काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले औषधिको गुणस्तरमा कसैसँग सम्झौता नगर्न निर्देशन दिएका छन् ।
औषधि व्यवस्था विभागको समीक्षा बैठकलाई सम्बोधन गर्दै उनले स्वास्थ्य सेवाको गुणस्तर मापनको केन्द्र औषधि व्यवस्था विभाग भएकाले यसले गुणस्तरमा कसैसँग पनि सम्झौता गर्न नहुने बताए ।
उनले भने, ‘स्वास्थ्य उपचार औषधिको गुणस्तरमाभर पर्छ । विभागले गुणस्तर कामय राख्न परीक्षण र अनुगमनलाई प्राथमिकतामा राखेर अगाडि बढ्नु आवश्यक छ । जनताले गुणस्तरीय औषधि पाउनुपर्छ ।’
औषधि एकदमै संवेदनशील विषय भएको भन्दै मन्त्री बस्नेतले यसमा सानो गल्तीले पनि व्यक्तिको ज्यान जोखिममा पर्नेतर्फ सतर्क रहन सबैलाई अनुरोध गरेका छन् ।
मन्त्रालयका सचिव डा.रोशन पोखरेलले थोरै दरबन्दीमा पनि बढी से बढी काम गर्न सक्नुपर्ने अहिलेको आवश्यकता रहेको बताउँदै विभागको संरचना सात वटै प्रदेशमा लैजान अब ढिलाइ गर्न नहुने बताए ।
विभागका महानिर्देशक नारायण ढकालले विभागले आफ्नो क्षमताअनुसार औषधिको गुणस्तर सुधार, अनुगमन र परीक्षणका क्षेत्रमा काम गरिरहेको जानकारी दिँदै जनशक्ति अभावमा थोरै औषधिको नमुना मात्र परीक्षण गर्न सकिएको बताए ।
उनले औषधि प्रयोगशालमा जनशक्ति अभावकै कारण सोचअनुसार काम गर्न नसकेको बताए । उनले संरचना स्थानीय तहसम्म पुर्याउन नसक्दा फार्मेसीको अनुगमन प्रभावकारी हुन नसकेको बताए ।
उनले प्रादेशिकस्तरमा समेत औषधि परीक्षण गर्ने प्रयोगशाला स्थापना गर्न आवश्यक रहेको बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology