बाँके । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल परिसरमा बिरामी कुरुवा घर निर्माण गरिएको छ ।
लायन्स क्लब इन्टरनेशनल फाउण्डेशन र सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आर्थिक सहयोगमा कुरुवा घरको निर्माण गरिएको हो ।
कुरुवा घर निर्माण गर्न लायन्स इन्टरनेशनको एक करोड ११ लाख ५६ हजार तथा अस्पतालको ३७ लाख ६५ हजार खर्च भएको लायन्स क्लब अफ नेपालगञ्ज खजुराका अध्यक्ष कृष्ण भण्डारीले जानकारी दिए ।
भवन बनेपछि उपचारका लागि आउने बिरामीका कुरुवालाई सहज हुनेछ । ‘खासगरी जटिल प्रकृतिका बिरामीका कुरुवालाई धेरै सहज हुनेछ’, अध्यक्ष भण्डारीले भने, ‘कुरुवा घर निर्माणपछि बिरामी र आफन्तलाई होटलमा बस्नुपर्ने बाध्यताको अन्त्य हुनेछ ।’
कुरुवा घरमा १५ कोठा रहेका छन । अस्पताल विकास समितिका अध्यक्ष टेकेन्द्र मल्लका अनुसार अस्पतालमा अहिले बहुप्रतिक्षित लिन्याक मेसिन सञ्चालनको काम अन्तिम चरणमा पुगेको छ ।
लिन्याक मेसिन विकीरणका माध्यमबाट सेकाइ गरेर उपचार गर्ने उपकरण हो । करिब २७ करोड मूल्यको उक्त मेसिनले पाठेघरको मुख, स्तन, नाक, कान, घाँटीलगायत शरीरका विभिन्न अंगमा हुने क्यान्सरको उपचार गर्न मद्दत पुग्छ ।
अहिले उक्त मेसिनको सेवा लिन बिरामी भरतपुर र भक्तपुर क्यान्सर अस्पताल धाउन बाध्य छन । भरतपुर र भक्तपुरमा पनि उक्त मेसिनको सेवा लिन एक महिनादेखि ४५ दिनसम्म पालो पर्खनुपर्ने हुन्छ ।
अस्पतालमा हाल २० विशेषज्ञ चिकित्सकसहितको टोलीले बिरामीलाई उपचार सेवा प्रदान गर्दै आएको छ । एक सय श्ययाको स्वीकृति पाएकामा अस्पतालले हाल ५७ श्ययामार्फत सेवा दिइरहेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology