुलनले दिगो विकास लक्ष्य हासिल गर्न कठिनाइ हुने उल्लेख गरे ।
‘ग्रामीण क्षेत्र रित्तिने र सहरी भेगमा भीडभाड हुने चुनौती बढेको छ’, मन्त्री बस्नेले भने, ‘शहरमा जनघनत्व बढ्ने तर गाउँ रित्तिँदै जाने प्रवृत्ति बढेको छ, यसले सुविधाको अवसरको विभेद बढाएको छ र स्वास्थ्य शिक्षा जस्ता आधारभूत आवश्यकताको पहुँच र गुणस्तर अभिवृद्धिमा समस्या उत्पन्न हुन्छ ।’
मन्त्री बस्नेतले जनसंख्याको असन्तुलन नियन्त्रण गरी गुणस्तरीय आधारभूत स्वास्थ्य सेवा अभिवृद्धि गर्न तीन तहका सरकारको समन्वय र सहकार्य गरी नयाँ रणनीतिका साथ अघि बढ्नुपर्नेमा जोड दिए ।
उनले जनसंख्या वृद्धिदरमा कमी आएको र लैङ्गिक अनुपात पनि कमजोर रहेको भन्दै अबको दृष्टिकोण त्यसतर्फ केन्द्रित हुनुपर्ने धारणा राखे ।
Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology