Logo

२०८०, आश्विन १२ गते शुक्रवार

२०८०, आश्विन १२ गते शुक्रवार

images
images

बाख्रापालन व्यवसायबाट राम्रो आम्दानी गर्दै किसान

बाख्रापालन व्यवसायबाट राम्रो आम्दानी गर्दै किसान

  • 59
    SHARES
  • बाख्रापालन व्यवसायबाट राम्रो आम्दानी गर्दै किसान

    स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका-१४ यायडाँडाका खेमराज खनाल बाख्रा पालन व्यवसायमा रमाउन थालेका छन । सात वर्ष विदेश बसेर फर्केका उनले चार वर्ष अघि गाउँमै खनाल बाख्रा तथा पशुपन्छी फार्म दर्ता गरेर व्यवसाय गरेका हुन ।

    images

    ‘विदेशमा नेपालीले कम्पनीमा जस्तोसुकै राम्रो काम गरे पनि पूरै कामदारले गाली खानुपरेको देख्दा अत्यन्त दुःख लाग्थ्यो, त्यो समय स्वदेश फर्केर केही गरौँ भन्ने हुन्थ्यो’, कृषक खनालले भने, ‘मैले होटलमा काम गर्थें, कोरोनाका कारण होटल बन्दभएपछि कम्पनीले घर पठाइदियो, मलाई पनि के खोज्छस् आँखो भने जस्तै भयो ।’

    उनले विदेशबाट फर्केपछि पाँच माउँबाट व्यावसायिक बाख्रापालन सुरु गरेको बताए । ‘यता बाख्रापालन व्यवसाय चलिरहेको थियो, कोराना कहरको अन्तिमतिर कम्पनीले बोलायो’, खनालले भने, ‘भौतिक सुविधा मात्र ठूलो कुरा होइन, परिवारसँग रमाएर व्यवसायमा गर्नु पनि जीवन सुन्दर पक्ष हो भन्ने लागेर विदेश नगएर आफ्नो पेसालाई निरन्तरता दिएँ ।’

    उनले स्थानीय खरी जातका बाख्रा, जमुनापारी क्रस, बोयर क्रस र सानन् क्रस बाख्रा पाल्दै आएका छन । फार्ममा अहिले साना ठूला करिब ७० वटा बाख्रा रहेका छन । यहाँ उत्पादित बाख्रा स्थानीय बजारमा खपत हुँदै आएका छन । कृषक खनालको व्यवसायबाट हाल १० जनाको परिवार पालिँदै आएको छ ।

    ‘घरमा राजगारको गतिलो माध्यम छैन त्यसैले परिवारका सबै जना यही बाख्रापालन व्यवसायमा आश्रित हुनुपरेको छ’, खनालले भने, ‘वार्षिकरुपमा तीन/चार लाख आम्दानी हुन्छ यसैबाट परिवारको गर्जो टरेको छ ।’

    उनले हालसम्म जिल्ला भेटिनरीबाट खोर सुधार कार्यक्रमअन्तर्गत एक लाख र वालिङ नगरपालिका र युएनडिपीको संयुक्त पहलमा कोभिड-१९ प्रतिकार्य परियोजनाअन्तर्ग ५० हजार अनुदान पाएका छन ।

    कृषक खनालसँग स्टिल फिडिङ र एक आधुनिक खोर छ । उनले सुपरनेपियर, जैयाँ घाँस, मेन्डुला, राई खनियो, कोइरालोलगायतका घाँस पनि लगाएका छन । यस व्यवसायबाट आफूलाई सन्तुष्टि मिले पनि पहुँचका आधारमा अनुदान वितरण हुँदा दुःख लाग्ने गरेको उनको भनाइ छ ।

    ‘बन्द कोठामा कागज मिलाएर अनुदान खाने प्रचलनलाई निरुत्साहित गर्नुपर्छ’, खनालले भने, ‘अनुदान र सुलभ दरको कर्जा वितरण गर्दा किसानको फार्ममै पुगेर अवलोकन गर्नुपर्छ, वास्तविक किसान हो भने मात्र राज्यले दिएका सुविधा दिनुपर्छ ।’

    उनले पशुपन्छीको निःशुल्क बीमा हुनुपर्ने र किसानले दावी गरेको बीमा रकमसमेत सहज तरिकाले नपाउने गरेको दुखेसो पोखे । खनाललाई ३० वर्षीया श्रीमती चुना, ३२ वर्षीय भाइ खिनप्रसाद, ७६ वर्षीया आमा धनकुमारीले व्यवसायमा सहयोग गर्दै आएका छन ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology