सर्लाही । घरधनी वैदेशिक रोजगारीबाट फर्किएको थाहा पाएर लुटेराले गएराति चोरी गरेका छन् ।
सर्लाहीको लालबन्दी नगरपालिका–५, शान्तिटोलको एक घरमा बिहीबार राति लुटपाट भएको हो । घरबाट केही नगद र जीन्सी लुटपाट भएको प्रहरीको जनाएको छ । लुटेराको प्रतिकारको गर्दा घरधनी ४५ वर्षीय रामचन्द्र ठाकुरमाथि लुटेराले धारिलो हतियारले आक्रमण गरेका छन् । उनको टाउकोमा धारिलो हतियारको चोट छ । उनको लालबन्दीस्थित मोडेल अस्पतालमा उपचार भइरहेको छ । ठाकुर केही दिनअघि वैदेशिक रोजगारीबाट फर्किएका हुन ।
भर्खरै घरहरु बन्दै गरेको सुनसान ठाउँमा रहेको घरमा राति करिब २ बजे ५६ जनाको समूहमा लुटेराहरु आएको प्रारम्भीक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ । लुटेराले कम्पाउण्ड वाल नाघेर घरभित्र प्रवेश गरेको देखिएको छ ।
सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी दीपेन्द्र पन्जियारले लुटपाट भएको जानकारीमा आएलगत्तै लुटेराको खोजीमा प्रहरी परिचालन भइसकेको बताए । लालबन्दी इलाका प्रहरी, जिल्ला प्रहरीबाट अनुसन्धान टोली खटिएर लुटेराको खोजी तीव्र पारिएको छ । प्रहरीले घटनास्थलबाट एक थान नलकुटवा पेस्तोल बरामद गरेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology