एजेन्सी । बंगलादेशमा शनिबारदेखि आइतबार बिहानसम्मको २४ घण्टामा तीन हजार १२२ जना नयाँ डेंगुका बिरामी फेला परेका छन् ।
यस वर्ष एकै दिनमा अस्पताल भर्ना भएका बिरामीको यो संख्या अहिलेसम्मको नै सबैभन्दा बढी भएको ढाका ट्रिब्युनले जनाएको छ ।
प्रतिवेदनअनुसार यो अवधिमा लामखुट्टेको टोकाइबाट सर्ने रोगका कारण थप १८ जनाको मृत्यु भएको छ । स्वास्थ्य सेवा महानिर्देशनालयका अनुसार यो वर्ष डेंगुका कारण मृत्यु हुनेको संख्या ८२२ पुगेको छ ।
ढाका ट्रिब्युनका अनुसार ढाकाका अस्पतालमा ८४९ जना र राजधानी बाहिरका अस्पतालमा डेंगुका बाँकी बिरामी भर्ना भएका छन् ।
ढाकामा चार हजार ६६ सहित १० हजार ४३७ डेंगुका बिरामी हाल देशभरका अस्पतालमा उपचाररत छन् । यस वर्ष अहिलेसम्म एक लाख ६७ हजार ६८४ जनामा डेंगु को संक्रमण देखिएको छ भने निको हुनेको संख्या एक लाख ५६ हजार ४२५ पुगेको छ ।
यद्यपि, यो महिना मृत्यु हुनेको संख्या २२९ पुगिसकेको छ र भेक्टरजनित रोग अनियन्त्रित रूपमा फैलिरहेको छ। बङ्गलादेशमा सन् २०२२ मा डेंगुका कारण २८१ जनाको मृत्यु भएको थियो ।
सन् २०१९ मा १७९ जनाको मृत्यु भएको र यो बर्ष डेंगुका कारण मृत्यु हुनेको संख्या झण्डै १०० संख्याले बढी भएको हो । सन् २०२२ मा बङ्गलादेशमा ६२ हजार ४२३ जनामा डेंगुको संक्रमण देखिएको थियो भने ६१ हजार ९७१ जना निको भएका थिए ।
यसैबीच युनिसेफले बंगलादेशलाई डेंगुको प्रकोप नियन्त्रणका लागि २२ लाख ५० हजार अमेरिकी डलर बराबरको स्वास्थ्य सहायता प्रदान गर्ने जनाएको छ ।
संयुक्त राष्ट्रसङ्घीय निकायले छिट्टै स्वास्थ्य, पानी, सरसफाइ र स्वच्छताका क्षेत्रमा अन्य महत्वपूर्ण आपूर्ति र सेवाहरूका साथै तत्काल आवश्यक परीक्षण किटहरू र पेशेवरहरूको प्रशिक्षण प्रदान गर्नेछ ।
बंगलादेशको ६४ जिल्लामा अहिले डेंगुको प्रकोप फैलिसकेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology